आज राजावादीहरूको शक्तिप्रदर्शन गर्दै : ठूला तीन दल एक ठाउँमा

आज राजावादीहरूको शक्तिप्रदर्शन गर्दै : ठूला तीन दल एक ठाउँमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण २५ गते आईतबार ०९:४९

राप्रपाका अतिरिक्त राप्रपा नेपालले पनि आफ्ना कार्यकर्तालाई पूर्वराजाको स्वागतका लागि उतार्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले बताउनु भयो । दुर्गा प्रसाई नेतृत्वको राजवादी समूह, संस्कृतिविद् डा. जगमान गुरुङ्ले नेतृत्व गरेको समूह, पूर्वमन्त्री डा. केशरबहादुर बिष्ट नेतृत्वको समूह, अनिल बस्नेतले नेतृत्व गरेको शिव सेना नेपालसमूहलगायतले पनि अलगअलग प्रदर्शन गर्ने निर्णय गरेका छन् ।

राप्रपा संस्थापन पक्षका एक नेताले पार्टीमा नवराजावादीहरू आवश्यकताभन्दा बढी हौसिएको टिप्पणी गरेका छन् ।

काठमाडौं– आज पोखरा एक महिना लामो बसाई गरेर पूर्वराजा ज्ञानेन्द्र शाह फागुन २५ गते राजधानी फर्किने तयारी छ । पोखराबाट काठमाडौं आउने पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलबाट निर्मलनिवाससम्म नारा–जुलुससहित पु¥याउने तयारीमा राजावादीहरू लागि परेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउने छेको पारेर राजावादीहरूले शक्तिप्रदर्शनमा जुटेका हुन् । राजतन्त्रको वकालत गर्दै आएका दलहरू राप्रपा र राप्रपा नेपाल तथा राजावादी समूहहरूले शाहलाई त्रिभुवन विमानस्थलदेखि नारा–जुलुस गर्दै निर्मलनिवास पु¥याउने तयारी छ । अपराह्न विमानस्थलमा ओर्लिएपछि गौशाला, चाबहिल, महाराजगन्ज चोक हुँदै निर्मलनिवास पु¥याउने कार्यक्रम छ ।
पूर्वराजा शाहबाट प्रजातन्त्र दिवसका अवसरमा ७ फागुनमा एक भिडियो सन्देश जारी गरी दलहरू असफल भएको दावी गर्दै एकता र समृद्धिका लागि आफूलाई साथ दिन आह्वान भएको थियो । त्यसपछि राप्रपाले समर्थनमा विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएको छ ।
पूर्वराजा आफैँले सबैलाई आह्वान गरेको अवस्थामा उहाँकै वरिपरि सबै गोलबद्ध हुनुपर्ने भन्ने सन्देश दिन प्रदर्शन गर्न लागिएको राप्रपाका एक पदाधिकारीले बताउछन् ।
राप्रपा पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीहरू) बैठकले पूर्वराजाको स्वागतमा त्रिभुवन विमानस्थलमा सहभागी हुन सबैलाई आह्वान गर्ने निर्णय फागुन २२ गते गरेको थियो ।
राप्रपाले राजा र हिन्दुराष्ट्र पुनस्र्थापनाको मुद्दामा सक्रिय दल र समूहसँग वार्ता र समन्वयका लागि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नेतृत्वमा महामन्त्री डा. धवलशमशेर राणासमेत रहेको कार्यदल पनि गठन गरेको छ ।
उता, राप्रपाका अतिरिक्त राप्रपा नेपालले पनि आफ्ना कार्यकर्तालाई पूर्वराजाको स्वागतका लागि उतार्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले बताउनु भयो । दुर्गा प्रसाई नेतृत्वको राजवादी समूह, संस्कृतिविद् डा. जगमान गुरुङ्ले नेतृत्व गरेको समूह, पूर्वमन्त्री डा. केशरबहादुर बिष्ट नेतृत्वको समूह, अनिल बस्नेतले नेतृत्व गरेको शिव सेना नेपालसमूहलगायतले पनि अलगअलग प्रदर्शन गर्ने निर्णय गरेका छन् ।
राजावादी नै अन्योलमा :
पूर्वराजा शाहबाट प्रजातन्त्र दिवसका अवसरमा देशवासीका नाममा जारी गरेको सन्देशमा देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान भएको थियो । राष्ट्रिय समस्या समाधानका लागि विगतमा आफूले त्याग गरेको र अब पनि त्याग गर्न तयार रहेको भन्दै ‘राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम गर्न’ आफूलाई साथ दिन ज्ञानेन्द्रबाट गरिएको आह्वानको मस्कत के हो ? उहाँ गर्न खोजिएको के हो ? राजवादीहरू नै स्पष्ट नभएको बताइन्छ ।
पूर्वराजा ज्ञानेन्द्रको सन्देशमा ‘अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ । अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका लागि हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ ।’ भनिएको थियो ।
