भक्तपुर– नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन पनि लम्बिन गएको छ । महाधिवेशन समापन गर्ने कार्यतालिका हिजोकै लागि भएता पनि नयाँ नेतृत्व चयन गर्न बाँकी छ र आज फागुन २० गतेका लागि समय थप भएको हो । फागुन १६ गतेदेखि सुरू भएको महाधिवेशन यही फागनु १९ गतेसम्म चल्ने सो पार्टीले जनाएको थियो ।
पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईंले विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन एक दिन लम्बिएको र नयाँ नेतृत्व चयनको कार्य आज हुने बताउनु भयो । उहाँका अनुसार आजको बन्द सत्रमा हिजो पेस भएका प्रतिवेदनमाथि सातवटा समूह बनाएर छलफल, पार्टीको विधान संशोधनबारे बहस, महाधिवेशनको घोषणापत्र तयारी छ । उहाँले भन्नुभयो, ‘महाधिवेशन आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै आज सम्पन्न गर्ने भनिए पनि एक दिन लम्बिएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीतिलगायत विषयमा छलफल गर्दा समय अपुग हुँदा एक दिन लम्बिन गएको हो ।’
अध्यक्ष नारायणमान विजुक्छेँ रोहितको नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको जानकारी दिँदै उनले पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको बताए । पार्टीको सातौं महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ ।
यसअघिको सातौं महाधविशेनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । जसमा २३ केन्द्रीय र दुई जना वैकल्पिक केन्द्रीय सदस्य रहेका थिए ।
कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौँको कोटेश्वर, ताथलीलगायत ठाउँमा बाजागाजा, झाँकी, विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै सल्लाघारीमा पुगेर उद्घाटनसत्रमा परिणत भएको थियो । उद्घाटनसत्रमा अन्य वामपन्थी दलहरू सत्ताले भ्रष्टीकरण भइसकेको र कम्युनिस्टका नाममा कलंकित भएकाले महाधिवेशनमा अतिथिको रूपमा नबोलाइएको प्रेम सुवालले स्पष्ट्याउनु भयो ।
उक्त महाधिवेशनमा ५० जिल्लाका करिब चार सय प्रतिनिधिले भाग लिएको गोसाईंको भनाइ छ ।
यस वर्ष महाधिवेशनले बिजुक्छेँलाई नै अर्को कार्यकालका लागि चुन्ने हो वा नयाँ नेतृत्व आउने हो भन्ने चासो छ ।
प्रकाशित मिति २०८१ फाल्गुन २०, मंगलवार १३:०२ गते