काठमाडौं– तीनकुनेमा भएको प्रदर्शनमा हत्या गरिएका पत्रकार सुरेश रजकको पोष्टमार्टम घट्नाको चौथो दिनमा पनि हुन सकेको छैन । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले मृतकको शरिरको पोर्टेबल एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने अडान लिएका कारण चैत १९ गते पनि उनको पोष्टमार्टम हुन नसकेको हो ।
रजकका परिवारले घटना अनुसन्धान गर्न जाहेरी दिएसँगै प्रहरीले सो पोष्टमार्टम प्रक्रिया अघि बढाउन अस्पताल प्रशासनलाई आग्रह गरेको छ । तर, पत्रकार रजकलाई गोली लागेको हल्ला फैलिएपछि चिकित्सकहरूले एक्सरे गरेर मात्र पोष्टमार्टम थाल्ने अडान लिएका हुन् ।
पोर्टेबल एक्सरे मेशिन त्रिवि शिक्षण अस्पतालमा नभएको र अन्यत्र खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले जनाकारी दिए ।
चैत १५ मा समाचार संकलन गर्ने क्रममा रजकको आगो लगाइएकै घरभित्र चेनल गेटमा चाल्चा लगाइदिएका कारण जलेर मृत्यु(हत्या) भएको थियो । आगजनी गरिएको घरमा मृत भेटिएका रजकको शरिरमा गोली नलागेको दावी गर्दै सामाजिक सञ्जालमा रजकलाई गोली लागेको ‘अफवाह’ फैलाइएको एक प्रहरी अधिकृतले बताएका छन् ।
प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनमा धेरैलाई गोली लागेको आशंका गरिएको छ । तर, त्यहाँ के कति संख्यामा गोली चलेको थियो भन्नेबारे प्रहरीले अझै एकिन तथ्यांक सार्वजनिक गरेको छैन । ‘खर्च भएको गोलीको विवरण संकलन गर्दैछौं ।’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताएबाट सो तथ्यको उजागर भएको हो ।
प्रकाशित मिति २०८१ चैत्र १९, मंगलवार २०:४२ गते