एसईई परीक्षा तयारी पुरा : केन्द्राध्यक्षहरूको नियुक्ति र अभिमुखीकरण

एसईई परीक्षा तयारी पुरा : केन्द्राध्यक्षहरूको नियुक्ति र अभिमुखीकरण

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत २ गते आईतबार ०८:३४

स्थानीय तह अनुसार १६ परीक्षा केन्द्र तोकिएकामध्ये बेसीशहर नगरपालिकामा पाँच परीक्षा केन्द्र छन् भने क्ब्होलासोथर र दूधपोखरी गाउँपालिकामा भने एउटै पनि परीक्षा केन्द्र तोकिएको छैन ।

सबैभन्दा कम परीक्षार्थी बीरभक्ति मावि तार्कुघाटमा ११६ जना रहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिवाकर शर्माले बताउनु भयो ।

बेसीशहर– यस वर्षको माध्यामिक शिक्षा (एसईई) परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । चैत ७ गतेदेखि शुरू हुने सो परीक्षाको प्रयोजनका लागि केन्द्राध्यक्षहरूका लागि नियुक्ति दिने र अभिमुखीकरण गर्ने कार्य चैत ३ गते गरिएको छ ।
यो वर्षको एसईई परीक्षाका लागि १६ वटा मात्र परीक्षाकेन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । सो इकाईका अनुसार यो वर्ष जिल्ला सदरमुकाममा तीन वटा मात्र परीक्षा केन्द्र रहेका छन् । अन्य १३ परीक्षा केन्द्र सदरमुकाम बाहिर रहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिवाकर शर्माले बताउनु भयो ।
उहाँका अनुसार यो वर्ष दुई हजार ९४० जना परीक्षार्थी रहेका छन् । तीमध्ये साधारणतर्फ २ हजार ४ सय ९७ जना, प्राविधिकतर्फ १ सय ७१ जना र ग्रेड वृद्धितर्फ ११ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् ।
उक्त परीक्षाका लागि स्थानीय तह अनुसार १६ परीक्षा केन्द्र तोकिएका छन् । तीमध्ये बेसीशहर नगरपालिकामा पाँच परीक्षा केन्द्र रहेका छन् भने मध्यनेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका र राइनास नगरपालिकामा ३/३ परीक्षा केन्द्र छन् । त्यस्तै, दोर्दी गाउँपालिका र मस्र्याङदी गाउँपालिकामा १/१ केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । क्ब्होलासोथर गाउँपालिका र दूधपोखरी गाउँपालिकामा भने एउटै पनि परीक्षा केन्द्र तोकिएको छैन ।
गत वर्षको तुलनामा यो संख्या २६२ जनाले बढी हो । गत वर्षको एसईईमा जिल्लाका २ हजार ६ सय ७८ जना विद्यार्थीले परीक्षामा भाग लिएका थिए । २६२ जना कम विद्यार्थी हुँदा पनि गत वर्ष परीक्षा केन्द्र १७ कायम गरिएको थियो भने यो वर्ष एक परीक्षाकेन्द्र घटाइएको छ ।
यो वर्ष सबैभन्दा बढी भूपू सैनिक आमावि बेसीशहरमा ३३८ जना परीक्षार्थी रहेका छन् भने सबैभन्दा कम परीक्षार्थी बीरभक्ति मावि तार्कुघाटमा ११६ जना रहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिवाकर शर्माले बताउनु भयो । उहाँका अनुसार दुई सयभन्दा माथि परीक्षार्थी भएका परीक्षा केन्द्रमा जनविकास मावि बेसीशहरमा २७९ जना, भक्ति नमूना माविमा २३२ जना तथा कुसुमाकर माविमा २१० जना परीक्षार्थी रहेका छन् ।
त्यस्तै, अन्य केन्द्रहरू शैलपुत्री माविमा १९२ जना, भैरवकाली माविमा १८८ जना, अमर माविमा १८२ जना, जनकल्याण माविमा १७२ जना, आदर्शबाल माविमा १७८ जना, जनविकास मावि चण्डिडाँडामा १६५ जना परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिवाकर शर्माले बताउनु भयो । उहाँका अनुसार विद्याज्योती माविमा १४८ जना, बालकल्याण माविमा १४५ जना, चैतन्योदय माविमा १४४ जना, ईशानेश्वर माविमा १२९ जना रहेका छन्् ।
सो परीक्षाको सुरक्षा तयारीका बारेमा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङसँग सम्पर्क गर्दा सबै सुरक्षा व्यवस्था गरिसकिएको छ । टाढाका केन्द्रका प्रहरी चौकीहरूमा प्रश्न पत्र र उत्तर पुस्तिका पठाउने काम भइसकेको छ भन्नुभयो । उहाँका अनुसार आज ३ गते केन्द्राध्यक्षहरूलाई नियुक्ति पत्र दिने र अभिमुखीकरण गर्ने र आवश्यक निर्देशन दिने काम भएको छ ।
उहाँहरूलाई भोलि चैत ४ गते बेलुका सुरक्षाकर्मी सहित परीक्षाकेन्द्रमा पुग्नसमेत निर्देशन गरिएको प्रजिअ गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘परीक्षार्थी संख्याका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ, सशस्त्र र नेपाल प्रहरी दुवैतर्फ मिलाएर एकजनाको कमाण्डमा खटाउने तयारी छ ।’
शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख शर्माले केन्द्राध्यक्षहरूलाई परीक्षा सञ्चालन, प्रश्नपत्र ढुवानी, परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन अभिमुखीकरण गराइएको बताउनुभयो । उहाँका अनुसार परीक्षालाई परीक्षा जस्तो बनाउन र परीक्षा सञ्चालन निर्देशिका बमोजिम परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित वातावरणमा सञ्चालन गर्न केन्द्राध्यक्षलाई निर्देशन गरिएको छ ।
प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष एक÷एक, तीन सय विद्यार्थी रहेको केन्द्रमा दुई सहायक केन्द्राध्यक्ष, दुई विद्यार्थी बराबर एक निरीक्षक, एक सय ५० देखि दुई सयसम्म परीक्षार्थी भएकोमा एक सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा दुई सहयोगी खटाइएको शर्माको भनाइ छ ।

यसैबीच, एसईई परीक्षाको निरीक्षण अनुगमनका लागि एक सञ्चारमाध्यमका लागि एक पास उपलब्ध गराइने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिवाकर शर्माले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८१ चैत्र ३, आईतवार २०:३४ गते
हजुरको प्रतिक्रिया