गैंडाकोट(नवलपुर)– कश्यप अधिकारी वंश प्रतिष्ठान नेपालको सातौं केन्द्रीय अधिवेशनको तयारी पूरा भएको छ । भोलि चैत ३० गते यहाँ स्थित होटल रिभर क्राउनको सभाहलमा हुने केन्द्रीय अधिवेशनको तयारी पूरा भएको आयोजक समितिले चैत २९ गते बताएको छ ।
सो अधिवेशनको संघिय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष नरेन्द्रकुमार अधिकारीले बताउनु भयो । उहाँका अनुसार अधिवेशनको तयारी पूरा भएको छ । उहाँले भन्नुभयो, ‘अहिले साँझ ७.३० बजे केन्द्रीय समितिको बैठक बस्ने तयारी छ ।’
उक्त केन्द्रिय अधिवेशनमा १०६ बर्षीया (मिथिला नगरपालिका– १०, धनुषा, निवासी) मदनकुमारी अधिकारीलाई सम्मान गरिने भएको छ । त्यस्तै मणिपुर, भुटान, बर्मा, बंगाल सम्पर्क शाखाहरूका अध्यक्ष लगायतका व्यक्तित्वलाई सम्मान गरिने भएको आयोजक समितिका सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनु भएको छ । उहाँका अनुसार सम्मानित हुने व्यक्तित्वहरुको संख्या ५० हाराहारी रहेको छ ।
यसैगरी, कैलाली निवासी जयनारायणका पारिवारिक बन्धुहरुद्वारा स्थापित षडानन्द अधिकारी स्मृति पुरस्कारको अक्षयकोष रकम दुई लाख ११ हजार १११ रुपैयाँको व्याज रकमबाट प्रतिभावान विद्यार्थीद्वय डा. आयुष अधिकारी र आकृति अधिकारीलाई पुरस्कारद्वारा सम्मान गर्ने कार्यक्रम रहेको छ । यसैगरी, सम्मानित हुनेमा बर्माका ७७ वर्षीय जेष्ठ नागरिक भीमलाल अधिकारी दम्पती(उहाँकी सहधर्मिणी ७३ बर्षीया हुनुहुन्छ)समेत हुनुहुन्छ ।
उक्त अधिवेशनमा मुलुकभरका ६२ जिल्लाका प्रतिनिधि मुलक रुपमा तीन सय जनाले भाग लिने भएका छन् । केन्द्रीय अधिवेशनमा भाग लिन सुर्खेत, रामेछाप, झापा, लमजुङ, स्याङ्जा, काठमाडौं, धादिङ, सुनसरी लगायत जिल्लाबाट प्रतिनिधिहरु आई सक्नु भएको छ भने अन्य प्रतिनिधिहरु आउने क्रम जारी रहेको छ । अधिवेशनले नयाँ कार्य समितिको चयन गर्ने छ । उक्त केन्द्रिय अधिवेशन भोली बिहान नौ बजे सुरू हुने आयोजक समितीले जनाएको छ ।
प्रतिष्ठानको विधान अनुसार कार्यकाल तीन वर्षको हुने व्यवस्था छ । सो प्रतिष्ठानको यसअघिको अधिवेशन बुटवलमा भएको थियोे ।
प्रकाशित मिति २०८१ चैत्र २९, शुक्रबार १९:४० गते