बेसीशहर– नेपाल रेडक्रस सोसाइटी बेसीशहर उपशाखा सभापतिमा श्यामबहादुर राउल चयन हुनु भएको छ । उपशाखाको जिल्ला शाखा कार्यालयको सभाहलमा आयोजना गरिएको छैटों अधिवेशनले चैत २८ गते राउललाई सभापति चयन गरेको हो ।
समितिको उपसभापतिमा लक्ष्मी श्रेष्ठ, सचिवमा शम्भु पौडेल, कोषाध्यक्षमा देवीदास पौडेल तथा उपसचिवमा रविन श्रेष्ठका साथै उपकोषाध्यक्षमा अमृता घिमिरेलाई निर्विरोध रुपमा चयन गरेको निर्वाचन समितिका संयोजक एवम् रेडक्रस शाखाका प्रमुख श्रीकान्त घिमिरेले बताउनु भयो ।
उहाँका अनुसार सदस्यहरूमा गोमा घिमिरे, अमितकुमार श्रेष्ठ, आनन्दकुमार श्रेष्ठ, राजेन्द्र बस्नेत र राजकृष्ण पोडेल चयन हुनु भएको छ ।
रेडक्रसका गण्डकी प्रदेश सभापति नारायणप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो अधिवशेनमा उहाँले आफू ५० सालदेखि रेडक्रसमा आजका दिनसम्म आवद्ध रहेर विभिन्न पद सम्हालिरहेको जानकारी दिदै अब आफू प्रदेश सभापति बन्ने बलियो सम्भावना रहेको जानकारी दिनुभयो । उहाँले यहाँ पाउन भन्दा पनि दिनका लागि आउने हो, हामीले डेनिस युवराजलाई जिल्लामा ल्याउनेदेखि ठूला ठूला काम गरेका कारण केन्द्रसमेत लमजुङप्रति सकारात्मक रहने गरेको उल्लेख गर्नुभयो । कुनै दिन झोलामा रहेको यो संस्था आज यस्तो अफिसबाट सञ्चालन गर्न पाउनु खुशीको कुरा हो भन्दै उहाँले गर्न चाहने हो भने असम्भव केही छैन भन्नुभयो ।
रेडक्रस जिल्ला शाखाका जिल्ला सभापति ऋषिराम घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नु हुँदै रेडक्रसका आदर्श, सेवा भावना तथा इतिहासका बारेमा प्रकाश पार्नु भएको थियो ।
सो अधिवेशनको उदघाटन तथा बन्द सत्र रेडक्रस बेसीशहर उपशाखाका सभापति मणिलाल विकको अध्यक्षतामा भएको थियो । उहाँले बेसीशहर उपशाखाको स्थापनाकालीन इतिहासदेखि वर्तमानसम्मका गतिविधिका बारेमा संक्षेपमा उल्लेख गर्दै उपशाखालाई क्रियाशील गराउनेतर्फ जिल्ला शाखाले खासै चासो नदिएको गुनासो गर्नु भयो । उहाँले यो अवधिमा उपशाखामा १२ जना आजीवन सदस्य थप भए पनि त्यो बारेमा र त्यसको विधानले प्रवन्ध गरेको रकम समेत उपशाखाले पाउन नसकेको गुनासो पोख्नु हुँदै आउँदा दिनमा यस्ता गतिविधि नहोउन् र वार्षिक क्यालेण्डरमा उपशाखाका कार्यक्रम उल्लेख गरेर जिम्मेवारी दिइयोस् ताकि समितिले आफ्नो दायित्व बोध गर्न सकोस् भन्नु भएको थियो । साथै उहाँले विशिष्ठ आजीवन सदस्य बन्ने घोषणा समेत गर्नु भएको थियो । उहाँले बेसीशहर शाखामा १७१ जना आजीवन र ३ जना विशिष्ट आजीवन सदस्य रहेको जानकारी दिदै आफू विशिष्ठ आजीवन सदस्य बन्ने घोषणा गर्नु भएको थियो । उपशाखामा विशिष्ठ आजीवन सदस्य उहाँ चौथो व्यक्तित्व हुनुहुन्छ ।
सो अवसरमा रेडक्रसको बेसीशहर उपशाखा संस्थापकदेखि पूर्वसभापति चारै जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनुहुनेहरूमा उपशाखा संस्थापक सभापति विमल श्रेष्ठ, त्यसपछिका सभापतिहरू क्रमशः धनुदेवी पिया, भरत श्रेष्ठ र सलिम मिया हुनुहुन्छ । उहाँहरूलाई प्रमुख अतिथि घिमिरेले टिका र सम्मानपत्रद्वारा सम्मान गर्नु भएको हो ।
उपशाखाका कोषाध्यक्ष देवीदास बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको उदघाटन सत्रमा आजीवन सदस्य गुणराज शिलवाल, संस्थापक सभापति विमल श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सो कार्यक्रमको सञ्चालन उपशाखाका सचिव श्याम राउलले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ चैत्र २८, बिहीबार २०:०१ गते