काठमाडौं– खाइपाई रहेको सुविधायुक्त डाक्टरको जागिरलाई तिजाञ्जली दिएर जनताको सेवाका लागि समर्पित हुन तम्सदै अग्रसर हुनु भएकी सांसद डा. तोसिमा कार्कीको सो पद जोगिएको छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)कोतर्फबाट घण्टी चुनाव चिन्ह् लिएर ललितपुर– क्षेत्रनं– ३ बाट सांसदमा निर्वाचन जित्नु भएको हो ।
निर्वाचनको बेलामा उहाँको उम्मेदवारी निर्वाचन आयोगले खारेज गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगले डा. कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य रहँदा २०७९ वैशाख ९ देखि मिति २०७९ भदौ २ गतेसम्म भ्रमण भत्तास्वरूप एकलाख ३६ हजार ५०० रुपैयाँ आर्थिक लाभ लिएको पाइएको कारण देखाएर ०७९ कार्तिक १२ गते उहाँको उमेदवारी खारेज गर्ने निर्णय गरेको थियो । डा. कार्कीलाई सार्वजनिक पद धारण गरेको व्यक्ति ठहराउँदै आयोगले प्रतिनिधिसभा सदस्यको उमेदवार अयोग्य रहेको निष्कर्ष निकालेको थियो ।
आयोगको सो निर्णयका विरुद्ध डा. कार्की दुईदिन पछि अर्थात कार्तिक १४ गते सर्वोच्च अदालतमा रिट दायर गर्न पुग्नु भएको थियो । उहाँको रिटमा न्यायाधीश कुमार चुडालको एकल इजलासबाट आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको थियो । तर सो मुद्दाको अन्तिम टुंगो लाग्न बाँकी थियो ।
सर्वोच्च अदालतले निर्वाचन आयोगले उहाँको उम्मेदवारी खारेज गर्ने निर्णयलाई आज फागुन २७ गते बदर गरेसँगै डा. कार्कीको सांसद पद जोगिएको छ ।
सर्वोच्चको अन्तरिम आदेशका कारण उम्मेदवारी यथावत भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी नेतृ डा. तोसिमा कार्कीले सबै पेसा त्यागेर देशमा केही गर्नका लागि आफू राजनीतिमा आएको उल्लेख गर्दै कार्कीले देशमा परिवर्तन ल्याउन युवाको आवश्यकता रहेको बताउनु भएको थियो ।
उम्मेदवारी कायम भएपछि आफू शिक्षा, स्वास्थ्य र रोजगारीको एजेण्डासहित चुनावी मैदानमा आएको बताउँदै उहाँले देशमा नेताहरू भएपनि इमानदारिता नभएको हुँदा नीतिहरूमा थिति बसाल्न र सुशासन तथा समृद्धिको आवश्यकता रहेको औंल्याउनु भएको थियो ।
ललितपुरको निर्वाचन क्षेत्रनं– ३ बाट रास्वपाको उम्मेदवार हुनु भएकी डा. तोसिमा कार्कीले नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई फराकिलो मत अन्तरले हराउँदै विजयी हुनु भएको हो । त्यो बेला उहाँ ३३ वर्षकी मात्र हुनुहुन्थ्यो । डा. तोसिमाले ३१ हजार १३६ मत पाई विजयी हुनु भएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाउनु भएको थियो । त्यस्तै, तत्कालीन सत्ता गठबन्धनका तर्फबाट ऊर्जामन्त्रीसमेत रहनु भएकी माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पानु भएको थियो । यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जित्नु भएको थियो ।
प्रकाशित मिति २०८१ फाल्गुन २७, मंगलवार १९:१९ गते