काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते तीनकुनेमा भएको जनधनको क्षतिबाट दुःखी भएको बताउनु भएको छ । नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देश जारी गर्दै उक्त घटनामा भएको मानवीय तथा भौतिक क्षतिबाट दुःखी भएको चैत ३१ गते उल्लेख गर्नु भएको हो ।
पूर्वराजा शाहले शुभकामना सन्देशमा ‘केही दिनअघि भएको जनप्रदर्शनमा हिंसा, आगजनी भयो त्यसबाट मानवीय एवम् भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो ।’ भन्ने उल्लेख गदैै ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।’ भन्नुभएको छ ।
मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यैपनि योगदान पु¥याउँदै आएको स्मरण गर्दै ‘संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं, नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ ।’ पूर्वराजा शाहले भन्नु भएको छ ।
पूर्वराजाको शुभकामना सन्देशमा राजनीतिकभन्दा आर्थिक चासो बढ्ता देखिएको छ । देशमा आर्थिक छटपटी रहेको स्वीकार गरी त्यसबाट बाहिर निस्कन अपनाउनुपर्ने औंल्याउदै आफ्नो राजनीतिक अभिप्रायः भने लुकाएको देखिदैन । शाहले ‘आस्था र अभिव्यक्ति’ राख्न पाउने ‘नागरिक स्वतन्त्रता’ प्रजातन्त्रमा सुरक्षित हुने अपेक्षा गरेको उल्लेख छ ।
करिब १४ मिनेट लामो भिडियो वक्तव्यलाई अंग्रेजी सबटाइटलसमेत दिइएको छ, जहाँ नेपालजस्तो संसारकै सुन्दर देशमा उत्पन्न वित्तीय संकटले युवा पलायन बढेकामा चिन्ता व्यक्त गर्दै भूमण्डलीकरणले सिर्जना गरेको आत्मनिर्भरताको संकटमा अब ‘पृथ्वी विचार’ अर्थात् पृथ्वीनारायण शाहले अघि सारेका स्वाबलम्बनका मान्यतालाई जोड दिनुपर्ने पूर्वराजा शाहको जोड छ ।
सन्देशमा भनिएको छ, ‘हरेक नयाँ वर्ष नूतन आशा र विश्वास बोकेर आउने तर वर्षको बिदाइमा एउटा घनघोर निराशा हुने गरेको धेरै साल भयो, समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर त्यस्तो धारणा प्रस्तुत गर्दा सबैले संयम अपनाऔँ ।’
पूर्वराजा शाहको उक्त शुभकामना सन्देशसहितको भिडिओ संवाद सचिवालयका तर्फबाट फणिराज पाठकले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्नुभएको हो ।
प्रकाशित मिति २०८१ चैत्र ३१, आईतवार २०:०४ गते