काठमाडौं– गत चैत १५ गते यहाँ स्थित तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाई अन्ततः पक्राउ परेका छन् । भारतको आसामबाट उनी पक्राउ परेको प्रहरीले १२ दिनको अनुसन्धान गर्न म्याद चैत्र २९ गते पाएको हो । तर प्रहरीले प्रसाइँलाई उनकै गृहनगर क्षेत्रबाट पक्राउ गरेको दावी गरिरहेको छ ।
चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाई दुई सातापछि पक्राउ परेका हुन् । नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले प्रसाईलाई चैत २९ गते झापामा पक्राउ गरिएको जानकारी दिनु भएको हो । यसअघि प्रहरीले ‘तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा फरार रहेका दुर्गा प्रसाई र उक्त घटनामा संलग्न निजका अङ्गरक्षक दीपक खड्कालाई झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिइएको’ बताएको थियो ।
त्यस दिन तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईविरुद्ध ज्यान मार्ने उद्योगसहित चार कसुरमा मद्दा चलाउने तयारीमा प्रहरी अनुसन्धान अघि बढेको छ । आफ्नो चारित्रिक गुण अनुसारका अश्लिल शब्द शैलीहरू ओकल्दै प्रसाईले तीनकुने प्रदर्शनमा आफैंले चलाएको गाडीले सुरक्षामा खटिएका प्रहरीहरूलाई पेल्दै शान्ति नगरतर्फ हिडेको भिडियो सार्वजनिक भएको थियो ।
उक्त भिड नियन्त्रणमा खटिएका केही प्रहरीले नै प्रसाईविरुद्ध जाहेरी दिएका छन् । प्रसाईलाई भारतबाट नियन्त्रणमा लिएर प्रहरीले झापाको भद्रपुर विमानस्थल हुँदै उनलाई काठमाडौं ल्याएको थियो ।
प्रसाई नेतृत्वको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भए लगत्तै उनी भागेर भारत पुगेका थिए । सुरुमा भारतको उत्तराखण्ड क्षेत्रमा रहेका भनिएका प्रसाई त्यहाँबाट समेत भागेर आसाम पुगेको अन्तरङ्गको समाचार स्रोतले उल्लेख गरेको छ ।
सत्यमा भन्दा वकबासपूर्ण काममा माहिर हुँदै आएका प्रसाईले आसामको बाक्सा निवासी अभिचन्द्र पाठकको घरमा लुकेर बसेका थिए । दुर्गा प्रसाई बाक्सा जिल्लाका हिन्दुत्वबादी च्क्क् का नेता अभिचन्द्र पाठकको घरमा लुकेर बसेका थिए । दुर्गा प्रसाईले पाठकको घरमा रहेको हनुमान मन्दिरको भिडियो बनाएर ‘म भागेको छैन म काठमाडौंमै लुकेर बसेको छु’ भन्ने उट्पट्ङ कुरा गर्दै आफ्ना समर्थकहरूलाई झुकाउँदै धोका दिने काम गरिहेका थिए ।
त्यसको प्रमाण हो फरार अवस्थामा प्रसाईले सामाजिक सञ्जालमा राखेको भिडियो ।
चैत १५ गतेको घट्नामा प्रहरीले जब रवीन्द्र मिश्र र धवल शमशेर राणालगायतलाई पक्राउ गर्न थाल्यो प्रसाईको मुटुमा ढ्यांग्रो ठोक्न थाल्यो । त्यसपछि उनले भाग्ने योजना बनाएर केही दिन लुक्न पनि सफल भए तर सत्य कति दिन छिप्थ्यो र !
