
धुलाबारी(झापा)– यहाँका एक जना विद्यार्थीले विद्यालयको वार्षिकोत्सवमा दिएको मन्तव्यले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चर्चा बटुलेको छ । यहाँ स्थित होलिबेल स्कुलको २४औं वार्षिकोत्सवमा गत फागुन २८ गते कक्षा १० का १६ वर्षीय विद्यार्थी आविष्कार राउतले दिएको मन्तव्य भाइरल भएको चैत ३ गते खुलासा भएको हो ।
झापाका सञ्चारकर्मी विजय बरालले विद्यालयको वार्षिकोत्सवको पूरा भिडियो खिचेको बताउनु भयो । उहाँका अनुसार त्यो क्रममा राउतको मन्तव्यको भिडियो पनि पुरै रेकर्ड भएको थियो ।
पत्रकार बरालले भन्नुभयो, ‘कार्यक्रमको बीचमा विद्यार्थीहरूले अभिभावक र अन्य उपस्थितसामू विभिन्न विषयमा बोल्ने क्रम चल्यो, त्यही क्रममा कक्षा १० का आविष्कारले बोल्न हलको माहोल नै अर्कै भयो, त्यो भाषणले मलाई पनि छोएको थियो । त्यसैले अर्को दिन मैले त्यो क्लिपमात्र सुरुमा पेजमा अपलोड गरेको थिएँ, केही समयमै त्यो भाइरल हुन थाल्यो ।’
राउतले मन्तव्यलाई बरालले सुरुमा ‘विन्जु मिडिया कर्नर’ नामक आफ्नो पेजमा अपलोड गरेको बताउनुभयो । उक्त पेजमा राखिएको भिडियो यो समाचार तयार गर्दासम्म ८ लाख ४६ हजारभन्दा बढीले हेरिसकेका छन् ।
‘बिर्तामोड झापा’ नामक पेजमा ३१ लाखले यो भिडियो हेरेको पत्रकार बरालको भनाइ छ । बरालले भन्नुभयो, ‘यो पनि बिर्तामोडकै साथीहरूले चलाउनु भएको पेज भएकाले उहाँहरूले माग्नुभयो र मैले दिएको थिएँ, पछि अरु थुप्रैले डाउनलोड गरेर आफू अनुकूल अपलोड गर्नुभयो ।’
विद्यालयको अन्तिम वर्ष भएकाले उनलाई शिक्षकहरूले वार्षिकोत्सवमा केही प्रस्तुति दिन निर्देशन गरेको आविष्कार बताउँछन् । उनका अनुसार आफूले गरेको भाषणको भिडियो रेकर्डका साथ आफ्नो पेजमा विद्यालयको कार्यक्रमको पूरा भिडियो पनि राखेका छन् । त्यसक्रममा अन्य कक्षामा पनि पढ्नेले विद्यार्थीले पनि आ–आफ्नो विषयमा बोलेका थिए ।
आविष्कारको बोल्दा उनको प्रस्तुतिको शैलीका कारण हलमा उपस्थित धेरैले हुटिङ गरेको भिडियोमा देख्न, सुन्न सकिन्छ ।
हिटलरसँग तुलना :
आविष्कारले आफ्नो मन्तव्यका क्रममा देशको अहिलेको अवस्था, भ्रष्टाचारबारे चर्चा गर्दै यसबारे अहिलेका युवाले नबोले कसले बोल्छ ? भनेर प्रश्न उठाउने काम गरेका थिए । ‘अब हामी अन्धकारमै रही रहने कि आशाको किरण बन्ने भन्ने निर्णय गर्नु छ । हाम्रा पितापुर्खाले यो देश बचाउनलाई रगत दिएका छन्, हामी यसलाई गुमाउन सक्दैनौं, हामी निराशालाई जलाउने छौं,’ आविष्कारको भनाइ छ ।
आविष्कारका अनुसार ‘मलाई पहिल्यैदेखि वक्तृत्वकलामा रुचि थियो, म भाग लिइरहेको हुन्थे, यसपटक पनि सरले केही प्रस्तुति दिनु भनेकाले मैले अघिल्लो दिन बेलुकी यो स्पिच तयार गरेको थिएँ ।’
