काठमाडौँ– कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजा फर्काउन सहयोग नरहने दाबी गर्नु भएको छ । गणेशमान सिंह फाउण्डेसनले यहाँ आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पु¥याउनुभएको योगदान’ विषयक गोष्ठीमा देउवाले चैत २५ गते त्यस्तो बताउनु भएको हो ।
सभपाति देउवाले नेपालमा प्रजातन्त्र स्थापना गर्नमा समेत भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको स्मरण गर्नु भयो । नेपालमा गणतन्त्र स्थापना भएको धेरै वर्ष नभएको भन्दै सभापति देउवाले राजनीतिक दलहरूले मिलेर यसलाई मजबुत बनाउन जरुरी रहेको उल्लेख गर्नु भयो ।
उहाँले नेपालमा राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो रहेको दावी गर्नु भयो । उहाँले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टिकरण दिइसकेकोसमेत स्मरण गर्नु भयो ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएको र भोलिका दिनमा पुनः प्रधानमन्त्री बन्ने लाइनमा रहनु भएका सभापति देउवाले आदित्यनाथले राजा फर्काउने अभियान नरहेको बताएको भारत नेपाल, गणतन्त्र र प्रजातन्त्रको पक्षमा रहेको स्पष्ट भएको उल्लेख गर्नु भयो ।
देउवाले भन्नुभयो, ‘उहाँले नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि धेरै ठूलो सहयोग गर्नुभएको छ, ठूलो योगदान छ । उबेला भारतले नेपालमा कहिल्यै प्रजातन्त्र चाहँदैन भन्ने थियो । चन्द्रशेखरजी आएपछि प्रजातन्त्रको खिलापमा छैन भारत भन्ने पुष्टि भयो । त्यसपछि त हामीले ठूलो आन्दोलन गरेर गणतन्त्र समेत ल्यायौं । अहिले फेरि राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला पनि छ । यहाँ आदित्यनाथको फोटो समेत छापियो । तर मलाई के थाहा छ भने आदित्यजीले भारतमा जुन हाम्रो दूतावास छ त्यहाँ गएर मेरो कुनै हात छैन । नेपाली जनताले जे चाह्यो त्यही हुन्छ । म राजा ल्याउने पक्षमा छैन भनेर आफैँले भन्नुभएको छ । त्यस कुराले हामीलाई के लागेको छ भने भारत नेपालसित छ, गणतन्त्रसित छ, प्रजातन्त्रसित छ ।’
प्रकाशित मिति २०८१ चैत्र २५, सोमबार १७:२० गते