काठमाडौं– नेपाल आयल निगमले इन्धनको मूल्य घटाउने भएको छ । पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घट्ने भएको हो । घटेको मूल्य भोलि चैत ३ गतेदेखि लागू हुनेछ ।
इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट १५ मार्चमा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार निगमन सञ्चालक समितिको निर्णयअनुसार अब मध्यरातबाट लागू हुने गरी इन्धनको मूल्य समायोजन गरिएको निगमका प्रवक्ताले उल्लेख गरेका छन् ।
आज मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको नेपाल आयल निगमले जनाएको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्रीवितरण हुनेछ ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको नेपाल आयल निगमले जनाएको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यी क्षेत्रमा अब पेट्रोलको भाउ १६० रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४८ रूपैयाँ ५० पैसा पर्नेछ ।
यसैगरी, दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १६२ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १५० रूपैयाँ पर्नेछ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल लगायतका क्षेत्रमा अब पेट्रोलको भाउ १६३ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १५१ रूपैयाँ पर्नेछ ।
आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ । यसरी नेपालले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ । यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम कायम भएको हो ।
प्रकाशित मिति २०८१ चैत्र २, शनिबार २१:३१ गते