बेसीशहर(लमजुङ)– मर्स्याङदी गाउँपालिका– ६ को बाहुनडाँडा स्थित ऐतिहासिक महत्वको देवी थान मन्दिरको पुनःनिर्माण पुरा भएको छ । सो मन्दिरका बारेमा जानकारी दिन देवीथान संरक्षण समितिले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी चैत २२ गते जानकारी दिएको हो ।
उक्त मन्दिरको ऐतिहासिक महत्व, महिमा, पुनःनिर्माण कार्यका बारेमा देवीथान संरक्षण समितिका अध्यक्ष मनिप्रसाद गुरूङले प्रेस विज्ञप्तिमार्फत पत्रकारहरूलाई जानकारी दिनु भएको हो । उहाँले सो मन्दिरको पुनःनिर्माण कार्यका लागि विभिन्न निकाय तथा देश विदेशमा रहनुभएका चन्दादाताहरूबाट हालसम्म ५६ लाख ९१ हजार एक सय ७० रुपैयाँ संकलन भएको तथा त्यस्तो सहयोग रकम संकलन कार्य अहिले पनि जारी रहेको बताउनु भयो । उहाँका अनुसार उक्त मन्दिरको पुनःनिर्माणका लागि ३१४ जना चन्दादाताबाट सो रकम संकलन भएको हो । उहाँले भन्नुभयो, ‘आजका मितिसम्म सबैभन्दा बढी चन्दा दिनु हुने दाताको रुपमा विष्णुहरि घिमिरे रहनु भएको छ । हाल अमेरिकामा रहनु भएका उहाँले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ प्रदान गर्नु भएको छ भने न्युनत्तम दुई हजार पाँच सय रुपैयाँ चन्दा प्राप्त भएको छ ।’ सो मन्दिरका लागि कम्तिमा पाँच हजार रुपैयाँ प्रदान गर्ने दाताको नाम ताम्रपत्रमा लेख्ने समितिको योजना छ उहाँले जानकारी दिनुभयो ।

सो मन्दिरमा रहेको एक पुरानो घण्टीमा विसं १८२५ मा निर्माण गरिएको उल्लेख भएको मन्दिर संरक्षण समितिका अध्यक्ष गुरूङले जानकारी दिनुभयो । त्यसैले यहाँ स्थित सो देवीथानको ऐतिहासिक संरचनालाई यथावत राखी दिगो र आकर्षक रूपमा मन्दिर पुनःनिर्माण गरी पुजाआजा लगायत धार्मिक कार्यलाई अविच्छिन्न राख्नको लागि आवश्यक प्रबन्ध गर्ने, देश विदेशमा रहेका धार्मिक तथा अन्य पर्यटकहरूलाई आकर्षित गराइ पर्यटनमा टेवा पुर्याई यस क्षेत्रका बासिन्दाको आर्थिक उन्नतिमा टेवा पुर्याउने उद्देश्य रहेको सो मन्दिर संरक्षण समितिका अध्यक्ष गुरूङले जानकारी दिनुभयो ।

सो अवसरमा त्यसरी संकलन भएको रकम मन्दिरको पुनःनिर्माण तथा यसलाई पर्यटकीय स्थलका रूपमा विकास गर्नका लागि हालसम्म ५६ लाख ५५ हजार छ सय ६४ रुपैया खर्च भइसकेको समितिका अध्यक्ष गुरूङले उल्लेख गर्नुभयो । उहाँका अनुसार २०४६ सालमा दिङदिङका खुशबहादुर गुरुङले मर्मत गर्नुभएको र सो मन्दिर २०७२ सालको बैशाखमा गएको भुकम्पले क्षतिग्रस्त बनाएपछि हाल २०८१ सालमा स्थानीयवासीहरूको पहल र सहयोगमा वर्तमान मन्दिरको पुनःनिर्माण भएको हो ।
सो मन्दिर बाहुनडाँडाको पश्चिमतर्फ रहेको छ । यस मन्दिरको कुल क्षेत्रफल करिब एक रोपनी रहेको र पुनःनिर्माण गर्दा मन्दिर हाताले मात्र बाह्र आना जग्गा ओगटेको जानकारी दिइएको थियो । उक्त मन्दिरको डिजाइन तथा निमार्ण कार्यमा अनुमानित ३० लाख रूपैया खर्च भइसकेको छ । मन्दिर जाने उपयुक्त बाटोको अभावका कारण मन्दिर निर्माण गर्दा निर्माण सामग्रीको ढ्ुवानीमा मात्र सात लाख रूपैया खर्च भएको देवीथान संरक्षण समितिले जनाएको छ ।

