बेसीशहर– लमजुङमा सञ्चालन गर्न लागिएको ठाडोभाका तीन दिने निःशुल्क प्रशिक्षणमा ‘ठाडोभाका– सिर्जना विहरी थापा प्रतीभा पुरस्कार’ वितरणको तयारी गरिएको छ । नव प्रतीभालाई प्रोत्साहन गर्नका लागि सो पुरस्कार स्थापना गरिएको हो । उक्त प्रशिक्षण यही बैशाख ११, १२ र १३ गते लमजुङको मर्स्याङदी गाउँपालिका– ४ को खानी गाउँ स्थित रक गार्डेन होमस्टेमा सञ्चालन गरिने भएको छ ।
ठाडोभाकाको तीन दिने निःशुल्क सो प्रशिक्षण ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको आयोजना, रक गार्डेन होमस्टे समिति र शान्ति दिप आमा समूहको व्यवस्थापनमा सञ्चालन गर्न लागिएको हो । ठाडोभाका नयाँ पिंढीमा हस्तान्तरण गर्नका लागि नवप्रतिभालाई प्रोत्साहन गर्न प्रशिक्षणमा भाग लिने उत्कृष्ठ रुपमा छनौट हुने सो पुरस्कार प्रदान गर्ने तयारी गरिएको आयोजक प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार पुरस्कार राशि नयाँ प्रतीभा दुई जनालाई तीन, तीन हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । उहाँले भन्नुभयो, ‘विशुद्ध नयाँ प्रतिभालाई प्रोत्साहनका लागि यो पुरस्कारको प्रवन्ध गरिएको हो, यसले नयाँ पुस्तामा ठाडोभाका हस्तान्तरण गर्नका लागि वातावरण बन्ने विश्वास गरेका छौं ।’
सो प्रशिक्षण एसईई दिएर बसेका, विद्यालयस्तरमा अध्ययनरत गायन, नाँच र वाध्यवादनमा रुचि भएका विद्यार्थी तथा अन्य इच्छुक व्यक्तिहरूलाई दिने तयारी रहेको सो प्रशिक्षणका प्रशिक्षक एवम् प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुराले बताउनु भयो । उहाँका अनुसार यो वर्षदेखि प्रतिष्ठानले सञ्चालन गर्ने प्रतियोगितामा भाग लिने टिममा तीनजना महिला र पुरुषमध्ये कम्तिमा ३५ वर्ष ननाघेको एक जना अनिवार्य हुनुपर्ने नीति लिइएको छ । उहाँले भन्नुभयो, ‘प्रतिष्ठान दशौं वर्षमा प्रवेश गरेको छ, अब हामी ठाडोभाकालाई त्यही स्तरमा गाउन सक्ने नयाँ पुस्ता तयार गर्दैछौं, त्यसका लागि नयाँ– नयाँ उपायहरूको खोजी गरिएको छ ।’
यसरी नयाँ पुस्ताका भाइबहिनीले सुरुका वर्षमा गीत छोप्ने काम गर्दा गर्दै उनीहरू आफै गाउन सक्ने हुने छन् भन्ने हाम्रो विश्वास छ सीतादेवीले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्षदेखि प्रतिष्ठानको प्रतियोगितामा भाग लिदा तोकिएको सर्त पुरा नगर्ने टिमको नंबर घट्ने गरी मूल्यांकन तालिकाको तयारीमा आफूहरू लागेका छौं । उहाँले भन्नुभयो, ‘यसरी कडा नीति नियम लागु भएमा नयाँ प्रतीभाले मौका पाउने र गीतको गुणस्तरमा पनि बृद्धि हुन्छ ।’
सो पुरस्कार वरिष्ठ लोकगायिका सिर्जना विरही थापा, स्याङ्जामा जन्म थलो रही हाल अमेरिकाले स्थापना गरिदिनु भएको हो । ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ अमेरिका जानु हुँदा उहाँले सो पुरस्कारका लागि एक लाख रुपैयाँ अक्षयकोष रकम यहाँ हस्ते प्रतिष्ठानलाई पठाउनु भएको थियो । सोही रकमको व्याजबाट उक्त पुरस्कार र प्रमाणपत्रको प्रवन्ध गरिने भएको आयोजक प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार प्राप्त व्याजबाट बचेको केही रकम सो अक्षयकोषमा थप गरी कोष बृद्धि गर्र्दै लग्ने योजना रहेको छ ।
प्रकाशित मिति २०८२ बैशाख ३, बुधबार ०८:२२ गते