काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले यो सरकारले जिउँदै छोड्नु नै आफ्नो जित भएको बताउनु भएको छ । वर्तमान सरकारप्रति आक्रोश व्यक्त गरेका सभापति रविले दुईतिहाइको सरकारले जिउँदै छोड्नु नै आफ्नो जित भएको चैत १८ गते बताउनु भएको हो ।
केन्द्रीय कार्यालयमा पाँच महिनापछि पार्टीको बैठकमा सहभागी हुन पुग्नु भएका सभापति रविले सरकारले झुठा मुद्दा लगाएर आफूलाई सिध्याउन खोजेको बताउँदै त्यस्तो खुलासा गर्नु भएको हो । ‘राजनीतिक प्रतिशोध र यातना कस्तो हुन्छ भन्ने पीडादायक अनुभूति राज्यले गरायो’ भन्ने उहाँको ब्रिफिङ थियो ।
मेरो परिवार र वलिकलाईसमेत थाहा नदिई दासढुंगाको बाटोबाट मध्यरात मलाई किन लगियो ?’ सरकारको नियतप्रति आशंका गर्दै भन्नुभयो, ‘जुन सुकै परिस्थितिको सामना गर्ने गरी म राजनीतिमा आएको हुँ । त्यसैले हार मान्ने छैन ।’ केन्द्रीय समितिको बैठक सुरु हुनअघि उहाँले कार्यालय परिसरमा आफ्ना धारणा राख्ने क्रममा त्यस्तो बताउनु भएको हो ।
सभापति रविले आफूमाथि सरकारले थालेको षड्यन्त्रको सिलसिला नरोकिएको समेत उल्लेख गर्नुभएको छ । उहाँले सम्बोधन गर्दै सरकारले अहिले पनि आफूमाथि षड्यन्त्र गरिरहेको बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘पाँच महिनाअघि सरकारले जबरजस्ती झुठा मुद्दा लगाएर यहीँबाट उठाएर लगेको थियो । सरकारको षड्यन्त्रको सिलशिला सकिएको छैन, तर म जुनसुकै परिस्थितिको सामना गर्न तयार छु ।’
भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरूले आफूलाई जोगाउन वर्तमान सरकार गठन गरेको उल्लेख गर्दै उहाँले कांग्रेस एमाले मिलेर सरकार बनाउँदा संसद्मा बलियो सशक्त सरकार बन्ने सम्भावना अन्त्य भएको बताउनु भयो ।
सरकारले आफ्नो टाउकोमा तरबार झुन्ड्याएर तह गलाउन खोजे पनि आफू नगल्ने उल्लेख गर्दै भन्नुभयो, ‘सरकारलाई लागेको होला टाउकोमा तरबार झुन्ड्यायो भने यो डराउँछ । तर, म जुन सुकै परिस्थितिसँग जुध्न तयार छु । सरकारले मेरो शीरमाथि राखेको तरबार खसालोस्, म लड्न तयार छु, लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाक्षी मान्छे म होइन ।’
उहाँले थप भन्नुभयो, ‘म आगो कहाँ बल्ला र तापौंला भनेर बसेको मान्छे होइन, जनतामा आक्रोश आएको छ । त्यसलाई चिनुपर्ने छ, बदलनुपर्नेछ । हामीले घण्टी बजायौँ । २१ जना संसदनमा आएपछि सच्चिए होलान् भन्ने लागेको थियो, तर यिनीहरूले चेतेनन् ।’
‘तपाईंले दिनुभएको माया र विश्वासलाई बेचेर खान्न, सत्ताले सुनोस्– ‘रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्री पद त्यागेर कैदी हुन मञ्जुर भएको मान्छे हो, प्रधानमन्त्री भएर सिंहदरबारमा फोटो टाँसिन्थ्यो होला त्यसले फरक पर्दैन । यिनीहरूसँग शिर झुकाएको भए मन्त्री, प्रधानमन्त्री हुन्थेँ होला, सरकार पनि ढल्दैनथ्यो होला, तर ज्यान जाला यिनका अघि शिर झुकाउँदिनँ ।’ भन्नुभयो ।
रास्वपालाई गणतन्त्र र लोकतन्त्रवादी होइनौं कि ! भनेर हिलो छ्याप्ने काम भएको स्मरण गर्दै भन्नुभयो, ‘जनता र परिवर्तनको पक्षमा रास्वपा छ, तपाईंको कित्तामा फोटो खिचाउने रहर छैन ।’
