बेसीशहर– लमजुङ जिल्लामा सडक खन्ने क्रममा फेला परेको पाईप वम नेपाल सेनाद्वारा डिस्पोज गरिएको छ । जिल्ला प्रहरी कार्यालयको हाता नजिकै फेला परेको सो वम नेपाली सेनाको लमजुङ स्थित चण्डिप्रसाद गण उदिपुरको डिस्पोजल टोलीले बैशाख ६ गते डिस्पोज गरेको हो ।
बेसीशहर नगरपालिका– ८ स्थित जिल्ला प्रहरी कार्यालय लमजुङको हाताभन्दा करिब पचास मिटर तल पूर्वी दिशामा सो वम फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक विस्तारका क्रममा व्ऋद्य ले बाटो खन्दा सडक मुनी गाडिएको अवस्थामा सो वम फेला परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाई ले बताउनु भयो । उहाँका अनुसार सो शंकास्पद वस्तु करिब तीन फिट लामो दुई ईन्च गोलाईको जिआई पाईपमा दुई वटा तार देखिएको अबस्थामा फेला परेको थियो । उहाँले भन्नुभयो, ‘सो जानकारी प्राप्त हुना साथ नेपाली सेनाको चण्डिप्रसाद गण उदिपुरलाई खबर गरिएको थियो ।’
सो शकास्पद वस्तु वम भएको आशंका हुनासाथ चण्डिप्रसाद गणको टोलीले पाईप वम रहेको पहिचान हुनासाथ वम डिस्पोजल टोलीलाई खबर गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताउनु्भयो । उहाँका अनुसार तत्पश्चात नेपाल प्रहरी र नेपाली सेना दुवैको टोलीले वम फेला परेको सो स्थान नजिक वस्ती रहेका कारण त्यहाँबाट सुरक्षित स्थानतर्फ लगिएको हो ।
सोही नगरपालिका– ८ को मलामीचौर नजिक मझुवाखोला र मस्र्याङदी नदीको किनारमा सो वस्तु लगिएको प्रजिअ पोखरेलले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘तर शुक्रबार राती अधेंरो भएका कारण उक्त बस्तुलाई तत्काल डिस्पोज गर्न नसकिएको हुदा उक्त स्थान सुरक्षित राखी शनिबार डिस्पोज गरिएको हो ।’ सो वस्तु के कसरी त्यहाँ आएको र के कुन समयको हो भन्ने नखुलेको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ ।
सो शंकास्पद वस्तु फेला परेको स्थान जिल्ला प्रहरी कार्यालय लमजुङबाट करिब ५० मिटर पूर्वतर्फ जे.सी.बी. प्रयोग गरी बाटो खन्ने क्रममा उक्त शङ्कास्पद वस्तु गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख रेशम बोहराले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति २०८२ बैशाख ६, शनिबार १७:५१ गते