काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त र बर्खास्तामा परेका हितेन्द्र शाक्य र कुलमान घिसिङको रिटको सुनुवाइ आज पनि सकिएन । सो विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेका दुवै रिट चैत १९ गते हेर्दाहेर्दैमा राखिएका छन् ।
न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाई भएको थियो । तर सुनुवाई पूरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले कुलनमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध चैत १३ गते घिसिङ गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिनु भएको हो । सो सुनुवाइले भोलि पनि निरन्तरता पाउने भएको छ ।
आज कुलमान र हितेन्द्रदेवको रिटलाई विशेष प्राथमिकता दिई सुनुवाई भएको थियो । चुडाल र पाण्डेयको इजलासमा ४२ वटा मुद्दाको पेसी तोकिएकोमा २ रिटमाथिको सुनुवाइलाई प्राथमिकतामा राखी इजलासले ३४ मुद्दाका रिटमाथिको पेसी ‘हेर्न नभ्याइने’मा पठाएको थियो । बाँकी ६ वटा रिट हेर्न नमिल्नेमा परेका थिए ।
परस्पर फरक माग राखेर गएका घिसिङ र शाक्यको मुद्दालाई सर्वोच्चले एक साथ राखेर सुनुवाइ गरेको हो । यसअघि चैत १७ गते दुवै जनाको रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको संयुक्त इजलासमा परेपनि हेर्न नमिल्ने परेको थियो ।
शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिबेला रिट दायर गर्नु भएको थियो । सो रिटमा कुनै निर्णय नभई चार वर्ष बितेपछि उहाँले हालको कुलमानको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर गर्दै अर्को रिट दायर गर्नु भएको हो ।
त्यसअघि चैत्र १५ गते अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटमा ‘कारण देखाऊ’ आदेश दिँदै अन्तरिम आदेशको छलफलका लागि उपस्थित हुन आदेश भएको थियो ।
प्रकाशित मिति २०८१ चैत्र १९, मंगलवार १८:०१ गते