महोत्तरी– नेपाली नागरिक सरह भएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी खोलेर चुनाव लड्न चुनौती दिनु भएको छ । कुर्सीमा बस्दैमा राजा नभइने भन्दै उहाँले एक कार्यक्रममा ०८४ मा चुनाव लड्न आउनुस् भन्ने कटाक्ष गर्दै फागुन २२ गते चुनौती दिनु भएको हो । कर्णाली प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रतर्फ संकेत गर्दै लोकप्रिय छु भन्ने लागे ०८४ को निर्वाचन पर्खन आग्रह गर्नु भएको हो ।
आज यहाँ आयोजित कार्यक्रममा देशका जुनसुकै स्थानबाट चुनाव लड्न सुझाव दिदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘ … हुँदा हुँदा हिजो कि अस्तिका दिन उहिले नेपाली जनताले फालेको राजतन्त्रलाई फेरि कताबाट कहाँबाट उधिनेर ल्याएर खोइ कहाँ कुर्सीमा राख्छन् अरे ! मान्छे कुुर्सीमा बस्दा राजा हुने भए त तपाईंहरू कुर्सीमा बस्नुभएको छ, राजा हुनु भो ? (अर्कोतिर फर्केर) यता पनि कुर्सीमा बस्नुभएको छ राजा हुनुभो ? कुर्सीमा बस्दैमा वा राख्दैमा राजा भइँदैन ।’
पूर्वराजालाई प्रधानमन्त्री ओलीले छायाँलाई अगाडि सार्नुभन्दा आफैं अगाडि सर्न आग्रह गर्नु भयो । संविधानको बाटो समाएर आएमा आफूहरूलाई आपत्ति नहुने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले नेपाली जनताले अब राजतन्त्र स्वीकार नगर्ने र संविधानले पनि नचिन्ने उल्लेख गर्नुभयो । चु्नौतीपूर्ण शैलीमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाली जनताले अब राजतन्त्र स्वीकार नगर्ने र संविधानले पनि चिन्दैन । नेपाली जनताले राजतन्त्र फालिसकेका छन् । म स्पष्ट भन्न चाहन्छु, बेकारको तनाव बढाउने काम कसैले पनि गर्न नखोज्नुस् ।’
अराजकता मच्चाएको भरमा सत्ता कब्जा गर्ने भन्दै कुन प्रणाली ल्याउन खोजेको भनि प्रश्न गर्दै भन्नुभयो, ‘बहुमत मान्दिनँ, जनताले छानेका प्रतिनिधि मान्दिनँ, जनताले छानेको प्रतिनिधिको शासन मान्दिनँ कानुनले, संविधानले भनेको मान्दिनँ, यो कस्तो शासन ल्याउन खोज्या ?’
कुर्सीमा बस्दा राजा हुने दिन गएको जिकिर गर्दै जन्मिँदै राजा हुने प्रणाली स्वीकार्य नहुने बताउँदै संविधान र लोकतन्त्रको बाटो समातेर अघि बढ्न भने सबैलाई खुला रहेको ओलीले जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस् । आउनुस् पार्टी खोल्नुस् । एउटा घोस्ट भन्छ नि ! छायाँ अघि सारेर होइन, आफू अघि सर्नुस् न । लोकप्रिय हुनुहुन्छ भने ठीक छ, चुनाव लड्न आउनुस् न ।’ तपाईंलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ, आउनुस् चुनाव लड्नुसु, पार्टी खोलनुस्, चुनाव लड्न खुला छँदैछ नि ! पार्टी खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस् । मेरो पार्टी भन्नुस् न ।’ अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो पनि गर्ने, अलि अप्ठ्यारो प¥यो भने लुसुक्क पछाडि तानेर कछुवा तालले टाउको लुकाउने ? भन्दै प्रश्न गमेत गर्नु भयो ।
बिना कसुर मान्छे मार्न पाउने, विना कसुर मान्छेलाई कुटन पाउने, मानव अधिकारको ‘म’ नजान्ने, त्यही राणाशासन फर्काउँछु ठान्नुहुन्छ ? अब नेपाली जनताको वौद्धिकता धेरै माथि उठिसकेको छ ।’
राजसंस्थाको जन्म नै षड्यन्त्रबाट भएको स्मरण गर्दै बलमिच्याइँ र अराजकता नेपाली जनतालाई स्वीकार्य नहुने प्रधानमन्त्री ओलीले बताउनु भयो । उहाँले भन्नुभयो– ‘संवैधानिक लोकतान्त्रिक बाटोबाट अघि बढ्नुस् । विधिको बाटोबाट अघि बढ्नुस् । बलमिच्याइँ, अराजकता र झाडीको बाटोबाट कोही सिंहासनमा बस्छु भन्ने ठानेको छ भने नेपाली जनतालाई त्यो स्वीकार्य छैन ।’ मानिसहरू कुर्सीमा बस्दा राजा हुने दिन गए उहाँले उल्लेख गर्दै अब नेपालमा जन्मिँदै राजा हुने प्रणाली स्वीकार्य हुँदैन भन्नुभयो ।
प्रधानमन्त्रीले थप भन्नुभयो, ‘बलमिच्याइँ र अराजकताको बाटोबाट सिंहासनमा बस्छु भनेर नठान्न पूर्वराजालाई चेतावनी दिनु भएको छ ।’
सो अवसरमा प्रधानमन्त्री ओलीले देश विकास निर्माणका कामबाट अघि बढिरहेको भन्दै आफू मधेशविरोधी नभएकोसमेत दावी गर्नुभयो ।
०८४ को निर्वाचनसम्म कांग्रेस र एमालेको सहमति नटुट्ने दाबी समेत गर्दै उहाँले देशको प्रणाली, देशै बचाउनका लागि कांग्रेस– एमाले मिलेर सरकार बनाएको सुनाए । उनले समाज अराजकतातिर गएको उल्लेख गर्दै भन्नुभयो, ‘हरेक मान्छे राजा हुँ कि जस्तो गर्छ । संविधान मान्न नपर्ने कुरा गर्छ ।’
प्रकाशित मिति २०८१ फाल्गुन २३, शुक्रबार १९:१७ गते