प्र.ना.म. ई. फणिन्द्र बरालद्वारा पाउँदीमा प्रहरी चौकीको नयाँ भवन उदघाटन

प्र.ना.म. ई. फणिन्द्र बरालद्वारा पाउँदीमा प्रहरी चौकीको नयाँ भवन उदघाटन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण २६ गते सोमबार ०५:५७

उक्त कार्यक्रममा प्रमुख अतिथि प्र.ना.म. ई. बरालले भवन निर्माणमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रशंसा पत्रद्वारा सम्मान गर्नु भएको थियो ।

तीन रोपनी एक आना तीन दाम क्षेत्रफल हातामा फैलिएको चौकी भवन दुई करोड २८ लाख ४३ हजार ४७६ रुपैयाँ लागतमा निर्माण भएको हो ।

पाउँदी(लमजुङ)ं– लमजुङको दक्षिणतर्फको मुख्य प्रवेश नाका सुन्दरबजार नगरपालिका– ७, यहाँ नवनिर्मित प्रहरी चौकी भवनको एक कार्यक्रमका बीच उदघाटन गरिएको छ । प्रमुख अतिथि प्रहरी प्रधान कार्यालय, भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (प्र.ना.म.) ई. फणिन्द्र बरालले भवन उदघाटन गर्दै शीलालेख अनावरण तथा भवनको अनुगमन फागुन २६ गते गर्नु भएको हो ।
उदघाटन समारोहमा प्रमुख अतिथि बरालले प्रहरी चौकीको भवनस्तरीय र आधुनिक हुनु आवश्यक रहेको बताउँदै प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन पूर्वाधार बलियो हुनुपर्ने बताउनु भयो । उहाँले नयाँ भवनबाट प्रहरी सेवामा सहजता आउने छ भन्ने विश्वास व्यक्त गर्नुभयो । नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ मजबुत बनाउन यसले महत्त्वपूर्ण योगदान गने उल्लेख गर्दै उहाँले नेपाल प्रहरी सेवा प्रवाह सुधारका लागि पूर्वाधार विकासमा विशेष ध्यान दिइरहेको जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्र.ना.म. ई. बरालले भवन निर्माणमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रशंसा पत्रद्वारा सम्मान गर्नु भएको थियो ।
प्रहरी चौकी भवन निर्माणका सम्बन्धमा प्रदेश प्रहरी कार्यालयका प्र.ना.उ. ई. ध्रुब अधिकारीले प्रतिवेदन प्रस्तुत गर्दै भवन निर्माणका मुख्य पक्षहरूबारेमा जानकारी दिनु भएको थियो । उहाँले प्रहरी चौकी भवन कुल दुई करोड २८ लाख ४३ हजार ४७६ रुपैयाँ लागतमा निर्माण भएको तथा भवन हाता तीन रोपनी एक आना तीन दाम क्षेत्रफलमा फैलिएको जानकारी दिनुभयो ।
सो अवसरमा सुन्दरबजार नगरपालिकाका निवर्तमान मेयर जनकराज मिश्रले प्रहरी संरचनाको विकासलाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने बताउनु भयो । लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले प्रहरी सेवाको प्रभावकारिता बढाउन यस्ता पूर्वाधार आवश्यक रहेको बताउँदै सुरक्षाका विषयमा कुनै सम्झौता गर्न नसकिने उल्लेख गरे । सुन्दरबजार नगरपालिका वडा नं. ७ का अध्यक्ष जयराम रेग्मीले भवन निर्माणले नगरको सुरक्षालाई अझ प्रभावकारी बनाउने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक चोनु गुरुङले अध्यक्षताको मन्तव्य सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो । त्यस्तै, कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक अभिषेक पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्थानीय समते रहनु भएका पूर्व सैनिक तथा कवि लक्ष्मीप्रसाद मिश्रले स्वागत कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय पूर्व प्रहरी, पत्रकार, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता थियो ।
नवनिर्मित प्रहरी भवनले पाउँदी प्रहरी चौकीलाई थप व्यवस्थित बनाउने तथा स्थानीय नागरिकलाई छरितो सेवा प्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति २०८१ फाल्गुन २६, सोमबार १७:५७ गते
हजुरको प्रतिक्रिया