यसबारे राप्रपा, राप्रपा नेपालसहित राजावादी दलका नेताहरूको बुझाइ तथा अलग–अलग धारणा सार्वजनिक भएका छन् ।
पूर्वराजाबाट झण्डै १० मिनेट लाभो भिडियो सम्बोधन गर्नुपूर्व कसैसँग छलफल गरेको वा आफ्नो भावी मार्गचित्रबारेमा जानकारी नदिएको राजावादी नेताहरू बताउँछन् ।
राप्रपा संस्थापन पक्षका एक नेताले पार्टीमा नवराजावादीहरू आवश्यकताभन्दा बढी हौसिएको टिप्पणी गरेका छन् । उनले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशमशेर राणा, सांसद ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै राजाको जयजयकार गर्ने पार्टी निर्णय नभएको समेत बताउँछन् । उनले भने, ‘राप्रपा सक्रिय राजसंस्थाको पक्षमा छैन, संवैधानिक राजसंस्थाका पक्षमा छ, यसमा संस्थापन अडिग छ ।’
राजसंस्थावादी धारले हाल विभिन्न रणनीतिहरू प्रयोग गरेर पुनः स्थापित हुन खोजिरहेको छ । सडक आन्दोलनको समेत धम्की दिइदैछ । सामाजिक सञ्जाल र प्रत्यक्ष प्रदर्शनमार्फत राजसंस्था पुनःस्थापनाको माग उठाउँदैछ । धार्मिक भावनाको उपयोग गर्न हिन्दू राष्ट्र पुनःस्थापनाका लागि प्रचार गर्दैछ ।
यसैगरी, असन्तुष्ट मतदातालाई आकषिर्त गर्ने प्रयासमा छन् । सरकारप्रति असन्तुष्ट नागरिकलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेको छ ।
प्रधानमन्त्री– पूर्वप्रधानमन्त्रीको एउटै स्वर, माओवादी अभियान स्थगित :
यसैबीच, पूर्वराजा शाह फर्किने चर्चाका बीचमा नेताहरूले पूर्वराजालाई ‘चुनाव जितेर प्रधानमन्त्री’ बन्न सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, डा. बाबुराम भट्टराईसहितले पूर्वराजालाई चुनाव जितेर प्रधानमन्त्री भई जनताको सेवा गर्न सुझाव दिएका छन् । गणतन्त्रका लागि जेलजीवन बिताएका र आन्दोलनमा सहभागी भएका यी नेताहरूले कुनै पनि हालतमा राजतन्त्र फर्किने सम्भावना नभएको दाबीलाई दोहोर्याएका छन् ।
ठूला तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) फेरि एक ठाउँ हुने संकेत देखिएको छ ।
यो मामलामा नेपाली कांग्रेस संवैधानिक राजतन्त्रको विरोध गर्दै लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउनुपर्ने पक्षमा देखिन्छ । नेकपा (एमाले) राजसंस्था फाल्ने मूल शक्ति भएकाले राजसंस्थावादी पुनरुत्थानको विरोधमा छ भने नेकपा (माओवादी केन्द्र) राजतन्त्र विरुद्धको जनयुद्ध लडेकाले अझै पनि राजसंस्थालाई प्रतिगमनको रुपमा लिने गरेको छ । माओवादी केन्द्र थालनी गरेको पूर्वपश्चिम हुलाकी राजमार्गकेन्द्रित जनतासँग माओवादी अभियानमा रहनु भएका प्रचण्ड अभियान स्थगित गर्दै काठमाडौं फर्किनु भएको छ ।
उता, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता भएको छ । पौडेल र ओलीबिच शीतलनिवासमा हिजो साँझ भेट भएको हो । उहाँहरूबिच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले उल्लेख गरेको छ ।
मुडभेडको आशंका :
राजालाई राजकाजमा फर्काउन राजावादी सक्रिय छन् । राजावादीहरू ‘राजा आऊ, देश बचाऊ’ र ‘नारायणहिटी खाली गर, हाम्रो राजा आउँदै छन्’ जस्ता नारा लगाई रहेका बेलामा गणतन्त्रवादी र राजावादीका बीचमा मुडभेडको आशंका समेत बढेको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पुनः फर्किने चर्चा र हल्लाले राजनीति तरङ्गीत छ । त्यसले मुडभेड निम्त्याउने त हैन भन्ने आशंका उब्जाइदिएको छ ।
वरिष्ठ पत्रकार चन्द्रकिशोरले पनि सबै असन्तुष्टि भए पनि नेपालमा राजतन्त्र कहिल्यै नआउने बताउनु भएको छ । ज्ञानेन्द्र राजा हुँदा जनताबाट टाढा रहेको र सर्वसाधारणले उनलाई कहिल्यै नदेखेकाले राजा कहीँकतै जाँदा हेर्नलाई भीड लाग्ने गरेको बताउँदै उहाँले सोही भीडलाई लिएर राजा फर्किन्छ भन्नु गलत हुने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति २०८१ फाल्गुन २५, आईतवार ०९:४९ गते
हजुरको प्रतिक्रिया