वरिष्ठ लोकगायिका विरहीले स्थापना गर्नु भएको ‘ठाडोभाका– सिर्जना विरही थापा प्रतीभा पुरस्कार’को अक्षयकोमा ५० हजार थप्नु हुने

वरिष्ठ लोकगायिका विरहीले स्थापना गर्नु भएको  ‘ठाडोभाका– सिर्जना विरही  थापा प्रतीभा पुरस्कार’को अक्षयकोमा ५० हजार थप्नु हुने

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख ६ गते शनिवार ०७:५१

अधिकांस पुरस्कार प्रतिष्ठानले आफ्नो स्थापना दिवसमा वितरण गर्ने गरिएको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले जानकारी दिनुभएको छ । उहाँका अनुसार स्थापना दिवसलाई प्रतिष्ठानले यो वर्षदेखि तीन दिने ‘ठाडोेभाका मेला’का रुपमा मनाउन थालिएको छ ।

प्रतिष्ठानले सञ्चालन गरेको ‘ठाडोभाका– सिर्जना विरही थापा प्रतीभा पुरस्कार’ सातौं हो ।

बेसीशहर– वरिष्ठ लोकगायिका सिर्जना विरही थापाले ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङद्वारा सञ्चालन गर्नका लागि उपलब्ध गराउनु भएको ‘ठाडोभाका– सिर्जना विरही  थापा प्रतीभा पुरस्कार’को अक्षयकोमा पुनः ५० हजार थप गर्ने हुनु भएको छ । त्यसको जानकारी उहाँले प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’मार्फत बैशाख ५ गते दिनु भएको हो ।
उहाँले यसअघि सो पुरस्कार सञ्चालनका लागि एक लाख रुपैयाँ नगद प्रतिष्ठानलाई उपलब्ध गराई सक्नु भएको थियो । सो कोषबाट प्राप्त व्याजबाट यसै वर्षदेखि ठाडोभाका तीन दिने निःशुल्क प्रशिक्षणमा उत्कृष्ठ हुने दुई जनालाई वितरण गरिने भएको छ । यसअघि अन्तरङ्ग न्यूज डटकममा ‘ठाडोभाका– सिर्जना विहरी थापा प्रतीभा पुरस्कार’ वितरणको तयारी शीर्षक समाचार हाल अमेरिकामा रहनु भएकी वरिष्ठ लोकगायिका विरहीले पढ्नु भएछ । त्यसपछि उहाँले कालाकारहरूको प्रोत्साहनका लागि उक्त कोषमा थप ५० हजार तुरुन्त उपलब्ध गराउने भन्नु भएको प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीलगायतका पदाधिकारीलाई जानकारी दिनु भएको छ ।
वरिष्ठ लोकगायिका विरहीले प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक धम्पु एक वर्ष अघि अमेरिका भ्रमणमा जानु हुँदा उहाँले प्रतिष्ठानको अक्षयकोषका लागि एक लाख रुपैयाँ रकम उपलब्ध गराउनु भएको हो ।
नवप्रतीभाहरूको प्रोत्साहनका लागि पुरस्कारको प्रवन्ध गर्ने सोचमा रहनु भएका प्रतिष्ठानका अध्यक्ष पहाडीले सो रकम प्राप्त भएपछि त्यसलाई सोही कार्यमा उपयोग गर्ने योजना बनाई कार्यसमितिमा प्रस्ताव गर्नु भएपछि प्रतिष्ठानले सो रकमको व्याजबाट प्रतिष्ठानले हरेक वर्ष सञ्चालन गर्ने ठाडोभाका प्रशिक्षणमा उत्कृष्ठ ठहर हुने दुई प्रतीभालाई सो पुरस्कार वितरण गर्ने गरी ‘ठाडोभाका– सिर्जना विरही थापा प्रतीभा पुरस्कार’को स्थापना गरिएको हो ।

