काठमाडौं– नइ प्रकाशनद्वारा राजधानी काठमाडौँमा नेपाल तथा भारतका २८ जना प्रतिभालाई ताम्रपत्र र नगद राशिसहित २०८० सालका नइ पुरस्कार समपर्ण गरेको छ । ती पुरस्कारको राशि पाँच हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म रहेका ती पुरस्कारका चैत २९ गते सम्मान समर्पण गरिएको हो ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले अध्यात्म दर्शन र सनातन धर्मसंस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि सात दशकदेखि प्राज्ञिक रूपमा समर्पित प्रा.चेतोनाथ शर्मा आचार्यलाई एक लाख रुपैयाँ राशिसहित नइ चन्द्रधन पुरस्कार समर्पण गर्नुभयो । सो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।
समारोहमा प्रा. चेतोनाथ शर्मा आचार्यले सिर्जना र ‘बिन्दु’ त्रैमासिकको सम्पादनका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिका लागि साढे छ दशकअघिदेखि निरन्तर समर्पित रही नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने भारतका अमर प्राज्ञ के.बी. नेपालीलाई दुई लाख रुपैयाँ राशिसहित नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्नुभएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार प्रा. आचार्यले भारतीय साहित्यकार डा. जीवन नामदुङलाई नइ ईश्वर बराल पुरस्कार, सङ्गीत भूषण भारतका रञ्जित गजमेरलाई कोइलीदेवी पुरस्कार, भारतीय साहित्यकार डा. शान्ति क्षेत्रीलाई नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्नुभयो । यी पुरस्कारका राशि जनही एकएक लाख रुपैयाँ रहेका छन् ।
समारोहमा प्रा. चेतोनाथ शर्मा आचार्यले संस्कृति शिरोमणि हरिराम जोशीलाई नइ भूपालदुर्गा पुरस्कार, देशभक्त चिन्तक प्रा.डा. मोहन लोहनीलाई नइ कीर्तिनिधि पुरस्कार, शिक्षाविद् तथा साहित्यकार प्रा. गोपीकृष्ण शर्मालाई नइ देरुनीख सुकीर्ति पुरस्कार, सञ्चारकर्मी कमल प्रधान र ध्रुव थापालाई संयुक्त रुपमा नइ भाजप पुरस्कार, न्युरो सर्जन डा.वसन्त पन्तलाई नइ भावि पुरस्कार, सहित्यकार श्रीमती रञ्जुश्री पराजुलीलाई नइ रेखा पुरस्कार, पर्वतका सहित्यकार शान्तिनारायण श्रेष्ठलाई नइ धनरूप पुरस्कार र विराटनगरकी सहित्यकार श्रीमती राधिका गुरागाईँलाई नइ बुलु शर्मा पुरस्कार समर्पण गर्नुभयो । यी पुरस्कारका राशि पनि जनही एक एक लाख रुपैयाँ रहेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भयो । उहाँका अनुसार प्रा. आचार्यले साठी हजार रुपैयाँ राशिको नइ देरुनीख प्रदीप्ति पुरस्कार पाल्पाका साहित्यकार कृष्णप्रसाद वस्याललाई समर्पण गर्नुभयो । साथै उहाँले जनही पचास, पचास हजार रुपैयाँ राशिका नइ कपिल शोध पुरस्कार साहित्यकार ठाकुर शर्मा भण्डारी, नइ देरुनीख गौरव पुरस्कार झापाका साहित्यकार धनकुटे कान्छा, नइ रामलक्ष्मी पुरस्कार तेस्रो लिङ्गी रजनी थकालीलाई र पच्चीस हजार रुपैयाँ राशिको नइ देरुनीख पौरख पुरस्कार झापाकी सुश्री मनीषा राजवङ्शीलाई मिस हेरिटेज पेटाइट युनिभर्स भएवापत प्रदान गरिएको थियो ।
यसका साथै समारोहमा प्रा.चेतोनाथ शर्मा आचार्यले छ जना बाल बालिकालाई दस हजार रुपैयाँ राशिको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्नुभयो । पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ कुशाग्र भट्टराई, साहित्यतर्फ सुश्री प्रतिष्ठा केसी, चित्रकलातर्फ सुश्री श्रीया गुरुङ, गायनतर्फ सुश्री सानवी यादव, नृत्यतर्फ सुश्री अनिका महर्जन र खेलकुदतर्फ सुश्री सुप्रिया ऐर हुनुहुन्थ्यो ।
यसैगरी, सात हजार रुपैयाँ राशिको नइ कोपिला गायन पुरस्कार सुश्री काव्या शिवाकोटी र नइ कोपिला नृत्य पुरस्कार सुश्री सुधा तामाङलाई तथा नृत्यकलाका लागि पाँच हजार रुपैयाँ राशिको ‘नइ चिचिला पुरस्कार’ तीन वर्षीया सुश्री मानषी भण्डारीलाई प्रदान गरिएको नइ प्रकाशनका सदस्यसचिव प्रसाईले उल्लेख गर्नु भयो ।
पुरस्कृत बालबालिकाद्वारा गायन तथा नृत्य प्रदर्शन गरिएको समारोह नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालन गरिएको थियो । सो समारोहमा पुरस्कृतमध्ये के.बी. नेपाली, राधिका गुरागाईँ तथा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले नेपाली भाषा, साहित्यको उन्नयनका बारेमा नइको योगदानको चर्चा गर्दै आफ्ना धारणा सहित मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ चैत्र ३१, आईतवार १२:१५ गते