निवृत्त प्रहरी हवल्दार महिलाको घरभित्र त्रिपालले बेरिएको अवस्थामा शव फेला

निवृत्त प्रहरी हवल्दार महिलाको घरभित्र त्रिपालले बेरिएको अवस्थामा शव फेला

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख १ गते सोमबार ०३:०७

रुप तथा उचाईले पनि राम्रीको श्रेणीमा पर्ने सीताले बाल्यकालदेखिनै अत्यन्तै दुःख खेप्नु परेको थियो । स्कूल पढ्दै गर्दा सोही विद्यालयका एक शिक्षकबाट उनी गर्भवती भइन् । तर शिक्षकले गर्भ स्विकार गरेनन् । तर अदालतले डिएनए समेत परीक्षण गरी सीताको नाता प्रमाणित गरिदियो । त्यसरी मुद्दा जितेर उनले नागरिकता प्राप्त गरेकी थिइन् ।

बाल्यकालदेखिनै दुःख खेपेकी सीताको मृत्यु पनि दुःखद भयो ।

भकुण्डे(लमजुङ)– लमजुङमा घरभित्र त्रिपालले बेरिएको अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । लमजुङको बेसीशहर नगरपालिका– २ को भकुण्डे गाउँ निवासी ४७ वर्षीया सीता कँडेलको शव त्यस्तो अवस्थामा फेला परेको हो ।
नेपाल प्रहरीकी निवृत्त हवल्दार समेत रहेकी उनी आफ्नो घरमा एक्लै बस्ने गरेको उनका छिमेकीहरूले बताएका छन् । उनका एक मात्र छोरा बुहारी अस्टे«लिया बस्दै आएका थिए ।
मृतकका छोरा अभिनास कँडेलले ५, ६ दिनदेखि आमासँग फोन सम्पर्क नभएपछि उनले आफ्ना छिमेकीसँग आमाका बारेमा सोधपुछ गरेका थिए । छिकेमीले उनको अनुरोध स्विकार गरी घरमा जाँदा बाहिरबाट ताल्चा लगाएको तर घरभित्रबाट सिनोको गन्ध आएको थाहा पाएछन् । त्यसपछि अभिनासका छिमेकीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले त्यो घरको बाहिरी ढोकाको ताल्चा खोलेर हेर्दा भित्र ती महिला सुत्ने कोठामा पनि ताल्चा लगाएको थियो, त्यो पनि खेलेर हेर्दा पलङ(लोबेडं)को मुनी त्रिपालले बेरेर शवलाई तारले बाँधेको र सड्न लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
गत चैत २६ गते मंगलबार अपराह्न ४ बजे सीताले छोरासँग अस्टे्लियामा अन्तिम कल गरेको देखिएको प्रहरीले जनाएको छ । त्यसदिन साँझ ७ बजेपछि उनको मोवाइल अफ रहेको प्रहरी भनाइ छ । उनीसँग दुईवटा एक साधारण फोन सेट र एक आइफोन रहेको जानकारीमा आए पनि आइफोन फेला नपरेको प्रहरीले जनाएको छ ।
त्यतिमात्र नभई उनले घाँटीमा लगाउने गरेको तीन तोलाको सुनको सिक्री लगायत करिब १० तोलाका सुनका गहना केही नगद रकम समेत घरमा रहेको तर त्यो समेत फेला नपरेको प्रहरी भनाइ छ । लेनदेनका कारणले उनको हत्या भएको आशंका प्रहरीले गरेको छ । तराईतिरका एक दराई थरका व्यक्तिसँग उनको ठूलै कारोबार रहेको र उनले निजका विरुद्धमा लमजुङ र चितवन जिल्ला प्रहरीमा समेत उजुरी दिएको बताइएको छ ।
सो घट्नास्थल रहेको घर सो स्थानमा रहेको अस्थायी प्रहरी बिटको करिब दुई सय मिटर नजिक रहेको मृतकका छिमेकीले बताएका छन् ।
मृतक महिलाको वैशाख १ गते पोष्टमार्टमको तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाहले बताउनु भयो । उहाँका अनुसार मृतकको छोरा आएपछि मात्र शवको अन्तिम संस्कार हुनेछ । उहाँले भन्नुभयो, ‘थप अनुसन्धानको काम अघि बढी रहेको छ, हामी हत्याराको नजिक पुगेका छौं, अबको २, ४ दिनभित्रै हाम्रो नियन्त्रणमा आउने छन् ।’
बाल्यकालदेखिनै दुःख खेपेकी सीताको मृत्यु पनि दुःखद :
सोही गाउँमा माइती भएकी सीता कँडेल, धितालकी छोरी हुन् । उनी माइतीको एक मात्र छोरी हुन् भने उनका एक दाजु र भाइ छन् । दाजु पनि निवृत्त जीवन बिताउँदै छन भने भाइ भारतीय सेनाबाट निवृत्त भएर वैदेशिक रोजगारमा गएका छन् । पिताको केही वर्ष अघि निधन भइसकेको छ भने बृद्धावस्थाकी आमा हुनुहुन्छ ।
रुप तथा उचाईले पनि राम्रीको श्रेणीमा पर्ने सीताले बाल्यकालदेखिनै अत्यन्तै दुःख खेप्नु परेको थियो । स्कूल पढ्दै गर्दा (कक्षा– ७ मा) सोही विद्यालयका एक शिक्षकबाट उनी गर्भवती भइन् । तर शिक्षकले गर्भ स्विकार गरेनन् । त्यसपछि उनले अदालतमा नाता प्रमाणितको मुद्दा गर्न बाध्य भइन् । डिएनएको समेत परीक्षण गरी अदालतले सीताको नाता प्रमाणित गरिदियो । त्यसरी उनले मुद्दा जितेर नागरिकता प्राप्त गरेकी थिइन् । छोराको आमा बनेपछि उनले स्कूलको शिक्षा पनि पुरा गर्न सकिनन् । त्यसपछि, दुःखका साथ माइतीमै दिन बिताउँदै गर्दा महिला प्रहरीको नोकरी सुरु गरेकी थिइन् ।
प्रहरीको नोकरीमा समेत उनी खासै सन्तुष्ट हुन सकेकी थिइनन् । त्यसैले उनी पेन्सनको अवधि पुग्नासाथ निवृत्त भइन् । उनले दुःखले आर्जन गरेको सम्पत्ती एकजना व्यक्तिले आकर्षक व्याज दिने लोभ देखाउँदै लिने काम गरेको बुझिन्छ । उनले त्यसै मान्छेलाई लगानी गर्दै गइन् । सीताले आफ्नो पसिनाको त्यही कमाईको रकम फिर्ता माग्ने काम गरेको हुँदा यतिबेला उनको हत्या हुन गएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । उनीहरूका अनुसार यसप्रकार बाल्यकालदेखिनै दुःख खेपेकी सीताको अन्त्य अर्थात मृत्यु पनि दुःखद रुपमा हुन पुगेको छ ।
स्मरणीय छ, उक्त दर्दनाक हत्या एकै जनाले मात्र गरेको मान्न मृतकका छिमेकीहरू तयार छैनन् । तर प्रहरीले यसबारेमा थप बोल्न चोहेको छैन ।
फोटामा : सीताले बनाएर बस्दै गरेको घर ।

प्रकाशित मिति २०८२ बैशाख १, सोमबार १५:०७ गते
हजुरको प्रतिक्रिया