विरोधी प्रति राजनीतिक प्रतिशोधको डण्डा चलाउँदै ट्रम्प

विरोधी प्रति राजनीतिक प्रतिशोधको डण्डा चलाउँदै ट्रम्प

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत १० गते सोमबार ०९:०१

त्यतिमात्र हैन, ट्रम्पको पछिल्लो कदमले न्यायपालिकामाथि प्रहार गरिरहेको छ । ट्रम्पविरूद्ध मुद्दा चलाउने म्यानहट्टन जिल्ला वकिल अल्भिन ब्राग र न्यूयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिसिया जेम्सलाई पनि निशाना बनाएका छन् ।

ट्रम्पले खारेज गरे ह्यारिस र हिलारी क्लिन्टनको सुरक्षा स्वीकृति

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व प्रतिद्वन्द्वीसँग राजनीतिक प्रतिशोध साध्ने संकेत देखिएको छ । ट्रम्पले पूर्व उपराष्ट्रपति ह्यारिस र पूर्व प्रथम महिला तथा विदेश मन्त्री क्लिन्टनलाई संवेदनशील सरकारी सूचनामा पहुँचबाट वञ्चित व्यक्तिहरूको सूचीमा समावेश गरिने चैत ८ गते घोषणा गरेसँगै त्यस्तो खुलासा भएको हो ।
विरोधीहरू माथि राजनीतिक प्रतिशोधको अभियान विस्तार गर्दै ट्रम्पले आफ्ना पूर्व प्रतिद्वन्द्वी कमला ह्यारिस र हिलारी क्लिन्टनको सुरक्षा स्वीकृति (सेक्युरिटी क्लियरेन्स) खारेज गरेका हुन् । ट्रम्पको पछिल्लो कदमले उनी दोस्रो कार्यकालको सुरूमा राजनीतिक शत्रुहरूलाई कुन हदसम्म निशाना बनाइरहेका छन् भन्ने कुरा उजागर गर्छ भनेर फाइनान्सियल टाइम्सले लेखेको छ ।
सुरक्षा स्वीकृति खारेज भएपछि उनीहरूको गोप्य सूचनामा पहुँच हुनेछैन भने संवेदनशील सरकारी निकायहरूमा एक्लै जान पनि पाउने छैनन् । उनको निशानामा प्रतिपक्षी डेमोक्र्याट मात्रै नभएर उनी फेरि राष्ट्रपति बन्नु हुँदैन भन्ने पूर्व वायोमिङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य लिज चेनी लगायत रिपब्लिकन नेताहरू पनि परेका छन् । चेनीको पनि उनले सुरक्षा स्वीकृति खारेज गरेका छन् ।
जारी गरिएको आदेशमा ट्रम्पले बाइडेन प्रशासनका शीर्ष अधिकारीहरू, ट्रम्पका आलोचकहरू तथा केही कानुनी अधिकारीहरूको सुरक्षा पहुँच हटाइएको बताएका छन् । उनले बाइडेन परिवारका सदस्यहरूको समेत सुरक्षा अनुमति खारेज गरेको घोषणा गरे ।
त्यतिमात्र हैन, ट्रम्पको पछिल्लो कदमले न्यायपालिकामाथि प्रहार गरिरहेको छ । ट्रम्पविरूद्ध मुद्दा चलाउने म्यानहट्टन जिल्ला वकिल अल्भिन ब्राग र न्यूयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिसिया जेम्सलाई पनि निशाना बनाएका छन् ।
ट्रम्पले भेनेजुएलाको आपराधिक समूह सदस्य भनेर देश निकाला गरिएका सयौं आप्रवासीको मुद्दा हेरिरहेका संघीय न्यायाधीशलाई महाभियोग लगाउने भनेपछि प्रधानन्यायाधीश जोन रोबट्र्सले गत हप्ता त्यसको निन्दा गरेका थिए ।
अमेरिकाको संघीय अदालत अन्तर्गतको वासिङ्गटन डिसीमा रहेको जिल्ला अदालतका प्रमुख न्यायाधीश जेम्स बोजबर्गले १४ दिनका लागि उनीहरूलाई देश निकाला नगर्नु भन्ने अस्थायी आदेश गरे पनि ट्रम्प सरकारले उनीहरूलाई निकालेको थियो ।
ट्रम्प सरकारले अदालतको आदेश नमानेको भन्दै न्यायाधीश जेम्स बोजबर्गले त्यसबारे जबाफ मागेका छन् ।
