स्वागत नेपाल रिहा, रविन्द्र र धवलसहित ४१ जनालाई पाँच दिनको म्याद

स्वागत नेपाल रिहा, रविन्द्र र धवलसहित ४१ जनालाई पाँच दिनको म्याद

एजेन्सी

@antaranganews

२०८१ चैत १६ गते आईतबार ०७:५५

सो प्रदर्शनका कमाण्डर घोषित भएका मेडिकल व्यवसायी प्रसाईं भने अझै फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरी भनाइ छ ।

उक्त अराजक प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र सविन महर्जनको ज्यान गएको हो ।

काठमाडौँ– तीनकुने घटनापछि पक्राउ परेका राजावादी अधिवक्ता तथा राजतन्त्र फर्काउ अभियानका प्रवक्ता स्वागत नेपाललाई रिहा गरिएको छ भने रविन्द्र र धवलसहित ४१ जनालाई पाँच दिनको म्याद दिइएको छ । अदालतमा उपस्थित नगरेरै नेपाललाई चैत १७ गते रिहा गरिएको हो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तथा महामन्त्री धवल शमशेर राणालगायतलाई भने म्याद थपका लागि हतकडी लगाएरै अदालतमा उपस्थित गराइएको थियो ।
तीन दिन अघि गरिएको राजसंस्था पक्षधरको प्रदर्शनमा नदेखिएको भन्दै नेपाललाई रिहा गरिएको बताइएको छ । नेपाललाई हाजिरी जमानीमा छाडिएको हो ।
नेपाललाई राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिका प्रवक्ताको जिम्मेवारी छ ।
जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पाँच दिन थुनामा राख्न अनुमति प्रहरीले चैत १७ गते पाएको छ । उनीहरू पक्राउ परेको दिनदेखि नै त्यो अवधि गणना हुनेछ । अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब उनीहरूलाई १९ गतेसम्म थुनामा राख्न पाउनेछ ।
तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले मिश्र, जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा मुद्दा चलाएको जनाएको छ ।
ती बाहेक अरु ३१ जनालाई आपराधिक उपद्रव र संगठीत अपराधको अभियोगमा म्याद थप्न अदालतमा पेश गरिएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख अपिलराज बोहराका अनुसार, घटनामा संलग्नहरूका बारेमा सरोकारवालाहरूसँग जाहेरी र अरु सूचनाका लागि सार्वजनिक आह्वान भएको छ । उनीहरू सबैलाई पनि पाँच दिनकै म्याद थप भएको छ ।
प्रहरीले करिब एक सय जनाको हाराहारीमा पक्राउ गरे पनि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।
रवीन्द्र र धवललाई छैन विशेष सुविधा :
उनीहरूमाथि प्रहरीले संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवको अरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै म्याद थपका लागि अदालत पेस गरिएका रवीन्द्र र धवलशमशेरलाई अन्य थुनुवासरह नै भेटघाटको समय तोकिएको छ । विशेष सुविधा अदालतले दिएको छैन ।
राजसंस्था पुनस्र्थापना र हिन्दु राज्यसहितका माग गर्दै अराजक प्रदर्शनमा उत्रदा दुईजनाको ज्यान गएको थियो । उक्त अराजक प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको ज्यान गएको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा खटिएको प्रदर्शनकारीले दर्जनौँ घर र गाडी समेत तोडफोड गरेका थिए । सोही आरोपमा मिश्र, सांसद धवलशमशेर लगायत १११ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये ४१ जनालाई आज १७ गते म्याद थपका लागि जिल्ला अदालत पेस गरेको हो । मिश्र र राणा १५ गते राति नै पक्राउ परेका थिए ।
मिश्रलाई हतगडी लगाएरै अदालत पेस :
जिल्ला प्रहरी परिसर काठमाडौैंले राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेता मिश्रलाई हतगडी नै लगाएर अदालत पेस गरेको छ । उनलाई अन्य थुनुवाले प्रयोग गर्ने ज्याकेट समेत पहिराइएको छ । सांसद राणालाई भने हतगडी र ज्याकेट समेत लगाइएको छैन । प्रहरीले अदालत पेस गर्दा दुवैले हात हल्लाउँदै जिल्ला सरकारी वलिक कार्यालय र अदालत प्रवेश गरेका छन् ।
पक्राउ परेदेखिनै राणा र मिश्र दुवैलाई परिसरमा राखिएका अन्य थुनुवासँगै राखिएको छ । खाना समेत उनीहरूले अन्य थुनुवासँगै खाने गरेका छन् । भेट्न आउने नेता कार्यकर्ताहरूलाई पनि अन्य थुनुवासरह नै भेटघाटको समय मिलाइएको स्रोतको भनाइ छ ।
उनीहरूको लागि छुट्टै कुनै विशेष सुविधाको प्रवन्ध गरिएको छैन ।
उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिने वा नदिने भन्नेबारे जिल्ला अदालत काठमाडौंमा आजै बहस भएको थियो । प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमार्फत जिल्ला अदालत काठमाडौंमा १० दिन म्याद थप गर्न माग गरेको थियो । अदालतले अनुमति दिएमा संगठित अपराध मुद्दामा प्रहरीले ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने छ ।
सो प्रदर्शनका कमाण्डर घोषित भएका मेडिकल व्यवसायी प्रसाईं भने अझै फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरी भनाइ छ ।
भाटभटेनीमा लुटपाट गर्नेहरूको परिचय खुल्यो :
यसैबीच, काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्नेहरूमध्ये नौ जनाको परिचय खुलेको छ । राजावादीहरूको प्रदर्शनमा आएकाहरूले सुपरमार्केटमा तोडफोड गर्दै लुटपाट गरेका थिए । लुटपाट गर्नेमा एक जना भारतीय नागरिक पनि रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । सो कार्यालयका अनुसार उनी भारतको बिहार राज्य पटना हाजिपुर घर भइ काठमाडौँ– ३२ कोटेश्वर नरेफाँटमा बस्ने रवि सञ्जनकुमार हुन् । उनले यार्सागुम्बा ब्राण्डको एक थान रक्सी चोरी गरेको खुलेको छ ।
पक्राउ पर्ने अन्य नेपालीहरूमा धनुषाको मिथिला नगरपालिका– ६ ढल्केवर घर भई हाल काठमाडौँको कोटेश्वर– ३२ बस्ने आशिष सिंह, सर्लाहीको बरथहवा नगरपालिका– १६ घर भई हाल कोटेश्वर नरेफाँट बस्ने प्रेमकुमार महत्तो, नुवाकोटको विदुर नगरपालिका– ६ घर भइ कोटेश्वर बस्ने सुशीला कुमाल रहेका छन् ।
त्यस्तै, सुनसरीको धरान घर भई हाल काठमाडौ कोटेश्वर– ३२ बस्ने एलिसा राई, कोटेश्वरको नरेफाँट बस्ने बालकुमारी कार्की, सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका– ८ घर भई हाल कोटेश्वर बस्ने निर्मला कार्की, सिन्धुली तीनपाटन घर भई हाल कोटेश्वर बस्ने चित्र माया बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले भाटभटेनीबाट लुटेर लगेको सामान समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीवृत बानेश्वरमा राखिएको छ ।
अन्य आठ जना नेपालीहरू छन् । उनीहरूले पनि रक्सी, कपडा र कस्मेटिकका सामग्री चोरी गरेको प्रहरी भनाइ छ ।
आरोपितहरूमाथि छानविन चल्दै गर्दा अरु कसुरमा संलग्नता भेटिए त्यसै अनुसार, अदालतमा पेश गरेर म्याद थप हुने सरकारी वकिल कार्यालयका प्रमुख काफ्लेले जानकारी दिनु भएको छ ।
प्रहरीले करिव एक सय जनाको हाराहारीमा पक्राउ गरेपनि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । पक्राउ परेका स्वागत नेपाल लगायतहंरू केहीलाई भने प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।
दोषि ठहर भए कति हुन्छ सजाय ?
मुलुकी अपराध संहिता २०७४को दफा ५०मा राजद्रोहको कसुर बारेमा उल्लेख छ । सो कानुन अनुसार कसुर गरेको ठहर भएका त्यस्ता व्यक्तिलाई २५ वर्षसम्म सजाय हुनसक्ने छ ।
‘नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हातहतियार सहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्न वा त्यस्तो षड्यन्त्र वा उद्योग गर्न वा गराउन वा दुरूत्साहन दिन हुँदैन,’ दफामा भनिएको छ ।
यसैगरी, आपराधिक उपद्रव गर्न नहुने कसुरमा पनि उनीहरूविरूद्ध अनुसन्धान गर्न म्याद थप गर्न माग गरिएको छ । संहिताको दफा २५८ को कसुरको उपदफा १ ‘ग’ अनुसारको कसुर आकर्षित हुने देखिएको हो । सरकारी निकाय वा सम्पत्ति बाहेकका सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनेलाई चार वर्षसम्म कैद र ४० हजारसम्म जरिवाना हुनसक्ने संहितामा उल्लेख छ ।
ऐतिहासिक वा पुरातात्विक महत्वका, कारखाना, बैंक, लगायतमा आगो लगाएमा वा विष्फोट गराएमा जन्मकैदको सजाय र बिगो बमोजिम जरिवाना गर्नसक्ने प्रावधान पनि छ ।
अदालत, संवैधानिक निकाय, सरकारी स्वामित्वमा रहेका संस्था, विदेशी नियोग लागायतमा आगो लगाएमा ५ देखि १२ वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना हुन सक्ने पनि उल्लेख गरेको छ । यदि कसैको घर, कार्यालय वा कुनै सम्पत्तिमा आगो लगाउनेलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद र २० हजार देखि ५० हजारसम्म जरिवाना गर्ने पनि उल्लेख गरेको छ ।
यसरी आपराधिक उपद्रव गरी नोक्सानी पु¥याउनेको बिगो बराबरको क्षतिपूर्ति पनि आरोपीबाटै पीडितलाई भराउनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति २०८१ चैत्र १७, आईतवार १९:५५ गते
हजुरको प्रतिक्रिया