काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला राजा बिनाको हिन्दुराष्ट्रको पक्षमा देखिनु भएको छ । उहाँले संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पटक पटक अवसर दिँदा समेत सत्ताको दुरुपयोग गरेको भन्दै चैत १८ गते त्यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
उहाँले फेरि अवसर दिँदा राज्यसत्ताको दुरुपयोग नगर्ने कुनै ग्यारेन्टी नभएकोले राजाको कुनै आवश्यकता नरहेको उल्लेख गर्नुभयो । व्यवस्थालाई कसरी अगाडि बढाउने भन्नेबारे जनताले निर्णय गर्ने उहाँको धारणा छ । आफू हिन्दुराष्ट्रको पक्षमा रहेको उहाँले स्पष्ट्याउनु भएको थियो ।
संक्षेपमा उहाँले भन्नुभयो, ‘राजालाई हामीले पटक पटक मौका दियौँ, अवसर दियौँ । उसले दुरुपयोग ग¥यो । अब के ग्यारेन्टी छ कि उसले दुरुपयोग गर्दैन ? त्यसैले अब राजा हामीलाई चाहिँदैन । म चाहीँ हिन्दुराष्ट्रको पक्षमा छु ।’
नेता कोइरालाले तीनकुने घटनामा भीड उक्साउने काम राजावादी पक्षबाट भएको भन्दै कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति २०८१ चैत्र १९, मंगलवार ०६:५७ गते