मिश्र र धवलाई पक्रे लगत्तै उनको खोजीमा प्रहरी खटिइसकेको थियो । त्यसपछि उनी मोबाइल बन्द गरी आफ्नै गाडीमा बनेपा हुँदै बिर्तामोड पुगेका थिए । त्यसपछि गाडी बदलेर काँकडभिट्टा नाकाबाट भारत छिरेको स्रोतले पुष्टि गरेको छ ।
प्रसाईँले भाग्न प्रयोग गरेको गाडी र चालक दुबैलाई प्रहरीले उनको बिर्तामोडमा रहेको अस्पताल परिसरमै फेला पारेको हो ।
यही क्रममा चैत १७ गते फेसबुकमा प्रसाइँको नयाँ भिडियो सार्वजनिक भयो, पछाडि रातो रंगको मन्दिरको ढोकामा बसेर बनाएको भिडियो थियो त्यो । उनले चैत १५ गते ‘कार्यक्रमस्थलको वरपरको घरको छतमा सार्पसुटर बसेर आफूलाई टार्गेट गरेको’, ‘आफ्नो कान नजिकबाट गोली गएको’ जस्ता दाबी गर्दै आफू नभागेको र नेपालभित्रै रहेको दावी गरेका थिए । तर उनको कान छुलाझैं गरेर गएको गोलीले उनको गाडीलाई के कसरी सुरक्षित राख्न सक्यो भन्ने प्रश्न भने अनुत्तरित नै रह्यो ।
उता, ‘राजा फर्काउने आन्दोलन’मा राप्रपाको पनि समर्थन थियो । तर प्रसाईलाई भाग्न दिएर प्रहरीले नियोजित रूपमा आफ्ना नेताहरूलाई मात्र हिरासतमा राखेको भन्दै राप्रपाकै अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको आलोचना गर्न थाल्नु भयो ।
त्यसबाहेक, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका माओवादीका नेताहरूले पनि प्रहरी नियन्त्रणमा आइसकेका प्रसार्ईलाई नियन्त्रणमा लिन छाडेर प्रहरी किन मुक दर्शक बन्यो ? भन्दै गृह प्रशासनको आलोचना गर्ने क्रम चल्न थाल्यो ।
त्यसो त राज्य व्यवस्था समितिको बैठकमा गएका गृहमन्त्री रमेश लेखकका साथ दुई सुरक्षा निकायका प्रमुखहरू प्रहरी महानिरीक्षक दीपक थापा तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सबैमाथिको प्रश्न उठ्यो ‘प्रहरीलाई किच्न खोज्नेगरि गाडी चलाएका दुर्गा प्रसाईलाई किन पक्राउ नगरेर उन्मुक्ति दिएको ?’ उहाँहरू निउत्तर हुनुभयो ।
दुर्गा प्रसार्ई : भिडियोमा देखिएको मन्दिर ।
फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत हुने गतिविधि निगरानी गर्न नेपालमा कठिन भए पनि भारतमा धेरै सहज छ । त्यसैले भारतमा अनुसन्धानमा संलग्न सुरक्षा सङ्गठनले रियल टाइममा चाहेको सामाजिक सञ्जालका प्रयोगकर्ताको नियमन गर्न सक्ने सुविधा छ । यो बीचमा प्रहरीको एक टोली दिल्लीमा पुग्यो । त्यो टोलीले आशातित सहयोग पाउने नै भयो । तर जति प्रयास गर्दा पनि दुर्गा प्रसाई कहाँ छन् ? भन्ने पत्ता लाग्न सकेन ।
संयोग भन्नुपर्छ, त्यही बेलामा उनीहरूले दुर्गा प्रसाईको एक भिडियो सार्वजनिक भयो । जसको पृष्ठभूमिमा एक मन्दिर थियो, त्यो मन्दिर लक्षित गरेर प्रहरीले अनुसन्धान अगाडि बढायो । त्यो ठाउँ थियो, ‘आसामको बक्सा’ । त्यसपछि नेपाली प्रहरीको टोली दिल्लीबाट आसामतर्फ हानियो ।
आसाममा नेपाली भाषीहरूको टन्नै बसोबास छ । त्यसमा पनि सत्तामा भारतीय जनता पार्टी छ, जसले नेपालमा हिन्दु राष्ट्र बनाउने अभियानको समर्थनमा पनि गर्छ । त्यो दल वा दलका नेताले सोही अभियानमा लागेका भन्ने दुर्गा प्रसाईँलाई सहयोग नगर्ने प्रश्नै थिएन । त्यस क्रममा विजेपीको वशेष राष्ट्रिय स्वयम् सेवक संघका केही पदाधिकारीहरूसँग दुर्गाको उठबस स्वभाविक थियो ।
अनुसन्धानमा अगाडि बढेको नेपाली प्रहरी टोली आसाम पुग्दा प्रसाई हिन्दुवादी अनि आरएसएसका नेताका रुपमा परिचित अभिचन्द्र पाठकले दुर्गाको संरक्षक बनेको देखियो ।
