काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि फागुन २७ गते मनोनयन दर्ता गर्ने तालिका सार्वजनिक भएको छ ।
यसअघि त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम फागुन १९ गते साँझसम्म दर्ता गराएका थिए । सो प्रयोजनका लागि आज फागुन २१ गते मतदाता सूचि प्रकाशन गर्ने तयारी छ ।
स्ववियु चुनावको लागि क्याम्पसहरूमा उत्सवमय बन्दै गएको छ । विगतभन्दा धेरै क्याम्पसमा यसपटक निर्वाचन हुने तयारी छ त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताउनु भयो । उहाँका अनुसार विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठनको नाम निर्वाचनका लागि दर्ता गराइसकेका छन् । केही ठाउँमा छिटपुट घटनाबाहेक शान्तिपूर्णरुपमा संघ÷संगठन दर्ता भएको त्रिभुवन विश्वविद्यालय प्रशासनले जनाएको छ ।
उहाँले भन्नुभयो, ‘आज फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने र फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।’
मतदानको समय चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको उहाँको भनाइ छ । उहाँले थप भन्नुभयो, ‘स्ववियु निर्वाचनमा यो पटक फर्जी विद्यार्थीलाई भोट हाल्न दिंदैनौं, सुरक्षाको लागि सेल गठन भइसक्यो ।’
स्ववियु निर्वाचनलाई निष्पक्ष भयरहित र शान्तिपूर्ण बनाउन त्रिविले गरिरहेको तयारीबारे स्वतन्त्र विद्यार्थी युनियन परिचालन अनुगमन केन्द्रीय समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्ग केसीले बताउनु भयो । उहाँका अनुसार शिक्षामन्त्री बिरामी हुनु भएको हुँदा सिधैं गृहमन्त्रीसँग गएर सुरक्षाबारे छलफल ग¥यौं । गृहमन्त्रीले सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । सोही अनुसार नेपाल प्रहरीसँग छलफल ग¥यौं । आईजीपीले पनि निर्वाचनका लागि एआईजीको नेतृत्वमा सेल गठन गर्ने जानकारी दिनु भएको छ । उहाँले भन्नुभयो, ‘देशभरको ७७ जिल्लामै सेलमार्फत सुरक्षाको समन्वय हुनेछ । गृह मन्त्रालयबाट ७७ वटै जिल्लाका प्रमुखलाई पनि निर्देशन जारी भइसकेको छ ।’
देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचनमा हुने कार्य तालिका छ । निर्वाचनमा २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ ।
फर्जी मतदान रोक्ने तयारी :
चुनावको समयमा फर्जी विद्यार्थी भर्ना हुने विगतको अनुभवबाट पाठ सिक्दै यो वर्ष त्यस्तो प्रवृत्तीलाई निरुत्साहित गरिने भएको त्रिविले जनाएको छ । त्यसका लागि गत माघ ११ गते बाट भर्ना रोकिएको छ । पहिले जस्तो यसपटक चुनावको समयमा भर्ना गरेर मतदानमा सहभागी हुन पाउँदैनन् । यो पूर्णरुपमा बन्द हुन्छ । विद्यार्थी संगठनले पनि यसपटक सहयोग गर्नुभएको छ ।
यसपटक मुख्य भनेको अनाधिकृत भर्ना रोकेका छौं प्राडा खड्ग केसीले भन्नुभयो । उहाँका अनुसार एकेडेमिक क्यालेन्डर बनाएका छौं । डीन र क्याम्पस प्रमुखहरू धेरै नयाँ हुनुहुन्छ । उहाँहरूका लागि योग्यता र क्षमता देखाउने अवसर पनि यसपटक देखिएको छ । विद्यार्थीमा राजनीतिक संस्कारमा विकास भएको छ । चुनाव लोकतान्त्रिक प्रक्रिया हो । मित्रवत र स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ भन्ने संस्कार विद्यार्थीमा देखिन्छ ।
चुनावको पर्यवेक्षण गर्ने तयारी :
यस पटक स्वतन्त्र चुनाव हुन मद्दत मिल्ने हुँदा पर्यवेक्षणको प्रवन्ध गरिएको छ । त्यसका लागि नेपाल पत्रकार महासंघ, राष्ट्रिय मानव अधिकार आयोग र बार एशोसिएसनलाई चुनावको पर्यवेक्षण गर्न भनेका छौं ।
स्थगित भएको ठाउँमा नियममै १५ दिनभित्र निर्वाचन गर्ने भनेको छ । चुनावको मिति सकिएको १५ दिनपछि भने मतदान नहुने निमयमै उल्लेख छ प्राडा खड्ग केसीले जानकारी दिनुभयो । उहाँका अनुसार उमेर हदका कारण वास्तविक विद्यार्थीे यसपटक चुनिने छन् ।
मतगणनालाई व्यववस्थित र पारदर्शी बनाउने तयारी रहेको समेत केसीले जनाकारी दिनु भएको छ । उहाँका अनुसार स्ववियु निर्वाचन उत्सवमय बन्छ भन्नेमा विश्वास छ । उहाँले भन्नुभयो, ‘विद्यार्थी आन्दोलन र त्यागको कारण स्ववियु पाएको हो । यसलाई विद्यार्थीको हक हितको पक्षमा बहस गर्ने निर्वाचित संस्था हो । दुई वर्षपछि फेरि यो उत्सवमा छौं । यसलाई मित्रवत र निष्पक्ष बनाउन विद्यार्थी संगठन, उम्मेदवार, विद्यार्थी, अभिभावक, प्राध्यापक सबैको भूमिका महत्त्वपूर्ण हुन्छ । यसमा साथ सहयोग पाउने अपेक्षा गर्दछौं उहाँले भन्नुभयो ।
प्रकाशित मिति २०८१ फाल्गुन २१, बुधबार ०६:०८ गते