ताल(मनाङ)– हिमाल पारीको जिल्ला मनाङको ताल गाउँमा दैवी विपदबाट गाउँलेलाई सचेत गराउँदै जनधनको क्षति हुनबाट बचाउनका लागि साइरन जडान गरिएको छ । खासगरी बाढी र पैह्रोका कारण हुने जनधनको क्षति हुन नदिने उद्देश्यले सो कार्य मानव विकास तथा सामुदायिक सेवा केन्द्र(ज्म्ऋक्)ले २६ लाख रुपैयाँको लागतमा गरेको हो ।
लमजुङसँग सीमा जोडिएको तर हिमाल पारीको जिल्ला मनाङको प्रवेश नाकाका रुपमा परिचित नसों गाउपालिका– १ को ताल गाउँमा साइरन जडान गरिएको हो । सो कार्यका लागि २६ लाख रुपैयाँ खर्च भएको ज्म्ऋक् नमूना सामुदायिक अस्पतालका मनोसामाजिक परामर्शदाता शोभा ठकुरीले बताउनु भयो । उहाँका अनुसार दुई वर्ष अघि मनाङमा आएको बाढीका कारणले गर्दा ताल गाउँका आधाभन्दा बढी घर बगाएको र त्यहाँका बासिन्दाहरू विस्थापित भएको र केही घरहरू डुबानमा परेको स्थितिलाई ध्यानमा राखेर जनधनको क्षति हुनबाट बचाउनका लागि साइरन जडानको कार्य गरिएको हो ।
उहाँले भन्नुभयो, ‘नसों गाउँपालिका– ८ को धारापानीमा रहेको मर्स्याङ्दी नदीमा पानीको सतह मापन गर्ने एक यन्त्र राखिएको छ । त्यो मापन यन्त्र स्वचालित रहेको छ ।’ त्यो यन्त्रले मर्स्याङ्दी नदीमा खतराको सहत पार गरेको संकेत गर्नासाथ आफ्सेआफ साइरन बज्छ उहाँले जानकारी दिनुभयो । त्यो साइरन ताल गाउँभर सुनिन्छ । उहाँका अनुसार साथमा खतराको संकेतको मोवाइलबाट थिम (खतराको सूचना उल्लेखित एसएमएस) जाने प्रवन्ध समेत गरिएको छ । कथम्कदाचित लाइन गएको, नेट नचलेको स्थिति भएमा पनि कटुवालमार्फत त्यो खतराको खबर गाउँलेले थाहा पाउँछन् र उनीहरू सुरक्षित स्थानतर्फ जान सक्ने प्रवन्ध गरिएको ठकुरीले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘साइरन तथा पानीको सतह मापन यन्त्र खरिददेखि डुवानी र जडानसम्मको सबै खर्च २६ लाख पुगेको छ ।’
सुरक्षित स्थानका लागि स्थानीय फुटबल खेल मैदानलाई प्रयोग गर्ने गरी स्थानीय गाउँमा रहेको मस्र्याङदी युवा क्लबसँग समन्वय गरिएको छ । यसअघिको डुबानका बेलामा पनि त्यो ठाउँमा पानी सतह पुग्न नसकेको गाउँलेबाट थाहा भएको ठकुरीले बताउनु भयो । उहाँका अनुसार यसअघि आएको बाढीको डुबानमा नपरेको निजी घरको छत प्रयोग गरेर साइरन जडान गरिएको छ ।
सो साइरन जडानपछि स्थानीय जन प्रतिनिधिहरू, आमा समूह, युवा क्लबका पदाधिकारीहरू, प्रहरी र स्वास्थ्य चौकी तथा गाउँका बासिन्दालाई जम्मा गरेर एक दिने प्राथमिक मनोसामाजिक सहयोग सम्बन्धि तालिम समेत सञ्चालन गरिएको ठकुरीले जनाकारी दिनुभयो ।
सो तालिमका लागि पनि मानव विकास तथा सामुदायिक सेवा (ज्म्ऋक्)को आयोजना सञ्चालन गरिएको मनोपरामर्शदाता ठकुरीको भनाई छ । उहाँका अनुसार विपद तथा जोखिम पश्चात मानिसहरूमा उत्पन्न हुने मानसिक तनाब, डर, चिन्तालाई के कसरी व्यवस्थापन तथा न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा तालिम प्रदान गरिएको थियो ।
५५ जनाले भाग लिएको सो नसों गाउँपालिका– १ का अध्यक्ष मिनराशी गुरुङको अध्यक्षतामा भएको थियो । वडा अध्यक्ष गुरुङले साइरन जडान पछि खासगरी वर्षातको समयमा गाउँलेहरू ढुक्कसँग निदाउन पाउने भएको भन्दै खुशी व्यक्त गर्नु भएको थियो । उहाँले सहयोग दाता ज्म्ऋक् लाई धन्यवाद दिदै यस्ता सहयोगलाई निरन्तरता दिन माग गरेका थिए ।
प्रकाशित मिति २०८१ चैत्र ६, बुधबार २२:३८ गते