आसाममा पक्राउ परेको घरको मन्दिर ।
पाठक आसाममा हिन्दुवादी नेताका रुपमा मात्र नभई आसामको सत्तासँग समेत निकट मानिन्छन् । तथापि उनीको छवि भने पूर्ण स्वच्छ मानिदैन, नेपालमा बसेर एम.ए.को अध्ययन गरेका उनले नेपाल बस्दा दुर्गा प्रसाई जस्ताका संगतले धेरै फुराफातीका काम सिकेको बताइन्छ । पाठकले बिचौलियाको काम समेत गरेर आसाममा रहेका धेरै नेपाली भाषीहरूलाई दुःख दिने र आफ्नो दुनो साझ्याउने काम गरेका छन् भन्ने गुनासाहरू बारम्बार आइरहन्छन् ।
तथापि नेपाली मूलका भारतीय अनि हिन्दु धर्मको पक्षमा कडा अभिव्यक्ति दिइरहने पाठकको पृष्ठभूमिले उनका सामु प्रायः मानिस उनका कमजोर बानीका बारेमा बोल्दैनन् । त्यस कारण पनि उनको मनोबल बढी रहेको छ । सायद त्यसैकारण आसामको प्रहरी पनि उनको घरमा गएर प्रसाइँलाई पक्रनमा असमन्जस्यमा पर्यो ।
त्यसमा पनि कानुनी रूपमा भारतमा दुर्गा प्रसाईँले कुनै कानुन उलङ्घन गरेका थिएनन् । प्रसाईँका कारण नेपाल जस्तो भारत दबाबमा थिएन । त्यसैले, पाठकको घरमा नेपालबाट गएको प्रहरी टोलीले सिधैं छापा मार्ने आँट गरेन । फलस्वरुप आसाम प्रहरी दुर्गालाई नियन्त्रणमा लिने पक्षमा देखिएन ।
उता, आफूलाई पक्रन नेपाल प्रहरी पुगेको सङ्केत पाएको खण्डमा प्रसाई त्यहाँबाट पनि अन्यत्र भाग्न सक्ने जोखिम प्रहरीले बुझेको थियो ।
त्यही बिचमा पुन प्रसाईँले ब्याक ग्राउन्ड क्रप गरेर फेरि अर्को भिडियो सामाजिक सञ्जालमा राखेर बठ्याँई र फट्याइको भूमिका खेल्न पुगे । त्यसपछि भने भारतमा समेत दबाब बढ्न सक्ने स्थिति बन्यो र आसाम प्रहरी प्रसाईलाई पक्रन तयार भयो ।
आसाम प्रहरीले पाठकको घरमा गएर दुर्गालाई नियन्त्रणमा चैत २८ गते नियन्त्रणमा लिन सफल भएको हो । उनीसँगै रहेका दुर्गाका बडीगार्डलाई पनि भारतीय प्रहरीले छाडेन, नियन्त्रणमा लियो ।
प्रसाईँलाई पक्राउ गरेपछि नेपालको बोर्डरसम्म ल्याउने जिम्मा पनि भारतीय प्रहरीकै रह्यो । आसामबाट सबैभन्दा नजिकको नेपाली नाका थियो– काँकडभिट्टा । जहाँ आउन करिब १० घण्टा आसपासको समय लाग्ने स्थिति । प्रहरी नियन्त्रणमा रहेका प्रसाईलाई जतिसक्दो चाँडो नेपाल ल्याउने तयारी चलेकै बीचमा नेपालमा दुर्गा प्रसाईँ पक्राउ परे भन्ने सूचना सार्वजनिक हुन थाल्यो ।
त्यो सूचना दिने व्यक्ति अन्य कोही नभएर आसामका आरुएसएस नेता उनै पाठक थिए । उनले नेपालमा दुर्गाको परिवारलाई त्यो घट्ना बताई दिए । यसअघि भारतबाट अनौपचारिक रूपमा यसरी नियन्त्रणमा लिइएका केही व्यक्ति नेपालमा नाटकीय इन्काउन्टरमा मारिएका उदाहरण थिए । प्रसाई आफ्नो उपर पनि त्यही नियति दोहोरिने हो कि ! भन्नेमा पनि त्रस्त देखिन्थे ।
आसामको बक्सा स्थित पाठकको घर जहाँ दुर्गा पक्राउ परेका दुर्गासँगै पाठक ।
किनकि, प्रसाईँ आफैले आफ्नो इन्काउन्टर गर्न प्रधानमन्त्रीले नै निर्देशन दिएको दाबी गरिरहेका थिए । पाठकको सूचनाका आधारमा प्रसाईँ पक्राउ परेको सूचना नेपालमा रहेका उनका परिवारका सदस्यले मिडियासम्म पुर्याएर सार्वजनिक गर्ने काम गरेका हुन् ।
यसरी काठमाडौँ ल्याइएका प्रसाईलाई जिल्ला अदालतमा बुझाएर अनुसन्धानका लागि सोही दिन १२ दिन हिरासतमा राख्ने म्याद प्रहरीले पाएको छ । त्यसपछि प्रसाईँलाई सिधै जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा लगियो, जहाँ रवीन्द्र र धवल उनै दुर्गाको पर्खाइमा बेचैन थिए ।
