काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ममाथि अन्याय भयो तर पनि आफूले अदालतको सम्मान गर्दै गिरफ्तारी दिने भएको तर भोलि चितवनमा आयोजना गरिएको कार्यक्रम नरोक्न पनि पार्टी पंक्तिलाई आग्रह गर्नु भएको छ । उहाँले गिरफ्तारी दिनु अघि ममाथि अन्याय भयो तर आजै गिरफ्तारी दिंदैछु चैत २२ गते भन्नुभएको हो ।
उहाँका विरुद्धमा राज्यद्वारा भिराइएको संगठित रुपमा सहकारी ठगी गरेको उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएको हो । रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएकोमा त्यसलाई बदर गर्दै न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्लाको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेको बताइएको छ ।
आज शुक्रबारको दिनमा पनि रातारात गरेर गिरफ्तारीको तानाबाना बुन्नु सुनियोजित भएको प्रष्ट भएको रास्वपा स्रोतले बताएको छ ।
उहाँले आफूमाथि ठूलो अन्याय भएको दोहोर्उँदै भन्नुभयो, ‘ममाथि ठूलो अन्याय भएको छ । तर भोलि चितवनमा आयोजना गर्न लागेको कार्यक्रम नरोक्नु होला ।’
लामो समय स्रेस्तेदार भएका एक उपसचिवले उच्च अदालतको आदेश सम्बन्धित जिल्ला अदालतमार्फत् कार्यान्वयन हुने बताउनु भएको छ । उहाँका अनुसार सामान्यतयाः अदालतको आदेशमा थुनामुक्त भएका आरोपितहरूलाई पक्राउ गर्न अदालत प्रशासन ‘प्रो–एक्टिभ’ हुँदैन । उहाँले भन्नुभयो, ‘अपवादयुक्त अवस्थामा मात्रै जिल्ला अदालतमा पुगेको आदेश अनुसार व्यक्तिलाई पक्राउ गरिन्छ ।’
प्रहरीले पक्राउ नगरेको अवस्थामा तारेखको मितिसम्म बाहिर बस्दा रविमाथि कुनै प्रश्न भने नउठ्ने ती स्रेस्तेदारको भनाइ छ ।
उच्च अदालत बुटबलका सूचना अधिकारी रामबहादुर कुँवरले राती भइसकेकाले आदेशको विवरण आफूले प्राप्त नगरेको बताए । उनले भने, ‘त्यो आदेश सम्बन्धित जिल्ला अदालतमा जान्छ, त्यसपछि मात्रै आरोपितलाई औपचारिक रुपमा जानकारी हुने हो ।’
आदेशको विवरण प्राप्त नहुञ्जेल केही भन्न नसकिने प्रहरी प्रवक्ता दिनेश आचार्यले बताउनु भयो । उहाँका अनुसार अदालतको आदेशमा के लेखिएको छ, त्यो हेरेर पक्राउ गर्ने वा नगर्ने भन्ने हुन्छ । आदेशविरुद्ध सर्वोच्च अदालत जाने ठाँउ बाँकी रहेकाले पूर्ण विवरण अध्ययन नगरी भन्न सकिन्न ।
यो सबैका बावजुत रवि आफैले भन्नुभयो, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिंदैछु, न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढक्याउँछु ।’
अदालतले गर्नसक्ने यस्तो आदेशबारे लामिछानेले यसअघि नै पार्टीलाई जानकारी गराउँदै शंका व्यक्त गरेको खुलेको छ । रविले पार्टी बैठकमा ‘अदालतले जे पनि गर्न सक्छ ।’ भनेबाट त्यस्तो पुष्टि हुन्छ ।
रास्वपा केन्द्रीय सदस्य राजन गौतमले भन्नुभयो, ‘केन्द्रीय समितिको बैठकमा पनि पार्टी सभापतिले अदालतले जे पनि गर्न सक्छ, म नभए पनि कार्यक्रम गर्नुस् भन्ने निर्देशन थियो ।’
चितवनमा भोलि (२३ गते) चितवनमा जनयात्रा कार्यक्रम उद्घाटन गर्दैछ । सो कार्यक्रमको उद्घाटन सभापति रविले गर्ने तयारी थियो ।
यसैबीच, केही सादा पोशाकका र अन्यसहित प्रहरीहरू रविको घर पुगेर उहाँलाई पक्राउ गरेको रास्वपा एक नेताले बताए ।
अदालतको आदेशबाट सभापति गिरफ्तार भएपछि भावी योजना तय गर्न छलफलमा जुटेको कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिनु भयो ।
प्रकाशित मिति २०८१ चैत्र २२, शुक्रबार २३:१४ गते