
गौंडा(लमजुङ)– लमजुङको दुधपोखरीका ४२ जना बाख्रापालक कृषकहरुले तालिम पाएका छन् । नेपाल रेडक्रस सोसाईटी लमजुङ शाखाले ति बाख्रापालक कृषकहरुलाई तालिम प्रदान गरेको हो ।
डुफ परियोजना अन्तर्गत रेडक्रसले दुई चरणमा स्थानीय बाख्रा पालक कृषकहरुको क्षमता अभिबृद्धिका लागि तालिम प्रदान गरेको रेडक्रसले जनाएको छ । परम्परागत रुपमा बाख्रापालन गर्दै आएका कृषकहरुलाई व्यवसायलाई प्रवर्द्धन गर्न तथा आयआर्जन बृद्धि गराउन व्यवस्थीत बाख्रापालन सम्वन्धी तालिम दिएको हो । तालिम दुई चरणमा छुट्टाछुट्टै भएको दुधपोखरी गाउँपालिका पशुसेवा शाखा प्रमुख दिनेश गुरुङले र कृषि शाखा प्रमुख सुशान्त लामीछानेले सहजिरकण गर्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाईटी लमजुङ शाखाले दुधपोखरी गाउँपालिका वडा नम्वर १, २, ३ र ५ का स्थानियलाई लक्षित गरी जिविकोपार्जनमा सुधार गर्ने लक्ष्य सहित डुफ परियोजना सञ्चालन गरेको छ । सो परियोजना अन्तर्गत सञ्चालित तालिममा सहभागी कृषकहरुलाई व्यवसायिक बाख्रा पालन प्रवद्र्धनका लागि प्रति कृषक ३० हजार रुपैया पनि सहयोग गर्ने रेडक्रस सोसाईटी लमजुङका कार्यक्रम अधिकृत गणेश गौलीले बताउनु भयो । उहाँले भन्नु्भयो, ‘रेडक्रसले परियोजना अन्तर्गत व्यवसायिक बाख्रापालन संगै व्यवसायिक मौरी पालन र कुखुरापलनका लागि पनि तालिम तथा अन्य प्रवर्दनात्मक सहयोग गरेको छ ।’
नेपाल रेडक्रस सोसाईटी दुधपोखरी उपशाखाका अध्यक्ष खेम घलेको अध्यक्षतामा भएको सो तालिमको उद्घाटन सत्र लमजुङ शाखाका कोषाध्यक्ष भिमबहादुर अधिकारी, उपमन्त्री दिपक न्यौपाने, जिल्ला कार्यसमिति सदस्य तिलक दुलाल लगायतको सहभागिता थियो ।
दुधपोखरी गाउँपालिका– २, साविक बिचौरमा पहिलो चरणमा र दुधपोखरी गाँउपालिका– ६, गौँडामा दोश्रो चरणमा तालिम भएको हो । बिचौरमा भएको तालिममा पशु चिकित्सक नारायण कुसुमले सहजिकरण गर्नुभएको थियो । सो तालिममा वडा नम्वर १ र २ का २७ जना कृषकहरुको सहभागिता रहेको थियो । त्यसैगरी दोश्रो चरणमा गौडामा भएको तालिममा वडा नम्वर ३ र ५ अन्तर्गतका १५ जना बाख्रापालक कृषकहरुको भाग लिएका थिए ।

प्रकाशित मिति २०८१ चैत्र १६, शनिबार ०८:३९ गते