ललितपुर– ललितपुरको मंगलबजारमा मृत फेला परेकी ११ वर्षीया किशोरीको हत्या गरेको आरोपमा उनका सहोदर १५ वर्षीय दाइ पक्राउ परेका छन् । चैत २९ गते मंगलबजार, खपिनछेँ टोलको एक घरको पानीट्यांकीमा ११ वर्षीया बालिका दुर्गा बोहराको शव भेटिएको थियो । प्रहरीले ती बालिकाको हत्या आरोपमा उनका दाइ १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।
अहिले ती किशोरलाई अनुसन्धानका लागि ललितपुर प्रहरीको हिरासतमा राखिएको छ । गत चैत ४ गते भएको उक्त हत्याको बारे प्रहरीले चैत २९ गते जानकारी पाएको हो । घटनाको २५ दिनपछि गत ललितपुर वडा ९ खपिन्छेँस्थित बाबुराजा अवालेको पुरानो घरको भुईँतलामा रहेको पानी ट्याङ्कीमा सडेगलेको अवस्थामा ती किशोरीको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताउनु् भयो । उहाँका अनुसार ललितपुर महानगरपालिका– १२ मंगलबजार बस्ने भगबती बोहराले उनकी ११ वर्षीया छोरी चैत ४ गते राति साढे नौ बजेपछि हराएको भनी जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी थिइन् ।
बझाङ सुर्मा गाउँपालिका– ४ घर भई हाल जिल्ला ललितपुर– १२ मंगलबजार बस्ने मदन बोहरा र भगवती बोहराको छोरी ११ वर्षीया दुर्गा बोहरा चैत ४ गतेदेखि हराएकी थिइन् । यसअघि बाबुराजा अवालेको उक्त घरमा बोहरा परिवार भाडामा बसेको र गत फागुन २५ गते अन्यत्र डेरा सरेका थिए ।
घट्ना विवरण अनुसार चैत ४ गते ती किशोर र उनकी बहिनी पहिला डेरामा बस्ने गरेको अवालेको घरतर्फ जाँदै गरेको सिसिटिभी फुटेजमा देखिएको थियो । दाजु बहिनीसँगै गएको फुटेज भेटिए पश्चात दाजुमाथि शंका लागी सोधपुछ गर्दा उनले कोठा सर्दा छुटेका कपडाहरू लिन दाजुबहिनी गएकोमा सामान्य विवाद हुँदा बहिनिलाई पिटी उक्त ठाउँमा रहेको नाइलनको डोरीले पछाडिबाट घाँटी कसेर भुईँमा लडाई छोडी भागेको बताएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दाजुबहिनीले नै लागूऔषधको ट्याबलेट खाएको र त्यसको नशामा भएकाले त्यस्तो घटना हुन गएको ती किशोरले बताएका छन् । चैत ५ गते बिहान नशाले छोडेपछि आफूले हिजो बहिनीमाथि गरेको आक्रमण सम्झी घटनास्थलमा गई हेर्दा बहिनीको मृत्यु भएको र बहिनीको शव भुईँतल्लाको भ¥याङको छेउमा देखेपश्चात ट्याङ्कीमा हाली सिमेन्टले बनाएको ढक्कन लगाई छोपेर छोडी गएको ती किशोरले प्रहरीसँग बताएको खुलेको छ ।
सो घट््नाको अनुसन्धानका क्रममा मृतकका १५ वर्षीय दाइले उनको हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताउनु भयो । उहाँका अनुसार घटनाको जिल्ला प्रहरी परिसर ललितपुर समेतको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालय तथा पीआरसीबी ललितपुरको टोलीले विभिन्न विधि र प्रविधि प्रयोग गरी अनुसन्धान गरेको थियो ।
प्रहरीका अनुसार यो घटनामा हत्या हुनुको कारण लागुऔषध भएको देखिएको छ । बालिका बेलाबेलामा घर छाडेर हिँड्ने गरेकी थिइन् । यसअघि पनि प्रहरीमा उनी हराएको निवेदन परेको थियो । त्यस्तै घटना दोहोरिन थालेपछि भने घरले पनि बेवास्ता गर्न थालेको प्रहरीको बुझाइ छ । दुर्गाकै दुई जना दाइ छन् ।
‘युवकले लागुऔषध खाएर होसमा नभएको भनेका छन् । त्यही बेला आफूले बहिनीको घाँटीमा डोरी कसेर हत्या गरेको बयान दिएका छन् ।’ अनुसन्धान अधिकृत भन्छन् । उनका अनुसार दुई जनाबीच मैनबत्ती निभेपछि विवाद सुरू भएको थियो । प्रारम्भिक बयानका क्रममा ‘मैनबत्ती निभेको निहुँमा एकअर्काबीच झगडा भएको रहेछ । तैले किन बत्ती निभाइस् भन्ने कुरालाई लिएर हातपात भयो । त्यहीबीच दाइले डोरीले घाँटी कसेको भनेका छन् ।’ ‘चुरोट, रक्सी, लागुऔषध खाने, बेलाबेला घर छाडेर हिँड्ने गरेको देखियो,’ जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी अधिकारीले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘केटाहरूसँग पनि हिँड्ने र दाइले हेरचाह गर्ने खालको कुरा पनि छ । तर फेरि दुवै दाइ पनि लागुऔषध सेवनकर्ता भन्ने देखियो ।’
प्रकाशित मिति २०८२ बैशाख २, मंगलवार १९:५८ गते