रास्वपालाई फुटाउन सकिन्छ कि भनेर केही लागिपरेको समेत उहाँले उल्लेख गर्नु भएको थियो ।
‘रास्वपालाई कमजोर पार्न सकिन्छ कि विभाजित गर्न सकिन्छ कि भनेर मानिसहरू लागिरहेका छन्, यो सरकारलाई के चाहिएको हो ? दुइटा ठूला दल मिलेर बनेको सरकार सफल हुनेवाला छैन, दुइटा चोर मिलेर साधु हुँदैन ।’ उहाँले ठोकुवा गर्नु भयो ।
जनतामा आएको आक्रोशलाई बदल्नुपर्नेमा जोड दिदै उहाँले अहिले लोकतन्त्र बचाउने हो भने दह्रो प्रतिपक्ष आवश्यक परेको समेत उल्लेख गर्नुभयो । गणतन्त्र जनताको तन्त्र हो भन्ने झन्डा आफूहरूले बोक्ने पनि बताउनु भएको छ ।
पहिलो महाधिवेशन वैशाखमै :
अर्को एक प्रसङ्गमा सभापति रविले वैशाखमै पहिलो महाधिवेशन हुने जनाउनु भएको छ ।
पार्टीको जिम्मेवारीमा फर्किएपछि केन्द्रीय समितिमा आफ्नो धारणा राख्दै राष्ट्रिय परिषद्को पहिलो बैठकले तय गरेको मिति (२०८२ वैशाख २५, २६, २७) मै महाधिवेशन हुने बताएका हुन् ।
त्यहीअनुसार तयारी गर्न निर्देशन पनि दिदै उहाँले अरू दलमा अवसर नपाएर मात्रै आउने ठाउँ राष्ट्रिय स्वतन्त्र पार्टी नभएको र यो देश बनाउनको लागि एक ठाउँमा आएर अभियानमा लाग्ने पार्टी भएको दोहोर्याउनु भयो ।
यद्यपि महाधिवेशनका लागि गर्नुपर्ने आधारभूत कामसमेत पार्टीले गरेको छैन । अहिलेसम्म ७५३ मध्ये ५ पालिकामा मात्र अधिवेशन सम्पन्न गरेको छ ।
‘मैले के गर्नुपर्छ भन्नुस्, १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्, म पार्टीको लागि २४ घण्टा खट्न, सयौं किलोमिटर हिँड्न तयार छु,’ सभापति रविको भनाइ उद्धृत गर्दै कार्यवाहक प्रवक्ता मनिष झाले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय भेलाबाट घोषणा गरेकै समयमा प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आयोजना गर्ने प्रतिबद्धता सहितको निर्देशन दिन चाहन्छु ।’
गणतन्त्रमा पनि सुधार आवश्यक रहेको औंल्याउँदै सभापति रविले गणतन्त्र भनेको ‘ओली तन्त्र र देउवा तन्त्र’ होइन, गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौं भन्नुभयो । उहाँले थप भन्नुभयो, ‘यहाँ सबै व्यवस्थाको उत्कृष्टताको परीक्षा दिनुपर्छ, दिएको छ । केही पास भएको छ, केही फेल भएको छ । हालको संविधान र व्यवस्था अन्तर्गत सुधारिएको अभ्यास र आवश्यक परिणामको लागि र यसलाई पास गराउन अब हामी नेतृत्व लिनेछौं ।’
राष्ट्रिय स्वतन्त्र पार्टी, यो देश बनाउने अभियान हो :
यो सबैको लागि म सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान चाहन्छु, यसको लागि सबैलाई तयार रहन भन्न चाहन्छु । अरू दलमा अवसर नपाएर मात्रै आउने ठाउँ हैन राष्ट्रिय स्वतन्त्र पार्टी, यो देश बनाउनको लागि एक ठाउँमा आएर अभियानमा लाग्ने पार्टी हो ।
आउने चुनावमा राम्रा उम्मेदवार उठाएर जहाँ उम्मेदवारी दियो त्यहीँ जित्ने गरी तयारी थाल्नुपर्नेमा जोड दिदै उहाँले आफूले उम्मेदवारी नदिएर पनि अरूलाई ठाउँ दिने उहाँको दाबी थियो ।
सभापति पदमा पुनः सक्रिय हुन उहाँलाई पार्टी कार्यालय पुग्दा नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
प्रकाशित मिति २०८१ चैत्र १८, सोमबार २०:२५ गते