बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ७ स्थित युनिभर्सल एकेडेमीले अभिभावक अभिमुखिकरण कार्यक्रम गरेको छ । सो अवसरमा विद्यालयले शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षाफल समेत प्रकाशन गरी चैत ३० गते अभिभावक अभिमुखिकरण कार्यक्रम गरेको हो ।
स्थानीय बरण्डा रेष्ट्रोमा विद्यालयद्वारा आयोजित एक कार्यक्रममा अभिभावकहरूलाई अभिमुखिकरण गराएको हो । सो अवसरमा अभिभावकहरूलाई सन्तान प्रतिको जिम्मेवारी पुरा गर्दैै गर्दा बावुआमा तथा अभिभावकले बालवालिकालाई सहि आचरण सिकाउन, सकरात्मक सोचको विकासका लागि पुरा गर्नुपर्ने कर्तव्यप्रति पनि सचेत हुनपर्ने विषयमा केन्द्रित रहेर अभिभावक अभिमुखिकरण गरिएको थियो । कार्यक्रममा सरोज घिमिरेले अभिभावक र बालवालिकाको सम्वन्ध, व्यावहारिक पक्षको वारेमा अभिमुखिकरण गर्नुभएको थियो ।
प्रशिक्षक घिमिरेले बालवालिकासँग अभिभाकक, शिक्षक र विद्यालयले राख्ने अपेक्षा र शिक्षक अभिभावकले पुरा गर्नुपर्ने जिम्मेवारीबारे जानकारी गराउनुभएको थियो । उहाँले संस्कार सस्कृतिसहितको शिक्षा आजको आवश्यकता हो भन्नुभयो ।
यसैगरी प्रशिक्षक घिमिरेले सामान्यतया हाम्रा बालबालिका कक्षा चार देखि कक्षा १० सम्म अध्ययनरत छन् । आज हामी २०८१ को बार्षिक प्रगाति विवरण लिनलाई आएका छौं, अझै हामीले पाइसकेका छैनौ तर नतिजा लिइसकेपछि पनि हामी हाम्रा सन्तानको नतिजा भन्दा पहिले अर्काको नतिजा तिर हेर्छौं र अलिअलि असन्तुष्टि व्यक्त गर्छौं । त्यसपछि, एउटा गल्ती त्यहाँबाट सुरू गर्छौं, हाम्रो सन्तान के बन्नका लागि जन्मिएको छ अथवा उसमा कुन गुण प¥याप्त छ भन्ने तर्फ नहेरिकन यसले गणितमा त्यसको जस्तो ल्याएन, अङ्ग्रेजीमा उसको जस्तो जानेन भनेर तुलना गरिरहन्छौं । एकछिन कल्पना गरौं त यदि त्यही तुलना हामीलाई बालबच्चाले गरे भने कति आपत पर्छ, मेरी छोरीले मलाई तपाईंसँगैको फलानो मान्छेले ठुलो उद्योग खोलेको छ, तपाईंले खोइ खोल्नुभएको भनी भने म के गर्ने, यदि उसले मलाइ त्यसरी सोधेको मन पर्दैन भने मैले उसलाई भन्न भएन तेरो कक्षाको फलानाले प्रथम हुँदा तैले खोइ गरेकी भनेर किन भने तुलना गर्नु हामी कसैलाई मन पर्दो रहेनछ । अहिले हाम्रो समाज सत्ता फरक छ, सुरूवातमा हाम्रो समाज मातृ सत्तात्मक थियो र विकास हुदैँ आउँदा पितृ सत्तात्मक भयो, अहिले हाम्रो समाज सन्तान सत्तात्मक भएको छ जहाँ सन्तानले भनेको कुरा बिक्छ ।
यहाँ प्रश्न छ, सन्तानका लागि सम्पत्ति या सन्तानका लागि संस्कार, दुवै खालका सन्तान हामीले हाम्रा समाज र आफन्तमा पर्याप्त भेटेका छौं, यद्यपी बाबु आमाले सन्तानका लागि पर्याप्त धन कमाई दिएका छन्, एकछिन् पनि समय दिएका छैनन्, पछि आफु बृद्ध भईसकेपछि आफ्नो सम्पुर्ण सम्पत्ति सन्तानको नाममा पर्छ तर उनीहरूले कुनै कामलाग्ने क्रियाकलाप गर्दैनन्, अर्का तिर यस्ता आमाबाबु छन् जसले आफुले कमाएको धन, सम्पत्ति, जग्गा सबै बेचेर सन्तानलाई संस्कार तथा शिक्षा दिएका छन् त्यस्ता सन्तान नै उच्च ठाँउमा पुगेका छन् र राम्रो भएका छन् बाबु आमाको ख्याल राखेका छन् । त्यसैले हाम्रा बालबालिकालाई संस्कार दिनेमा प्राथमिकता दिऔं, सम्पत्ती दिँदा दुइदिनमै सक्याउने तर संस्कार दिँदा सम्पत्तीको राम्रो प्रयोग गरेर त्यस सम्पत्तीले आफ्नो जिवनयापन गर्न सक्छन् । हामीले संस्कार भन्दा सम्पत्ती दिऔं भने हामीलाई भविष्यमा एक्लोपना हुन्छ । हामीले विचार गर्नु पर्छ केका लागि हामीले हाम्रा सन्तानलाई पढाइ राखेका छौं हामी यस विषयमा निश्चित गर्नुपर्छ ।
हाम्रो उद्देश्य निश्चित गरौं । उद्देश्य भन्नाले नेपाली विषय पढेर उसले के गर्न सक्छ जस्ता कुराहरू । हामीले नचाहिने कुरा हाम्रा मनका विकार हामीले फाल्न सक्नु पर्छ, हाम्रा मनमा भएका नराम्रा कुराहरू फालौं । राम्रा कुरा छन् भने लिऔं । यदि अरूले राम्रो कुरा गर्छ भने तपाईंले त्यसलाई लिनु पर्छ, अर्काले गरेको नराम्रो काम चाहिँ नलिनुस् त्यसले हामीलाई कत्ति पनि फाइदा गर्दैन् । हामीले जे गर्छौं सन्तानले सिक्ने गर्ने पनि त्यही हो । आफु चाहिँ साह्रो बोल्ने उसलाई चाहिं बिस्तारै बोल भन्ने त्यसो गर्नु हुदैन । जसले आफ्नो काममा निरन्तरता दिन्छ त्यसले कहिले पनि हार्नु पर्दैन । हामीले विभिन्न सृजनात्मक काम गर्ने आफ्नो कामलाई निरन्तरता दिने जस्ता कार्य गर्ने आदि गर्दा मात्र हाम्रो सन्तानले पनि त्यसो गर्न सक्छ ।, उहाँले भन्नुभयो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष ओमवहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सीपल विमल अधिकारीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । उहाँले युनिभर्सल एकेडेमीलाई उत्कृष्ट विद्यालयको रुपमा स्थापित गर्न शिक्षक, अभिभावक र सञ्चालक समितिको सहकार्य प्रमुख रहेको भन्दै विद्यालयको वर्तमान अवस्था र आगामी कार्यक्रम तथा योजनाबारे जानकारी गराउनुभएको थियो ।
विद्यालयका शिक्षक प्रमोद घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा बालवालिकाले नृत्य प्रस्तुत गरेका थिए । शिक्षक विद्यार्थी र अभिभाकहरुको उल्लेखिय उपस्थिती रहेको थियो ।
प्रकाशित मिति २०८१ चैत्र ३१, आईतवार १३:३० गते