त्यो बीचमा पनि नेपाल प्रहरीको फरार सूचिमा रहेको प्रहरीले तीव्र रुपमा खोजी रहेका प्रसाईमाथि भारतमा समेत धरपकड सुरु भएपछि उनी नेपाल फर्कने भन्दै भिडियो सन्देश हालिरहेका थिए । भिडियो सन्देशमा प्रसाईले आफू कतै नभागेको र नेपालमै रहेको दाबीसमेत दावी गर्दै आएका थिए । प्रहरीले उनलाई भारतको आसामबाट पक्राउ गरेको हो । प्रसाइँका नाउँमा असमबाट फेसबुक अपलोड गर्ने काम समेत हुँदै आएको छ । त्यसको लाइक र कम्मेन्ट पनि बढी आसामबाटै हुने गरेको समेत समाचार स्रोत बताउँछ ।
‘प्रसाईंले आफ्नै सुरक्षाको लागि भारतको आसाम राज्यको प्रहरी समक्ष आत्मसमर्पण गरेको’ दाबी गरेको प्रसाई निकट स्रोतले बताएको छ । तर सत्य त्यो होइन । उनी पक्राउ परेकै हुन् ।
तीनकुनेमा प्रहरीलाई नै गाडीले ठक्कर दिँदै अघि बढेको भिडियो सार्वजनिक भएपछि प्रसाई सम्पर्कविहीन फारार भएका थिए । फरार प्रसाईँले सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश सार्वजनिक गर्दै आफूलाई असुरक्षित महसुस भएको र त्यसकारण ‘लुकेर बसेको’ दाबी गरेका थिए ।
तीनकुनेमा ‘राजवादी जनआन्दोलन’ का नाममा भएको प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु हुनुका साथै सरकारी र निजी सम्पत्तिमा व्यापक तोडफोड, आगजनी र लुटपाट गरिएको थियो ।
पक्राउ पर्नु अघिल्लो दिन पनि उनले फेरि अर्को भिडिओ सार्वजनिक गर्दै आफू भागेको नभई ‘बाँच्न लुकेको’ दावी गरेका थिए ।
तीनकुने घटनाका मुख्य आरोपी बिबादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध १२ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँले प्रसाईमाथि अनुसन्धान गर्न प्रहरीलाई १२ दिनको म्यादको समयसिमा दिएको हो ।
जिल्ला न्यायधीश शिशिरराज ढकालको एकल इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएका छन् । प्रहरीले प्रसाईलाई त्यसै दिन झापाबाट काठमाडौँ ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो ।
प्रसाई विरुद्ध लगाउन खोजिएका चार मुद्दाहरू :
ज्यान मार्ने उद्योग :
प्रदर्शनकारीलाई हिंस्रक बन्न उचालेका प्रसाई आफैले पनि प्रहरीको भिडलाई किचौंलाझैं गाडी कुदाएका थिए । त्यहाँ प्रहरीमाथि नै गाडी कुदाउन खोजेर ज्यान मार्ने प्रयास गरेको भन्दै ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाउन लागिएको हो ।
संगठित अपराध :
प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको घटनालाई लिएर उनीमाथि संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुँदैछ । उनी प्रदर्शनकारीको कमाण्डर रहेको कारणले यसको निर्देशक र परिचालक उनी भएको आरोप छ । प्रदर्शनकारीले निजी घर र जडीबुटी कारखानामा आगजनी समेत गरेका थिए ।
आपराधिक उपद्रव र राज्यविरुद्धको कसुर :
उनीमाथि आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा पनि अनुसन्धान अघि बढ्ने बताइएको छ। यसअघि सोही प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणासहितलाई संगठित अपराध, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
तीनकुने घटनापछि राप्रपाका नेताहरू धवलशमशेर राणा, रविन्द्र मिश्रलगायतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ ।
प्रकाशित मिति २०८१ चैत्र ३१, आईतवार १८:५६ गते