वरिष्ठ पत्रकार रिसालको निधन

वरिष्ठ पत्रकार रिसालको निधन

एजेन्सी

@antaranganews

२०८१ चैत २४ गते सोमबार ०६:५९

७० वर्ष पत्रकारितामा बिताएका पाका अनुहार– हुनुहुन्थ्यो उहाँ । जयतु संस्कृतमदेखि माओवादी नेतृत्वको सशस्त्र संघर्षलाई आँखैले नियालेका रिसाल राजनीतिक उतारचढावको ‘इन्साइक्लोपेडिया’ हुनुहुन्थ्यो ।

पत्रकारितामा निवृत्त हुने उमेर हद हुँदैन भन्ने ज्वलन्त उदाहरण हुनुहुन्थ्यो वरिष्ठ पत्रकार भैरव रिसाल ।

काठमाडौ– वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनुभएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा गए राती निधन भएको हो । उहाँ ९७ वर्षका हुनुहुन्थ्यो ।
२०१३ सालमा हालखबर दैनिकबाट पत्रकारिता थालेका रिसालले २०५६ सालदेखि रेडियो सगरमाथामा ‘कुरोकन्थो’ कार्यक्रम चलाउनुहुन्थ्यो । त्यस बाहेक उहाँले सोही रेडियोमा लामो समयसम्म ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला पनि सञ्चालन गर्नुभएको थियो ।
वरिष्ठ पत्रकार रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गर्नुभएको थियो ।
पत्रकारितामा निवृत्त हुने उमेर हद हुँदैन भन्ने ज्वलन्त उदाहरण हुनुहुन्थ्यो उहाँ ।
उहाँले त्यो बेलामा भन्नुभएको थियो, ‘मेरो कानले पनि मद्दत गर्न छाड्यो । मुखले पनि मद्दत गर्न छाड्यो । वाक्य बीचमै अड्किन्छ । अस्ति के–के बोलेँ, बोलेँ । छोरीले एउटा आर्टिकल (लेख) लेखेकी थिई । त्यसले गर्दा यो ठिक होइन । भनेको कुरा स्पष्ट गर्न नसक्ने अवस्थामा गएँ,’ कार्यक्रमकै बीच उहाँले आफ्नो गह्रुँगो यथार्थ चित्रण गर्नु भएको थियो ।
उहाँले भन्नुभएको थियो, ‘उमेर लाग्यो, बूढो भयो जस्तो लाग्दो रहेनछ! त्यसले गर्दा मेरो आज अन्तिम दिन हो । म क्षमा चाहन्छु । आजसम्म चलाएर आएँ । त्यसले गर्दाखेरि, यसमा मलाई गर्व छ । मेरो कुरा धेरै जनाले सुन्नुहुन्थ्यो । मलाई फोन गर्नुहुन्थ्यो । मलाई प्रोत्साहित गर्नुहुन्थ्यो । उहाँहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।’
सो कार्यक्रममा त्यसअघि उहाँले भन्नुभएको थियो, ‘एउटा कुरा, म आजबाट ९६ वर्ष पूरा गरेँ । ९७ वर्षमा हिँडेँ । कति धेरै बाँच्या ! ९६ वर्ष पूरा भयो भन्या त धेरै वर्ष बाँच्यो । म सामान्य अर्थतन्त्र भएको घरमा जन्मिएको हो । मेरो यो कुरोकन्थो रेडियो कार्यक्रम आजबाट अन्तिम हो जस्तो लाग्छ मलाई ।’
यत्ति भन्न पनि निकै सकस परेको थियो भैरव रिसाललाई ।
७० वर्ष पत्रकारितामा बिताएका पाका अनुहार– हुनुहुन्थ्यो उहाँ । जयतु संस्कृतमदेखि माओवादी नेतृत्वको सशस्त्र संघर्षलाई आँखैले नियालेका रिसाल राजनीतिक उतारचढावको ‘इन्साइक्लोपेडिया’ हुनुहुन्थ्यो ।
रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् । रिसालले ९७औँ जन्मदिनका अवसरमा गएको साउनमा ‘भैरव रिसालका छानिएका रचना– २’ तथा ‘बितेका कुरा’ र ‘अविश्रान्त भैरव’ कृति सार्वजनिक गर्नुभएको थियो ।
वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमचुनावमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बन्नुभएको थियो ।
वरिष्ठ पत्रकार रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ । दर्जनौं सम्मान पुरस्कार प्राप्त गर्नु भएका उहाँ स्वतन्त्र पत्रकार संघ नेपालद्वारा क्रियाशील पत्रकारिता पुरस्कारबाट समेत सम्मानित हुनुहुन्थ्यो ।
उहाँको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै निधनपछि आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गर्नुभएको थियो । त्यसै कारण उहाँको शव पाटन अस्पताललाई दिइएको र दाहसंस्कार नहुने परिवारजनले जनाएको छ ।
उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रकाशित मिति २०८१ चैत्र २५, सोमबार ०६:५९ गते
हजुरको प्रतिक्रिया