गौहाटी(भारत)– नेपाली साहित्यका सु्विख्यात साहित्यकार लीलबहादुर क्षेत्रीको हिजो निधन भएको खबर छ । फागुन २९ गते भारतीय समय अनुसार राती १० बजेर १० मिनट जाँदा उहाँको आफ्नै निवासमा निधन हुनु भएको उहाँको पारिवारिक स्रोतले उल्लेख गरेको छ । वरिष्ठ उपन्यासकार क्षेत्री ९२ वर्षको हुनुहुन्थ्यो ।
वि.सं १९८९÷११÷१८ गौहाटी, भारतमा जन्मनु भएका उहाँ गौहाटी विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक समेत हुनुहुन्थ्यो । नेपाली साहित्यका मुर्धन्य व्यक्तित्वका धनी, महारथी उहाँको देहान्तमा नेपाली साहित्यलाई अपूरणीय क्षति भएको छ । उहाँको निधनसँगै नेपाली साहित्याकाशको एक चम्किलो नक्षत्र निभेको छ । विसं २०१४ सालमा नेपाली साहित्यमा बसाइँ(उपन्यास) प्रकाशित गरेर विशेष चर्चाको शिखरमा पुग्नु भएका उहाँले त्यसपछि कहिल्यै पछि फर्केर हेर्नु परेन । उहाँले अन्य ब्रह्मपुत्रको छेउछाउ (उपन्यास), अतृप्त ( उपन्यास), असममा नेपाली भाषाको साह्रोगाह्रो, दोबाटो, तीन दशक बीस अभिव्यक्ति, लीलबहादुर क्षेत्रीका कथाहरू आदि कृतिहरूद्वारा नेपाली साहित्य भण्डारलाई पोटिलो बताउन योगदान गर्नु भएको थियो ।
पुख्र्यौली थलो नेपालको तेह्रथुम रहेका उहाँको कमल प्रकाशितका अतिरिक्त कथा, निबन्ध, नाटक आदि लेख्नमा समेत चल्ने गर्दथ्यो ।
भारतको गौहाटी असममा बसेर नेपाली भाषा र साहित्यको सेवामा उत्प्रेरक व्यक्तित्वका धनी क्षेत्री भारतको प्रतिष्ठित पद्मश्री, साहित्य अकादेमी पुरस्कारबाट पनि उहाँ सम्मानित हुनुका साथै नेपालको जगदम्बा श्रीबाट २०७२ सालमा सम्मानित हुनु भएको थियो । उहाँको प्रेरणादायी जीवनले नेपाली भाषा, साहित्य तथा संस्कार, संस्कृतिलाई माया गर्नेहरूलाई उत्प्रेरित गर्ने र उर्जा दिइरहनेछन् । उहाँलाई हाम्रो पनि भावपूर्ण श्रद्धाञ्जली !
प्रकाशित मिति २०८१ चैत्र १, शुक्रबार ०७:४५ गते