सरकारद्वारा राजसंस्था पक्षधरको प्रदर्शनमा भाग नलिन अपील

सरकारद्वारा राजसंस्था पक्षधरको प्रदर्शनमा भाग नलिन अपील

एजेन्सी

@antaranganews

२०८१ चैत १८ गते मङ्गलबार ०६:१९

उक्त घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन्, यसअघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय सरकारका प्रवक्ता एवम् मन्त्री गुरुङले बताउनु भयो ।

काठमाडौँ– सरकारले राजावादीहरूको समूहले आयोजना गर्ने कुनै प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राजसंस्था पक्षधरको प्रदर्शनमा सहभागी नहुन सरकारले अपील गरेको चैत १९ गते बताउनु भएको हो ।
गत शुक्रबार(चैत १५ गते) तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार सरकारले गर्ने निर्णय भएको जानकारी दिनु हुँदै उहाँले भन्नुभयो, ‘तीनकुने घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न र अगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ । साथै, यस किसिमको अराजक गतिविधिहरूमा संलग्न नहुन आम नागरिकहरूमा नेपाल सरकार हार्दिक अपील गर्दछ ।’
घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय सरकारका प्रवक्ता एवम् मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनःस्थापनाका लागि गत तीनकुनेमा चैत १५ गते प्रदर्शन भएको थियो । सो प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई जनाको घट्नास्थलमै मृत्यु भएको थियो ।
थप २४ जनालाई पक्राउ :
यसैबीच, प्रहरीले काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ । यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले बताउनु भयो । उहाँका अनुसार उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । उहाँले भन्नुभयो, ‘उक्त घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन्, यसअघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।’

प्रकाशित मिति २०८१ चैत्र १९, मंगलवार १८:१९ गते
हजुरको प्रतिक्रिया