
काठमाडौं– पोखराको एक महिना लामो बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह अहिले ३ बजे राजधानी फर्कने कार्यतालिका छ । राजावादीहरूले उहाँलाई त्रिभुवन विमानस्थलमा ‘भव्य स्वागत’ गर्ने तयारी गरेपछि सुरक्षा निकायले उच्च सतर्कता अपनाएका छन् ।
आ–आफ्नो गुणमा विभक्ता पूर्वराजाका समर्थकको प्रदर्शनलाई संयमित र मर्यादित बनाउन चारवटै सुरक्षा निकायले उच्च सतर्कता अपनाएका हुन् । बिहानैदेखि यहाँको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, निर्मल निवाससहितका क्षेत्रमा ठूलो संख्यामा सुरक्षकर्मी परिचालन गरिएको छ ।
प्रदर्शनलाई अनियन्त्रित हुन नदिन रणनीति बनाएर नै प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश आचार्यले बताउनु भयो ।
पूर्वराजाको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले विमानस्थलको गेटअगाडि भेला हुन आफ्ना कार्यकर्तालाई आह्वान गरेका छन् ।
सुरक्षा निकायले पूर्वराजाको ¥यालीमा संगठित राप्रपाभन्दा पनि शिव सेना नेपाल, शाही युवा शक्ति नेपाल र सन्तोष राजावादी समूहको प्रदर्शन भडकिलो हुन सक्ने पूर्वानुमान छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी शेखर खनालले नियमिति ड्युटीभन्दा एक हजारभन्दा बढी प्रहरी थप गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पूर्वराजा ज्ञानेन्द्र शाहको सवारीलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकजाँचका साथ विमानस्थलमा हुने भिड नियन्त्रण र आवातजावतमा कडाइ गरिएको छ ।’
पूर्वराजाको स्वागतमा राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईको टोली, शिव सेना नेपालसहित विभिन्न संघसंस्थाहरूले काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनको तयारी गरेका छन् । राजावादीहरू राष्ट्रिय झण्डा र पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो अंकित ब्यानरसहित भेला भएका छन् । उनीहरूलाई चक्रपथ सडकबाट विमानस्थलको मुख्य गेटभित्र प्रवेश गर्न भने प्रहरीले रोकेको छ ।
सिनामंगल, गौशाला, कोटेश्वर, तीनकुनेलगायत सडकबाट राजावादीहरूको चलहपहल सुरु भएकाले सडक व्यस्त देखिन थालेको छ । ट्राफिक प्रहरीले आवश्यकता अनुसार सवारी डाइभर्सन गर्ने भएकाले वैकल्पिक मार्गको प्रयोग गरे छिटो गन्तव्यमा पुग्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।
भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरूलाई ‘हाई अलर्ट’मा राखिएको छ ।
पूर्वराजा शाह अहिले दिउँसो ३ बजे हवाईमार्ग हुँदै काठमाडौं आउने कार्यतालिका छ ।
प्रकाशित मिति २०८१ फाल्गुन २५, आईतवार १४:४६ गते