आविष्कारको उक्त भाषणलाई भारतीय सञ्चारमाध्यमहरूले हिटलरसँग तुलना गर्दै प्राथमिकताका साथ समाचार लेखेका छन् ।
भारतको आर्थिक अखबार ‘द इकोनमिक टाइम्स’ले नेपाली विद्यार्थीले स्कुलमा राखेको मन्तव्यको भिडियो भाइरल भएको भन्दै लेखेको छ । त्यसमा त्यो भाषणलाई धेरैले जर्मनका क्रुर शासक एडल्फ हिटलसँग तुलना गरेको उल्लेख गरिएको छ ।
‘आज म यहाँ नयाँ नेपाल निर्माण गर्ने सपना लिएर उभिएको छु … ’ भन्दै दिएको भाषणको केही अंश पनि समाचारमा समावेश गरिएको छ । इकोनमिक टाइम्सले समावेश गरेको एक्समा अपलोड गरिएको भिडियोमा धेरैले उनको आवाज हिटलरको जस्तो भएको उल्लेख गरेका छन् ।
भारतीय अखबार दैनिक जागरणले नेपाली विद्यार्थीको भाषणलाई किन हिटलरसँग तुलना भइरहेको छ भनेर भिडियोसहितको सामग्री प्रकाशन गरेको छ । ‘उनले जुन शैलीमा भाषण दिएका छन्, त्यो सुनेर सबै प्रयोगकर्ता हैरान छन्’, भनिएको छ ।
भारतको टेलिभिजन च्यानल एनडीटीभीले नेपालको राजनीतिक र आर्थिक चुनौतिलाई सम्बोधन गर्दै विद्यार्थीले दिएको भाषण नेपालमा राजतन्त्रको पक्षमा आन्दोलन भइरहेका बेला भाइरल भएको उल्लेख गरेको छ ।
धेरैले यो भिडियोलाई लिएर मिम पनि बनाएका छन् । एक जना प्रयोगकर्ताले ‘भिडियो गेम जिटीएको पाँचौं भर्सन आउनुभन्दा पहिले नेपाली हिटलर पाएको,’ उल्लेख गरेका छन् ।
भारतको द इन्डियन एक्सप्रेसले पनि विद्यार्थीले बेरोजगारी र भ्रष्टाचारबारे दिएको मन्तव्य हिटलरसँग तुलना गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सेयर गरिरहेको उल्लेख गरेको छ । उसले यो चार्ली च्याप्लिनको प्रसिद्ध भाषण ‘द ग्रेट डिक्टेटर’ बाट प्रेरित भएको भन्दै एक प्रयोगकर्ताले दिएको टिप्पणीलाई समेत समाचारमा समावेश गरेका छन् ।
देशको ४० प्रतिशत जनसंख्या युवाको रहेको उल्लेख गर्दै विगतको गौरवमय इतिहासलाई संरक्षण गर्नुपर्छ भन्ने हिसाबमा युवालाई उचाल्न खोजेको उनले बताए । ‘भ्रष्टाचारमा देशको अवस्था लाज मर्दो छ, त्यसैले मैले यस्तो भाषण गरेको थिएँ’, उहाँको थप भनाइ छ ।
तर आविष्कारका अनुसार ‘मेरो भाषण राष्ट्रप्रेमको अभिव्यक्ति हो ।’ आफूले देशको अवस्था हेरेर आक्रोशित भएर त्यस्तो मन्तव्य दिएको उहाँको भनाइ छ ।
‘धेरै उत्कृष्ट विश्वभरि चिनिएका व्यक्तित्वहरूसँग जोडेर भिडियो पनि बनेको रहेछ, मलाई त्यो देख्दा कता–कता हाँसो उठ्छ, अचम्म पनि लाग्छ, ममा राष्ट्रप्रति अति नै प्रेम छ, देश प्रेमकै कारण मैले त्यस्तो अभिव्यक्ति दिएको थिएँ ।’ आविष्कारले भन्नुभयो ।
प्रकाशित मिति २०८१ चैत्र ३, आईतवार १९:४९ गते