त्यसमा प्रतिक्रिया जनाउँदै प्रधानन्यायाधीश जोन रोबट्र्सले मंगलबार विज्ञप्ति निकालेर महाभियोग लगाउने मागको निन्दा गरेका थिए । अदालतहरूलाई परम्परागत मुद्दा प्रणालीमार्फत् कानुनी विवादहरू समाधान गर्न छोडिनुपर्छ भनेर रोबट्र्सले भनेका थिए ।
ट्रम्पले पहिले नै अघिल्ला राष्ट्रपति जो बाइडेनलाई सुरक्षा स्वीकृतिबाट बञ्चित गर्नुपर्ने व्यक्तिहरूको सूचीमा समावेश गरिसकेका थिए । बाइडेनका शीर्ष सहयोगीहरू पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान, र पूर्व विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई सो सूचीमा राखेका थिए ।
ट्रम्पको सूचीमा पहिलो कार्यकालमा उनको सरकारका लागि काम गरेकी रूस विज्ञ फियोना हिल पनि समावेश छिन् । हिलले ट्रम्पको पहिलो कार्यकालमा उनको युक्रेन युद्धप्रतिको दृष्टिकोणको आलोचना गरेकी थिइन् । अहिलेको ट्रम्पले युद्ध रोक्न अपनाएको रूसलाई फाइदा हुने नीतिको पनि आलोचना गर्छिन् ।
ट्रम्पको पछिल्लो कदमले उनी दोस्रो कार्यकालको सुरूमा राजनीतिक शत्रुहरूलाई कुन हदसम्म निशाना बनाइरहेका छन् भन्ने उजागर गर्छ भनेर फाइनान्सियल टाइम्सले लेखेको छ ।
ट्रम्प प्रशासनले आफ्नो सुरक्षा रणनीतिअन्तर्गत राजनीतिक शत्रुहरूलाई निशाना बनाएको आरोप लागेको छ । उनका समर्थकहरूले भने यो निर्णयलाई राष्ट्रको सुरक्षासँग सम्बन्धित कदमका रूपमा व्याख्या गरेका छन् ।
ट्रम्पले सन् २०२० को चुनाव आफूले नहारेको र बाइडेनले धाँधली गरेर जितेको दाबी गरेर आफ्ना समर्थकलाई विद्रोह गर्न उक्साएका थिए । त्यसपछि बाइडेनले पनि कार्यभार सम्हालेपछि ट्रम्पको सुरक्षा स्वीकृति खारेज गरेका थिए । त्यसैको बदला स्वरूप ट्रम्पले बाइडेन र उनका सहयोगीहरूको सुरक्षा स्वीकृति खारेज गरेको बताइन्छ ।
बाइडेनले पनि ट्रम्पलाई सुरक्षा अनुमति दिएका थिएनन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मैले यी व्यक्तिहरूलाई संवेदनशील तथा गोप्य सूचना पहुँच दिनु राष्ट्रिय हितमा नरहेको ठहर गरेको छु ।’
को–को परे ट्रम्पको निशानामा ?
ट्रम्पको आदेश अनुसार सुरक्षा अनुमति रद्द गरिएका व्यक्तिहरूमा जो बाइडेन (पूर्व राष्ट्रपति) कमला ह्यारिस (उपराष्ट्रपति) हिलारी क्लिन्टन (पूर्व विदेशमन्त्री) एन्टोनी ब्लिन्केन (विदेशमन्त्री) जेक सुलिभान (राष्ट्रिय सुरक्षा सल्लाहकार) लिज चेनी र एडम किन्जिन्गर (ट्रम्प आलोचक रिपब्लिकन सांसदहरू) लेटिसिया जेम्स (न्यूयोर्कका महान्यायाधिवक्ता, जसले ट्रम्पविरुद्ध मुद्दा हालेकी थिइन्)एन्ड्रयु वेसम्यान (पूर्व संघीय अभियोजनकर्ता) फियोना हिल र एलेक्जेन्डर भिन्डम्यान (ट्रम्पको पहिलो महाभियोगमा साक्षी दिएका अधिकारीहरू) छन् ।
यसैगरी ट्रम्पविरुद्ध कानुनी कदम चालेका अधिकारीहरूको सुरक्षा अनुमति हटाएको देखिन्छ। विशेषगरी, ट्रम्पविरुद्ध कानुनी मुद्दा लडिरहेका न्यूयोर्कका महान्यायाधिवक्ता लेटिसिया जेम्स, म्यानह्याटन जिल्ला न्यायाधिवक्ता एल्भिन ब्र्याग लगायतका कानुनी अधिकारीहरू यस आदेशबाट प्रभावित भएका छन् ।
ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनावमा क्लिन्टनलाई र २०२४ मा ह्यारिसलाई पराजित गरेका थिए ।

प्रकाशित मिति २०८१ चैत्र ११, सोमबार ०९:०१ गते
हजुरको प्रतिक्रिया