प्रशिक्षण यही बैशाख ११, १२ र १३ गते रक गार्डेनमा :
चालु आवमा प्रतिष्ठानले सञ्चालन गर्ने प्रशिक्षण यही बैशाख ११, १२ र १३ गते लमजुङको मर्स्याङदी गाउँपालिका– ४ को खानी गाउँ स्थित रक गार्डेन होमस्टेमा हुने तयारी छ र सोही प्रशिक्षणको समापनका अवसरमा सो पुरस्कार वितरण गरिने तयारी रहेको प्रतिष्ठानले जनाएको समाचार प्रकाशनमा आएको थियो ।
सो प्रतिशक्षणमा कम्तिमा ३५ जनाले भाग लिने आंकलन आयोजकले जनाएका छन् ।
सो प्रशिक्षण एसईई दिएर बसेका, विद्यालयस्तरमा अध्ययनरत गायन, नाँच र वाध्यवादनमा रुचि भएका विद्यार्थी तथा अन्य इच्छुक व्यक्तिहरूलाई दिने तयारी रहेको सो प्रशिक्षणका प्रशिक्षक एवम् प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुराले बताउनु भएको छ । उहाँका अनुसार यो वर्षदेखि प्रतिष्ठानले सञ्चालन गर्ने प्रतियोगितामा भाग लिने टिममा तीन, तीन जना महिला र पुरुषमध्ये कम्तिमा ३५ वर्ष ननाघेको एक जना अनिवार्य हुनुपर्ने नीति लिइएको छ । उहाँले भन्नुभयो, ‘प्रतिष्ठान यो वर्षदेखि दशौं वर्षमा प्रवेश गरेको छ, अब हामी ठाडोभाकालाई त्यही स्तरमा गाउन सक्ने नयाँ पुस्ता तयार गर्दैछौं, त्यसका लागि नयाँ– नयाँ उपायहरूको खोजी गरिएको छ ।’
ठाडोभाकाको तीन दिने निःशुल्क सो प्रशिक्षण ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको आयोजना, रक गार्डेन होमस्टे समिति र शान्ति दिप आमा समूहको व्यवस्थापनमा सञ्चालन गर्न लागिएको हो । ठाडोभाका नयाँ पिंढीमा हस्तान्तरण गर्नका लागि नवप्रतिभालाई प्रोत्साहन गर्न प्रशिक्षणमा भाग लिनेमध्ये उत्कृष्ठ रुपमा छनौट हुने सो पुरस्कार प्रदान गर्ने तयारी गरिएको आयोजक प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार पुरस्कार राशि नयाँ प्रतीभा दुई जनालाई तीन, तीन हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । उहाँले भन्नुभयो, ‘विशुद्ध नयाँ प्रतिभालाई प्रोत्साहनका लागि यो पुरस्कारको प्रवन्ध गरिएको हो, यसले नयाँ पुस्तामा ठाडोभाका हस्तान्तरण गर्नका लागि वातावरण बन्ने विश्वास गरेका छौं ।’
‘ठाडोभाका– सिर्जना विरही थापा प्रतीभा पुरस्कार’ सातौं :
वरिष्ठ लोकगायिका सिर्जना विरही थापा स्याङ्जामा जन्म थलो रही हाल अमेरिकामा हुनुुहुन्छ । उहाँले मौलिका लोकभाकाका रुपमा रहेको ठाडोभाकाको संरक्षण र प्रवर्धनका लागि गर्नु भएको सहयोगप्रति प्रतिष्ठान परिवारका साथै व्यक्तिगत रुपमा आफू वरिष्ठ लोकगायिका सिर्जना विरही थापाप्रति कृतकृतज्ञ रहेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार प्रतिष्ठानले वितरण गर्ने पुरस्कारहरूमा यो पुरस्कार सातौं हो ।
