नयाँ प्रहरी प्रमुखको खोजी ! शक्ति केन्द्र धाउँदै तीन आकांक्षीहरू

नयाँ प्रहरी प्रमुखको खोजी ! शक्ति केन्द्र धाउँदै तीन आकांक्षीहरू

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत २ गते आईतबार ०६:२८

प्रहरीको नेतृत्व चयन नियमित प्रक्रिया मात्रै होइन, ८० हजार जनशक्तिको मनोवल, अहिलेको सुरक्षा चुनौति, अपराध नियन्त्रण र पीडितलाई न्यायको अनुभूति गराउन सक्नुपर्छ ।

नयाँ महानिरीक्षकका लागि तीन एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिष्पर्धामा हुनुहुन्छ ।

काठमाडौँ– सम्भवतः भोलि चैत ४ गते नेपाल प्रहरीका ३१ औँ महानिरीक्षक नियुक्त हुने सम्भावना छ । नेपाल प्रहरीका आगामी महानिरीक्षक बसन्तबहादुर कुँवर सेवाबाट निवृत हुने भएसँगै अब त्यो पदमा को ? भन्ने चर्चा मात्र चलेको छैन आकांक्षीहरू शक्ति केन्द्र धाउने क्रम तीब्र बनेको छ ।
नेपाल प्रहरीको नयाँ महानिरीक्षक को भन्ने हो भन्ने कौतुहल अहिले प्रहरीबीच मात्र होइन, अन्य सरोकारवालामाझ पनि देखिएको छ ।
झन्डै ८० हजार जनशक्ति रहेको आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीको ३१ औं प्रमुख चयनलाई राजनीतिक दाउपेचको विषय बनाइँदा ढिलाइ भएको हो । सरकारले महानिरीक्षक टुंगो लगाउन ढिलाइ गरेर गलत समूहलाई चलखेल गर्ने बाटो दिएको छ ।
नयाँ महानिरीक्षकका लागि तीन एआइजी प्रतिष्पर्धामा हुनुहुन्छ । केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) प्रमुख दीपक थापा, प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख सुदीप गिरी र उपत्यका प्रहरी कार्यालय प्रमुख टेकबहादुर तामाङ । उहाँहरूमध्ये एक जना प्रहरी प्रमुखको जिम्मेवारी पाउनु हुनेछ । थापा, गिरी र तामाङ २०५२ भदौ १९ गते एकैदिन सेवा प्रवेश गरेका अधिकारीहरू भएको हुँदा पनि कौतुहलता बढेको हो । नेपाल प्रहरीमा हालका तीनै जना प्रतिस्पर्धी एकै ब्याचमा भर्ना हुनु भएको हो तर एआइजी थापा एआइजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएको व्यक्तित्व हुनुहुन्छ । त्यसैले उहाँ वरियतामा थापा अघि भएको बताइन्छ ।
तर एआइजी थापा माओवादी निकट मानिन्छ । माओवादी हाल सत्तामा नभएका कारण उहाँको जिम्मेवारीमा कटौती हुन सक्छ । अर्का प्रत्यासी तामाङ एमालेका प्रिय रहेको बताइन्छन् । यसैगरी, दौडमा रहनु भएका गिरी पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीका छोरा हुनुहुन्छ भने उहाँ कांग्रेस निकट भएको आम बुझाइ छ । गृहमन्त्री समेत काँग्रेसका नेता भएको हुँदा उहाँको पनि पत्ता भारी नै देखिएको छ ।
एमालेका प्रिय तामा पनि अख्तियार प्रमुख प्रेम राईसँग राम्रो सम्बन्ध भएकाले उहाँको समेत सम्भावना देखिएको प्रहरीवृत्तभित्र परिचर्चा छ ।
अवकाशमा जाने एक महिना अघि नै विदामा बसेर नयाँ आउने नेतृत्वलाई संगठन बारे बुझ्न निमित्त दिने परम्परा नेपाली सेनामा छ । तर प्रहरीमा भने राजनीतिक दाउपेच र प्रतिस्पर्धीबीचको अस्वस्थ प्रतिस्पर्धा गराउने सरकारी नियतका कारण अझै भावी महानिरीक्षक को बन्ने भन्ने टुंगो लाग्न नसकेको हो ।
आइजीपी बढुवाको सम्पूर्ण अधिकार प्रहरी नियमावलीले नेपाल सरकारलाई दिएको छ । वरियताक्रम तथा कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमका आधारमा आइजीमा बढुवा हुने व्यवस्था छ । आइजी पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरूमध्येबाट र एआइजीहरू नभएको अवस्थामा प्रहरी नायव महानिरीक्षक (डीआइजी) हरूमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई बढुवा गर्नेछ भन्ने व्यवस्था छ ।
प्रहरीको नेतृत्व चयन नियमित प्रक्रिया मात्रै होइन, ८० हजार जनशक्तिको मनोवल, अहिलेको सुरक्षा चुनौति, अपराध नियन्त्रण र पीडितलाई न्यायको अनुभूति गराउन सक्नुपर्छ ।
नेपाल प्रहरी नियमावलीले गरेको व्यवस्थाअनुसार सेवा अवधिको ३० वर्षे समय पूरा गरी प्रहरी महानिरीक्षक कुँवरसँगै पाँच एआइजी र तीन डीआइजीले पनि चैत ४ गते मध्यरातबाट अवकाश पाउने हुनु भएको छ । उहाँहरूले २०५१ चैत ५ गते इन्स्पेक्टर पदबाट प्रहरीको जागिर सुरु गर्नु भएको हो ।
चैत ४ मा आइजी कुँवरसहित प्रधान कार्यालयमा कार्यरत एआइजीमध्ये अपराध अनुसन्धान विभागका प्रमुख कुवेर कडायत, कार्य विभाग (अपरेशन) प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह, प्रशासन विभाग प्रमुख टेकप्रसाद राई र प्रदेश समन्वय विभाग प्रमुख जनक भट्टराई पनि सँगै अवकाश हुनुहुनेछ । डीआईजीमध्ये गण्डकी प्रदेश प्रमुख भोलाबहादुर रावल र सुदूरपश्चिम प्रदेश प्रमुख गणेश चन्द पनि अवकाश लिने तयारीमा हुनुहुन्छ ।

प्रकाशित मिति २०८१ चैत्र ३, आईतवार ०६:२८ गते
हजुरको प्रतिक्रिया