काठमाडौँ– काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा भएको अपराधबारे अनुसन्धान गरिरहेको प्रहरीले अभिनेत्री समेत रहेकी एनी कुँवरलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री कुँवरलाई चैत २५ गते पक्राउ गरेको हो ।
कुँवरले पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ । प्रहरीले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई पक्राउ गरिएको जनाएको छ ।
कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अंगुर जिसीले बताउनु भयो । उहाँका अनुसार प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उहाँले भन्नुभयो, ‘पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो । बिना अनुमति कसैको घरमा पस्नु गलत हो ।’
अभिनेत्री समेत रहेकी कुँवरले तीनकुने घटनामा खिचेको घर जल्दै गरेको भिडियो सामाजिक सञ्जालमा देखिएको थियो भने सुरेश रजक जलेको घरबाट उनी ओर्लँदै गरेको भिडियो पनि सामाजिक सञ्जालमा देखिएको थियो ।
‘त्यहीँ पत्रकारको मृत्यु भएको छ, लगभग उस्तै समयमा उनी झर्दै गरेको देखिएको छ’, उपत्यका अपराध अनुसन्धान कार्यालय एक अधिकृतले भने, ‘त्यसैले सोधपुछका लागि ल्याएका छौं ।’ घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भन्ने आग्रह गरेको पनि देखिन्छ ।
‘अनुसन्धानको लागि उहाँलाई हामीले ललितपुरबाट पक्राउ गरेका छौँ ।’ प्रहरीको दावी छ ।
कुँवरले एक दशकअघि फिल्म ब्रह्माबाट रजतपट यात्रा सुरु गरेकी थिइन् ।
यसैबीच, राजावादी समूहले १५ चैतमा गरेको हिंसात्मक प्रदर्शनका बेला तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कुमार तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले बताएका छन् । उनका अनुसार, तामाङलाई भक्तपुर क्षेत्रबाट पक्राउ गरेर ल्याइएको हो । तामाङले जडिबुटीमा रहेको एक घरमा समेत आगजनी गरेको प्रहरीको भनाइ छ ।
यो घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालयले मात्र २७ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंले विस्तृत अनुसन्धान गरिरहेको छ ।
१५ चैत गते दुर्गा प्रसाईंको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो, २० जनालाई प्रहरीको गोली लागेको थियो ।
त्यस्तै, राजावादीको प्रदर्शनका क्रममा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजनालाई प्रहरीले आजै पक्राउ गरेको छ । तोडफोडमा संलग्न रहेको आरोपमा कुमार तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी अंगुर जीसीले जानकारी दिनुभयो ।
उता, तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा पक्राउ पर्नेको संख्या ७० पुगेको छ । पक्राउ पर्नेको संख्या चैत २४ गतेसम्म ६७ पुगेको थियो । हिजो र आज समेत गरी सो संख्यामा बढोत्तरी भएको हो । प्रहरीले ४१ जनालाई घट्नाको भोलिपल्टै अदालतबाट म्याद थप गरी अनुसन्धान थालेकोमा उनीहरूको दोस्रो पटक पनि म्याद थप भएको छ ।
ती ४१ जना राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवल शमशेर राणासहित रहेको प्रहरी भनाइ छ ।
पक्राउ परेकाहरूविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
राप्रपा नेता रवीन्द्र मिश्र, धवलशमशेर राणालगायत हिरासतमा छन् भने सो प्रदर्शनका नेतृत्वकर्ता मुख्य व्यक्ति मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भने भने अहिलेसम्म फरार रहेको प्रहरी भनाइ छ ।
प्रकाशित मिति २०८१ चैत्र २५, सोमबार १८:१९ गते