काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बदनियतपूर्वक बर्खास्त गरेको जनाएको छ । सो पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले चैत १२ गते एक विज्ञप्ति जारी गर्दै त्यस्तो बताउनु भएको हो ।
सो विज्ञप्तिमा बुर्लाकोटीले विद्युत प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतु सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरूको संरक्षणको श्रृंखला अन्तर्गत नै कारवाही गरिएको रास्वपाको निष्कर्ष छ भन्नुभएको छ ।
त्यस्तै, लगभग दुई तिहाइ समर्थन प्राप्त सरकार भ्रष्ट, अकर्मण्य, निरीह, निष्प्रभावी, अनुत्तरदायी र प्रतिशोध केन्द्रित रहेको प्रमाणित भएसँगै वर्तमान सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको छ उहाँले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । त्यसअघि उहाँले संविधानले नचिन्ने दुई दलीय संयन्त्रसमेतको सम्मतिमा गरिएका यस्ता जनविरोधी कदमहरूबाट देशमा केही गरौं भन्ने आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ भन्नु भएको छ ।
साथै भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ सो विज्ञप्तिमा भनिएकोछ ।
प्रस्तुत छ, सो विज्ञप्तिको पूर्ण विवरण :
दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई अँध्यारोको सकसबाट मुक्त गर्न मुख्य भूमिका निभाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बदनियतपूर्वक बर्खास्त गरेको समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण भएको छ ।
विद्युत प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतु सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरूको संरक्षणको श्रृंखला अन्तर्गत नै कारवाही गरिएको रास्वपाको निष्कर्ष छ । संविधानले नचिन्ने दुई दलीय संयन्त्रसमेतको सम्मतिमा गरिएका यस्ता जनविरोधी कदमहरूबाट देशमा केही गरौं भन्ने आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ।
आज नेपाली जनतामा व्याप्त रोष र नैराश्यताका कारक प्रमुख दलहरू र तिनका कहिल्यै नफेरिने पात्रहरूको संलग्नतामा सञ्चालन हुँदै आएको चरम कुशासनको अविछिन्नता नै हो । दह्रो र गहिरा सुधार होइन निहित स्वार्थसमूहको नियन्त्रणमा लगिंदै गरेको अर्थतन्त्र, बेरोजगारी र शैथिल्य; दलीयकरण र शासकीय अक्षमताका कारण थलिएको सार्वजनिक सेवा, शिक्षा र स्वास्थ्य क्षेत्रका बेथिति; एकातिर भ्रष्टाचार र दोहनको फैलँदो जालो र अर्कोतिर राज्यका सबै अंगहरुमा गरिएको कब्जाबाट सिर्जित दण्डहीनता; नयाँ दल, अभियान र अभियन्ताहरुमाथि राज्यका सबै अंगहरूको अस्त्रीकरण गर्दै साँधिएको राजनीतिक प्रतिशोध, निषेध एवम् झुठा मुद्दाको अनैतिक प्रहार; गिर्दो अन्तर्राष्ट्रिय साख, निर्लज्ज एवम् असफल कुटनीति र लगभग दुई तिहाइ समर्थन प्राप्त सरकार भ्रष्ट, अकर्मण्य, निरीह, निष्प्रभावी, अनुत्तरदायी र प्रतिशोध केन्द्रित रहेको प्रमाणित भएसँगै वर्तमान सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको छ ।
यसर्थ भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ ।
कविन्द्र बुर्लाकोटी,
कार्यवाहक महामन्त्री
प्रकाशित मिति २०८१ चैत्र १२, मंगलवार १८:२३ गते