अध्यक्ष पहाडीले भन्नुभयो, ‘यसअघि प्रतिष्ठानमा वरिष्ठ लोकगायिका सिर्जना विरही थापाले जस्तै विभिन्न सहयोगी मन भएका लोकसंस्कृतिलाई माया गर्नु हुने महानुभावले स्थापना गरिदिनु भएका छ वटा पुरस्कारको वितरण कार्य सुरु भइसकेको छ ।’ उहाँका अनुसार प्रतिष्ठानले सञ्चालन गरेको सबैभन्दा पुरानो ‘ठाडोभाका– टिकाकुमारी ढुंगाना स्मृति पुरस्कार’ हो । यो पुरस्कार २०७६ सालदेखि सञ्चालनमा आएको छ । यसको पुरस्कार राशि १० हजार नगद, सम्मान पत्र र दोसल्ला रहेको छ । त्यसपछि स्थापना भएका पुरस्कार ठाडोभाका– असल आमा– बाबा सम्मान पुरस्कार हो । यो पुरस्कार राशि पनि १० हजार नगद, सम्मान पत्र र दोसल्ला रहेको छ । अर्को छ, ‘ठाडोभाका– ह.ने.सुवे. सन्तबहादुर गुरुङ स्मृति पुरस्कार’ । यो पुरस्कार राशि २२ हजार २२२ नगद, सम्मान पत्र र दोसल्ला रहेको छ । यी दुबै पुरस्कार विगतका दुई वर्षदेखि सञ्चालनमा छन् । त्यस्तै, ‘ठाडोभाका– जगतमाया अधिकारी स्मृति पुरस्कार’, ‘ठाडोभाका– दुर्गा के.सी. स्मृति पुरस्कार’, ‘ठाडोभाका– रामदत्त अधिकारी स्मृति पुरस्कार’ यो वर्षदेखि सञ्चालनमा आएका हुन् । ती तीनवटै पुरस्कारको राशि पाँच हजार रुपैयाँ नगद, दोसल्ला र सम्मान पत्र रहेका छन् । सबै पुरस्कार हरेक वर्ष वितरण गर्ने गरिएको अध्यक्ष पहाडीले जानकारी दिनु भएको छ । उहाँका अनुसार ‘ठाडोभाका– सिर्जना विरही थापा प्रतीभा पुरस्कार’ यो वर्ष सञ्चालनमा आउने भएको छ । यो पुरस्कारको राशि पनि आउने वर्षबाट कम्तिमा पाँच पाँच हजार रुपैयाँको हुनेछ ।
अध्यक्ष पहाडीका अनुसार दाताहरूले दिनु भएका रकम कालान्तरसम्म पनि दुरुपयोग नहोसु् भन्ने हेतुले यसप्रकारका पुरस्कार सहित अध्यक्षकोषको प्रवन्ध गर्नु हुने दाता आफै वा उहाँको परिवारका प्रतिनिधि एकजान र प्रतिष्ठानका प्रतिनिधि एक जना गरी दुई जनाको दस्तखतमा सो व्याज रकम झिक्न पाउने गरी प्रतिष्ठानको नाउँका पुरस्कारको अक्षयकोष राख्ने प्रवन्ध प्रतिष्ठानको विधानमा नै उल्लेख गरिएको छ ।
स्थापना दिवसमा तीन दिने ‘ठाडोेभाका मेला’ :
अधिकांस पुरस्कार प्रतिष्ठानले आफ्नो स्थापना दिवसमा वितरण गर्ने गरिएको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले जानकारी दिनुभएको छ । उहाँका अनुसार स्थापना दिवसलाई प्रतिष्ठानले यो वर्षदेखि तीन दिने ‘ठाडोेभाका मेला’का रुपमा मनाउन थालिएको छ । जहाँ विभिन्न प्रतिभाको सम्मान, ठाडोभाका को खुला प्रतियोगिता, बाघचाल प्रतियोगिता सञ्चालन गरिआएकोमा यो वर्षदेखि पात बजाउने प्रतियोगिता पनि थप भएको छ । उहाँले भन्नुभयो, ‘प्रतिष्ठानले ७० वर्ष उमेर पुग्नुभएका ठाडोभाकाका अग्रज गायक गायिकाहरूलाई पनि खोजीखोजी सम्मान गर्ने तथा उहाँहरूको जीवनी स्मारिकामा प्रकाशन गर्ने गरिआएको छ ।’

प्रकाशित मिति २०८२ बैशाख ६, शनिबार ०७:५१ गते
हजुरको प्रतिक्रिया