यस मन्दिरको ऐतिहासिक महत्वको बारेमा प्रकाश पार्दै गजाधर घिमिरेका जेष्ठ सुपुत्र कुशुमाकर घिमिरेले करिब १५१० मा निर्माण गर्नु भएको अनुमान गरिएको छ । लमजुङको भीरपुस्तुन अर्थात हालको बाहुनडाँडामा जन्मनु भएका कुशुमाकर तत्कालीन लमजुङ राज्यको स्थापना गर्ने योजनाकार, नेपालको सूर्य चन्द्र अंकित झण्डाको तर्जुमाकार राजनीतिज्ञ, ज्योतिषविद, कुशल प्रशासक हुन्ुका साथै लमजुङका राजा यशोब्रहम शाहबाट श्री ३ को पदवीद्वारा सम्मानित हुनुहुन्थ्यो । उहाँले आफ्नो बासस्थान रहेको गाउँको चार कुनामा चार देवी स्थापना गरी पूजाको चलन चलाई आउनुभएको रहेछ । तीमध्येकी एक देवी यिनै हुन भन्ने मन्दिरमा रहेको एक पुरानो घण्टामा लेखिएको अभिलेखबाट प्रष्ट हुने समितिका अध्यक्ष गुरुङले जानकारी दिनु भयो ।
यस मन्दिरमा बर्षेनी उद्यौली, उभौली पर्व तथा नयाँ बर्षको बेलामा पुजा गरिने तथा भक्तजनले आफ्ना इच्छा तथा कामना पूर्ति भएपछि भाकलको रुपमा पाठी र परेवाको मात्र बली दिने चलन रहेको तर बोकाको बली नचल्ने पनि समितिले जनाएको छ ।
उक्त मन्दिर निर्माण कार्यसँगै मन्दिर परिसरमा प्रतिक्षालय, शौचालय, मन्दिर परिसरमा प्रवेश गर्नका लागि गेट, पोखरी लगायतका संरचनाहरू अवश्यकता अनुसार निर्माण गरिएको छ । तर गाउँबाट मन्दिरसम्म जान बृद्ध, अशक्त मैत्री बाटो तथा वनभोज स्थल निर्माण लगायतका काम गर्न अझै बाँकी रहेको देवीथान संरक्षण समितिका अध्यक्ष गुरूङले बताउनु भयो ।
समितिका सचिव विश्वराज घिमिरेले मन्दिरको महिमाका बारेमा प्रकाश पार्नु हुँदै पाका पुराना मानिसका अनुसार देवी बाघमा चढेर आएको बाघको गर्जनले सुन्ने, देख्ने गरेको सुनाउनु हुन्छ । त्यस्तै, २०४६ सालमा मन्दिरको पुनःनिर्माण गर्नु हुने दिङदिङका खुशबहादुर गुरुङ भारतीय सैनिक भएर पेन्सन आउँदा समेत कुनै सन्दान नभएपछि बृद्ध उमेरमा सो मन्दिर निर्माण गरी दोस्रो विवाह गरेपछि दुई छोरी र एक छोराको जन्म भएको र त्यो देवीकै बरदारबाट हो भन्ने किम्बदन्दी आज पनि सुन्न पाइन्छ घिमिरेले भन्नुभयो ।

त्यस्तै, हिजोका दिनमा अन्नपूर्ण चक्रीय पदमार्गमा रहेको बाहुनडाँडा ऐले बेसीशहर– चामे सडक मर्स्याङदी पारीबाट निर्माण हुँदा हिजोको बाहुनडाँडाको साख रहेन । पर्यटनको आवागमन नहुँदा होटल व्यवसायमात्र सुस्ताएको छैन गाउँलेले बनाएको तरकारी, अण्डा, लौरो आदि समेत विक्न छाड्यो र आर्थिक गतिविधिमा मन्दि आएको स्थिति छ हामी त्यसको पुनस्थापना गर्छौ, त्यसका लागि पुरिएको तातोपानीको पनि पुनः उत्खनन गर्ने योजना छ सचिव घिमिरेले जानकारी दिनुभयो ।
उक्त मन्दिरको उद्घाटन आउँदो नयाँबर्ष २०८२ को सन्दर्भमा बैशाख ५ गते गर्ने तयारी गरिएको सो मन्दिर समितिका कोषाध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त देवी मन्दिर पुनःनिर्माणका लागि देवीथान संरक्षण समिति २०८० सालको भदौ २४ गते गठन गरिएको थियो भने यस मन्दिरको शिलन्यास २०८१ साल मंसिर ६ गते गरी निर्माण गरिएको हो ।
सो अवसरमा पत्रकारहरूले राखेका जिज्ञासाको अध्यक्ष मनिप्रसाद गुरुङ, सचिव घिमिरे तथा कोषाध्यक्ष विनोद गुरुङ र कार्यकारी सदस्य विष्णु गुरुङले जवाफ दिनु भएको थियो ।
उक्त मन्दिरको ऐतिहासिक महत्वका बारेका प्रकाश पार्न तथा मन्दिरको पुनःनिर्माण भइ धार्मिक पर्यटन प्रवद्र्र्धनका लागि आयोजना गरिएको उक्त पत्रकार भेटघाट कार्यक्रम देवीथान संरक्षण समितिका अध्यक्ष मनिप्रसाद गुरूङको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव विश्वराज घिमिरेले गर्नुभएको सो समितिका सदस्य विष्णु गुरुङले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०८१ चैत्र २२, शुक्रबार २०:५५ गते