ठूला भनिने राजनीतिक दलको दाउपेचले लमजुङमा साढे २५ करोडको खानेपानी आयोजना अलपत्र

ठूला भनिने राजनीतिक दलको दाउपेचले लमजुङमा साढे २५ करोडको खानेपानी आयोजना अलपत्र

नवराज पहाडी

@antaranganews

२०८१ चैत ६ गते बिहिबार ०९:१५

त्यो आयोजनाको सुरुवात गर्ने काम हामीबाट भएको हो, त्यो बेला उपभोक्ता समितिको अध्यक्ष म नै थिएँ तर त्यसको उपभोक्ता समिति गठन गर्ने बेलामा हामीलाई वाइपास गरियो सो सुन्दरबजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष उत्तम गुरुङले बताउनु भएको छ ।

सो योजनाको सम्पन्न गर्नु पर्ने करिब दुई वर्षको समय बित्दाको अवस्थामा निर्माणको काम ६० प्रतिशत मात्र सकिएको बताइन्छ ।

सुन्दरबजार(लमजुङ)– लमजुङमा निर्माणधिन अवस्थामा रहेको उहाँका एक साझेदारीको बृहत खानेपानी योजना ठूला भनिने राजनीतिक दल बीचको द्वन्द्व तथा प्रतिशोधका कारण अलपत्र अवस्थामा पुगेको छ । लमजुङको दोस्रो ठूलो सुन्दरबजार नगरपालिकामा निर्माणाधिन साढे २५ करोडको खानेपानी योजना अलपत्र परेको अवस्थामा रहेको बेलामा सोही क्षेत्रका थप दुई योजनामा बजेट विनियोजन गरिएको छ एकातिर भने अर्कोतिर सो योजनाका लागि निर्माण अवधि एक वर्ष थप गर्न सिफारिस गरिएको हास्यास्पद स्थिति उदागर भएको छ ।
सुन्दरबजार नगरपालिकाका पाँच वटा वडाहरू २, ५, ६, ७ र ९ का अधिकांश बजार र गाउँ क्षेत्रमा सेवा दिने गरी सो सुन्दरबजार खानेपानी तथा सरसफाई आयोजना निर्माणको काम २०७८ सालको असारमा थालिएको थियो । २०८१ सालको माघ १ गते सम्पन्न गर्नु पर्ने उक्त आयोजनाको निर्माण लागत २५ करोड ५२ लाख रुपैयाँ रहेको छ । सो योजनाको सम्पन्न गर्नु पर्ने करिब दुई वर्षको समय बित्दाको अवस्थामा निर्माणको काम ६० प्रतिशत मात्र सकिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले जनाएको छ । सो आयोजनामा प्रयोगका लागि ल्याइएका अधिकांश पाइप लगायतका निर्माण सामग्री दुई वर्षदेखि अलपत्र अवस्थामा रहेको उपभोक्ताको गुनासो छ । तर सोही योजना क्षेत्रमा ९० लाख र २० लाखको थप योजनामा समेत चालु आवमा बजेट छुट्याइएको छ ।

