लमजुङ । सुपर खुदी हाइड्रोपावर विरूद्ध स्थानिय मस्र्याङ्दी गाँउपालिका– ९ का बासिन्दाहरूले सञ्चालन गरेको आन्दोलन स्थगित भएको छ । आन्दोलनरत पक्ष र विद्युत आयोजना विचमा भएको पाँच बुँदे सहमती पछि आन्दोलन स्थगित भएको हो ।
लमजुङमा निर्माणाधिन सुपर खुदी हाइड्रोपावरले मस्र्याङ्दी गाउँपालिका– ९ लाई प्रभावित क्षेत्रमा नराखेको भन्दै स्थानीय प्रभावितहरू आन्दोलनमा उत्रिएका थिए । पटक पटकको शान्तिपूर्ण अनुरोध र आन्दोलनको चेतावनीलाई आयोजना पक्षले वेवास्ता गरेपछि पिडितहरू मंगलबार देखि आयोजनाको निर्माण कार्य ठप्प गर्ने आन्दोलनमा उत्रिएका थिए । बुधबार साँझ अबेर पाँच बुँदे सहमती भएपछि बिहिबार देखि निर्माणको काम सुचारू भएको छ ।
संघर्षरत पक्ष र आयोजना पक्ष बिच वातावरणिय प्रभाव पुनः मुल्यांकन (इ.आई)को कार्य गर्ने, पिडित वडा नं. ९ लाई विकास निर्माणको काम गर्न ३५ लाख उपलब्ध गराउने सरोकार समितीमा वडाका अध्यक्ष समेत पाँच जना प्रतिनिधिहरू राख्ने लगायतको सहमति भएको छ ।
उक्त सहमति पत्रमा विद्युत आयोजनाका प्रमुख रविकुमार, साइड इन्चार्ज कृष्णदास श्रेष्ठका साथै संघर्षरत पक्षबाट संघर्ष समितिका अध्यक्ष रामबहादुर थापा, मस्र्याङ्दी गाँउपालिका– ९ का अध्यक्ष हरिशचन्द्र थापाले दस्तखत गरेका छन् । सो सहमति पत्रमा मस्र्याङ्दी गाँउपालिकाका अध्यक्ष अर्जुन गुरूङ, गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाई लगायतले दस्तखत गरेका छन् ।
दुई पक्ष विच भएको सहमति पत्रमा आन्दोलन फिर्ता भनिए पनि आफ्नो आन्दोलन स्थगित मात्र भएको सो वडाका अध्यक्ष थापाले बताए । उनका अनुसार माग पुरा नभएमा पुनः आन्दोलन हुने छ । त्यसैले हाम्रो आन्दोलन स्थगित मात्र भएको हो ।
दुई पक्ष विच भएको सहमति पत्रको पुर्ण विवरण ः
निर्णय नं – १
वातावरणीय प्रभाव पुनः मुल्यांकन प्रक्रिया अगाडी बढाउनको लागि आवश्यक कागजात र प्रक्रिया पुरागरी मस्र्याङदी गा.पा. को सिफारिस सहित सम्बन्धित निकायमा जाने निर्णय गरियो ।
निर्णय नं – २
मस्र्याङ्दी गा. पा. वडा नं. ९ को लागी प्रमोटर शेयर उपलब्ध गराउन सुपर खुदी हाइड्रो पावर लिमिटेडको सञ्चालक समितिमा अनुरोध गर्ने निर्णय गरियो ।
निर्णय नं – ३
सुपर खुदी हाइड्रो पावर लि. को सामाजिक उत्तर दायित्व (सि.एस.आर) कार्यक्रम अन्तरगतको बाँकी रहेको वजेटबाट मस्र्याङ्दी गा.पा. ९ को लागि आठ प्रतिशत रकम दिने निर्णय गरियो । पुनश्चः आयोजनाको तर्फबाट मस्र्याङ्दी गा. पा. ९ को लाग चरणवद्ध रूपमा आगामी आ.व. २०८२÷८३ भित्र सरोकार समिति मार्फत, रू. ३५००००÷– (३५ लाख) उपलब्ध गराउने निर्णय गरियो ।
निर्णय नं – ४
मस्र्याङ्दी गा. पा. वडा नं ९ का स्थानिय वासिन्दाहरुले विभिन्न माग राखि मिति २०८२÷०१÷०२ गतेबाट गरिएको अतिश्चित कालिन आन्दोलन आजकै मिति २०८२÷०१÷०३ गते बुधवारबाट नै फिर्ता लिने निर्णय गरियो ।
निर्णय नं. – ५
स्थानियको क्षमता र योग्यता अनुसार हाइड्रो पावरलाई चाहिने कामदारमा मस्र्याङ्दी – ९ लाई पनि प्राथमिकतामा राख्ने निर्णय गरियो ।
प्रकाशित मिति २०८२ बैशाख ४, बिहीबार २०:०७ गते