आँबुखैरेनी(तनहुँ)– यहाँ स्थित ऐना पहराको उद्यानबाट सात महिनामा ३० लाख आम्दानी गर्न सफल भएको छ । आँबुखैरेनी गाउँपालिका– ४ स्थित ऐनापहराले साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा त्यतिका रकम आम्दानी गर्न सफल भएको फागुन १८ गते सार्वजनिक भएको हो ।
प्रकृतिको उपयोग गर्न सक्यो भने त्यसले अथाह आम्दानी दिन सक्छ भन्ने दरिलो उदाहरण बन्न थालेको ऐना पहरा । आँबुखैरेनी गाउँपालिका– ४ स्थित ऐनापहरामा पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले दुई करोड लगानी गरिसकेको जनाएको छ । यसबाट पहाडी जिल्लाको बनोट नेपालीका लागि बरदान हुने पुष्टि गर्दछ ।
यहाँ निर्माण गरिएका आकर्षक मूर्ति र आकृतिले पर्यटकहरूको ध्यान आकर्षित गर्ने गरेको छ । पृथ्वी राजमार्गको छेउमै रहेको यस पहरामा रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई आकर्षित गरिएको छ । झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ । त्यसैगरी, झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकर्षक आकृति निर्माण गरिएको छ ।
यहाँ दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक पर्यटक आउने गरेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार महिनामा तीन लाखदेखि चार लाखसम्म आम्दानी हुने गरेको छ । उहाँले भन्नुभयो, ‘बिदाका दिनमा र शैक्षिक भ्रमणमा आउने विद्यार्थीको चाप बढी हुने गरेको छ ।’
वर्षायाममा त्यहाँ रहेको झरना हेर्न तथा हिउँदे याममा कलात्मक मूर्ति र आकृति हेर्न पर्यटकहरूको ओइरो लाग्ने गरेको छ । सो स्थानमा फोहर व्यवस्थापनसहित चार जना कर्मचारीलाई गाउँपालिकाले खटाएको छ ।
सो उद्यान प्रवेशका लागि स्थानीयलाई ५०, विद्यार्थीलाई ३० र अन्य पालिका तथा बाह्य पर्यटकका लागि १०० प्रवेश शुल्क निर्धारण गरिएको छ ।
प्रकाशित मिति २०८१ फाल्गुन २१, बुधबार ०५:३० गते