विद्यालयका नाम राष्ट्रकवि र भूगोलविद्को नामबाट राख्न गाउँपालिकाद्वारा सिफारिस

विद्यालयका नाम राष्ट्रकवि र भूगोलविद्को नामबाट राख्न गाउँपालिकाद्वारा सिफारिस

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत ६ गते बिहिबार ०५:१२

फुटबलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल ‘राष्ट्रिय खेलाडी साम्बा’को सम्मानस्वरुप पालिकाको मुख्य मार्गमा रहेको चोकमा साम्बाको फोटो राखेर साम्बा चोक नामकरण गर्ने गाउँकार्यपालिकाको बैठकबाट सर्वसम्मत निर्णय भई सोही दिनदेखि कार्यान्वयमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म थलो मस्र्याङदी गाउँपालिका– ६ बाहुनडाँडा स्थित चन्द्रोदय माविको नाम राष्ट्रकवि माधवप्रसाद घिमिरे मावि राख्न र भूगोलविद् डा गुरुङको जन्म थलो रहेको मस्र्याङदी गाउँपालिका– ७ को तराञ्चेस्थित महेन्द्रदेव माविको नाम भूगोलविद् डा. हर्क गुरुङ मावि राख्न सिफारिस गर्ने निर्णय गरिएको हो ।

भूलभूले(लमजुङ)– लमजुङमा विद्यालयको ताम राष्ट्रकवि माधवप्रसाद घिमिरे र भूगोलविद् डा. हर्क गुरुङको नामबाट राख्न गाउँपालिकाले सिफरिस गरेको छ । ती दुवै राष्ट्रिय विभूतिको जन्म थलो लमजुङको मस्र्याङदी गाउँंपालिका हो । त्यसैले सो गाउँपालिकाले आफ्नो पालिका क्षेत्रमा रहेका दुई वटा विद्यालयको नाम परिवर्तनको लागि सम्बन्धित निकायमा सिफारिस गरेको हो ।
सो प्रयोजनका लागि मस्र्याङदी गाउँकार्यपालिकाको बैठकले निर्णय गरी सिफारिसको कार्य गरेको हो । गाउँकार्यपालिकाको बैठकबाट दुई विद्यालय चन्द्रोदय माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालयको नाम परिवर्तनका लागि नेपाल सरकार, शिक्षा मन्त्रालय र गण्डकी प्रदेश सरकार समाजिक विकास मन्त्रालयलगायतका सम्बन्धित निकायहरूमा सिफारिसका लागि अनुरोध गर्ने निर्णय गरेको मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म थलो मस्र्याङदी गाउँपालिका– ६ बाहुनडाँडामा रहेको चन्द्रोदय माविको नाम परिवर्तन गरी राष्ट्रकवि माधवप्रसाद घिमिरे मावि राख्न सिफारिस गर्ने निर्णय गरेको हो । उहाँले भन्नुभयो, ‘यसैगरी भूगोलविद् डा गुरुङको जन्म थलो रहेको मस्र्याङदी गाउँपालिका– ७ को तराञ्चेस्थित महेन्द्रदेव माविको नाम परिवर्तन गरी भूगोलविद् डा. हर्क गुरुङ मावि राख्न सिफारिस गर्ने निर्णय गरिएको छ ।’

खुदी बजारको मोटरेवल पुलको चोकलाई ‘साम्बा चोक’ नामकरण :
गाउँपालिकाले राष्ट्रकवि घिमिरे र भूगोलविद् डा गुरुङले राष्ट्रका निम्ति पुर्याएको अतुलनीय योगदानको उच्च कदर गदै राष्ट्रिय विभूतिद्वयको सम्मानर्थ विद्यालयको नाम परिवर्तन गरी उहाँहरूको नाम राख्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
यसैगरी गाउँपालिका–ं ९ खुदी बजारको मोटरेवल पुल नजिक रहेको चोकलाई ‘साम्बा चोक’ नामकरण गर्ने निर्णय गाउँकार्यपालिकाको बैठकद्वारा गरिएको छ । मस्र्याङदी गाउँपालिका– ९ पाम्पचोकमा जन्मिएर फुटबल खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा स्थापित हुन सफल सावित्रा भण्डारीको नाममा उक्त चोकको नामकरण गर्ने निर्णय कार्यपालिका बैठकबाट भएको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईले बताउनु भयो । उहाँका अनुसार फुटबलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल ‘राष्ट्रिय खेलाडी साम्बा’को सम्मानस्वरुप पालिकाको मुख्य मार्गमा रहेको चोकमा भण्डारीको फोटोसहित साम्बा चोक नामकरण गर्ने सर्वसम्मत निर्णय भई सोही दिनदेखि कार्यान्वयमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति २०८१ चैत्र ७, बिहीबार ०५:१२ गते
हजुरको प्रतिक्रिया