जसले कार्यान्वयनमा चुनौती थपेको संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख नरेश रेग्मीले बताउनु भयो । उहाँका अनुसार योजना बनाउने पार्ने हामीले हैन, हामीले त स्विकृत भएर आएका योजनामा काम गर्ने हो । उहाँले भन्नुभयो, ‘एले तपाईहरू एक भएर निर्माणाधिन योजना सम्पन्न गर्छौं भन्ने सर्वपक्षीय प्रतिवद्धता आएपछि मात्र उक्त थप भएर आएको योजनाको काम अघि बढ्न भनेका छौं ।’ उहाँले थप्नुभयो, ‘तर सयमा समन्वयकर्ताको भूमिका खड्किएको छ । स्थानीय नगरपालिकाले समेत समन्वयका लागि प्रभावकारी भूमिका निभाउन सकेको देखिदैन । सो आयोजनाका लागि एक वर्षको म्याद थप गर्न फायल माथि पठाएका छौं, स्विकृत भएर आउन बाँकी रहेको रेग्मीले जानकारी दिनुभयो ।
सुन्दबजार नगरपालिकाको ती वडामा ऐले पनि तीनवटा खानेपानी तथा सरसफाई उपभोक्ता समिति क्रियाशील अवस्थामा रहेका छन् । ती हुन् सबैभन्दा ठूलो सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता समिति, तार्दी खोला भोटेओडार खानेपानी तथा सरसफाई उपभोक्ता समिति र लसुने खोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति । सो आयोजनामा सुन्दरबजार नगरपालिका– ९ का रहेको तार्दी खोला भोटेओडार खानेपानी तथा सरसफाई उपभोक्ता समिति आफू र आफ्ना उपभोक्ता सामेल नहुने बताएर सुरुदेखि पन्छिदै आएको छ ।
त्यस्तै, सुन्दरबजारको मुख्य क्षेत्र ओगट्ने सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफूलाई वाइपास गरिएको हुँदा सहभागी हुन नसक्ने उल्लेख गरेको छ । लसुने खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नयाँ निर्माणाधिन सुन्दरबजार सहलगानी खानेपानी आयोजना समितिको पनि अध्यक्ष भएको हुँदा सो समितिले काम अघि बढाउन प्रयासरत रहेको छ तर आम उपभोक्ताको साथ सहयोग नपाउँदा आयोजनाको काम अलपत्र अवस्थामा पुगेको स्थिति रहेको सो आयोजनाका जानकारहरू बताउँछन् ।
नवनिर्मित खानेपानी आयोजनामा मर्स्याङदी नदीमा एक सय घनमिटनको पोखरी निर्माण गरी त्यसबाट पम्पिङ गरी पानी तान्ने योजना छ । तर मर्स्याङदी नदीमा निर्माण गर्ने भनिएको पोखरीको निर्माणको काम सुरु हुन समेत सकेको छैन त्यो सत्यलाई उपभोक्ता समितिका अध्यक्ष प्रेम जिसिले स्विकार गर्नु भएको छ । उहाँका अनुसार यो खानेपानी आयोजना ७० प्रतिशत नेपाल सरकार र ३० प्रतिशत उपभोक्ताको सहलगानीमा निर्माण हुने आयोजना हो ।
उपभोक्ताले लगानी गर्ने ३० प्रतिशतमध्ये २० प्रतिशत श्रमदान गर्ने र १० प्रतिशत निर्माण लागतमा पर्ने हुँदा नगद जम्मा पर्नु पर्ने हो । त्यसमध्येको पनि पाँच प्रतिशत आयोजनाको टेण्डर हुनु पूर्वनै लगानी गर्नु पर्ने हुन्छ । त्यसको हुन आउने रकम एक करोड पाँच लाख रुपैयाँ सुन्दरबजार नगरपालिकाले लगानी गरिदिए पछि टेण्डर भएको हो । तर विभिन्न विवादका कारण थप पाँच प्रतिशत रकम उठाउन उपभोक्ता समितिले सकेको छैन अध्यक्ष प्रेम जिसिले भन्नुभयो ।
उक्त नवनिर्मित योजना अन्तरगत नै दुई वटा खानेपानी योजनाका लागि चालु आवमा खर्चने गरी लसुने खानेपानी योजनाका लागि ९० लाख रुपैयाँ र सुन्दरबजार क्षेत्रका लागि २० लाखको योजना आएको संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख ई.नरेश रेग्मीले स्वीकार गर्नु भएको छ । यो रकम कार्यान्वयन हुने हो होइन भन्न सक्ने अवस्था सुनिश्चित हुन सकेको छैन ।
सो आयोजनाको सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गर्दा एमाले र माओवादीले मात्र एक लौटी रुपमा आफ्ना कार्यकर्तामात्र राखेर समिति गठन गरेका कारणले नेपाली काँग्रेस समितिमा नभएको हुँदा बारम्बार गुनासो आउने र निर्माणको काममा बाधा परेको हो । साविकको सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा नेपाली काँग्रेसको नेतृत्व रहेको छ । सो उपभोक्ताबाट संकलन गर्नु पर्ने १० प्रतिशत रकम संलकन हुन सकिरहेको छैन ।
यसबारेमा सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा सम्पर्क गर्दा त्यो आयोजनाको सुरुवात गर्ने काम हामीबाट भएको हो, त्यो बेला उपभोक्ता समितिको अध्यक्ष म नै थिएँ सो उपभोक्ता समितिका अध्यक्ष उत्तम गुरुङले बताउनु भयो । उहाँका अनुसार उपभोक्ता समिति गठन गर्ने बेलामा हामीलाई वाइपास गरियो । उहाँले भन्नुभयो, ‘दोस्रो कार्यकालमा म भइन त्यो बेलाको समितिले नयाँ योजनाको पानी महंगो पर्ने भएको हुँदा पुरानै योजनाको पानी खाने भन्ने सर्वसम्मत निर्णय गरेको हुँदा ऐले फेरि म आएर पनि केही गर्न सक्ने अवस्था छैन ।’
‘त्यो आयोजनामा गर्नु पर्ने पाँच प्रतिशत लगानीको रकम एक करोड पाँच लाख सुन्दरबजार नगरपालिकाले लगानी गरेको छ त्यो रकमको अडिट आदि समेत गरिएको छैन, सो खानेपानी उपभोक्ता समितिमा पछिल्ला दुई वर्षदेखि बार्षिक साधारणसभा समेत भएको जानकारीमा छैन त्यस्तो समितिलाई हामी कसरी विश्वास गर्न सक्छौं ? भन्दै उत्तम गुरुङले प्रतिप्रश्न गर्नु भयो ।
सुन्दरबजार बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव सुभास श्रेष्ठले संस्थामा राजनीतिक करण भएका कारणले काम अघि बढ्न नसकेको तर पनि निर्माणको काम ठप्प भने नभएको बताउनु भयो ।
यसैगरी, हाम्रो समिति नगरपालिकामा दर्ता छ, यो आयोजना पालिकाको गौरवको योजना पनि हो, त्यसैले यसको रेखदेखको जिम्मा नगरपालिकाको हो समितिका कोषाध्यक्ष विमला पौडेलले बताउनु भयो । उहाँका अनुसार उपभोक्ता समिति गत वर्षसम्म नवीकरण भएको छ । यो वर्ष नवीकरणका लागि लेखा परीक्षणको काम भइरहेको छ । हामीलाई बाधा नदिएमा काम गर्न सक्छौं उहाँको दावी छ ।
यसबारेमा बुझ्न सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीसँग सम्पर्कको प्रयास गर्दा उहाँको फोन उठेन ।
फोटोमा ः उक्त आयोजनाका लागि ल्याइएका अलपत्र पाइप लगायतका निर्माण सामग्रीहरू ।

प्रकाशित मिति २०८१ चैत्र ७, बिहीबार २१:१५ गते
हजुरको प्रतिक्रिया