काठमाडौं– पर्सी वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा नरोकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने कि नहुने भन्ने अन्योल भएका बेला आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले निर्धारित मितिमै परीक्षा सञ्चालन गर्ने निर्णय बैशाख ९ गते गरेको हो । तर गत चैत २० गतेबाट सडकमा ओर्लिएका शिक्षकहरू भने कक्षाकोठामा फर्किने मुडमा देखिएका छैनन् ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा– १२ को परीक्षा नरोकिने र निर्धारित मितिमै हुने बताउनु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनमा सबै संयन्त्र प्रयोग गर्ने जनाएको छ । परीक्षाको व्यवस्थापन र सञ्चालनमा शिक्षक सहभागी नभए अरु संयन्त्र प्रयोग गरेर भए पनि परीक्षा सञ्चालय गर्ने निर्णय बोर्डले गरेको हो ।
बोर्ड बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष महाश्रम शर्माले परीक्षाको वातावरण बनाउन फेरि अनुरोध गर्ने निर्णय भएको बताउनु भयो ।
कक्षा १२ को परीक्षा सञ्चालनका लागि आवश्यक वातावरण बनाउन बोर्डले जिल्ला परीक्षा समन्वय समितिदेखि आन्दोलनरत शिक्षकहरूलाई पनि अनुरोध गरेको छ भने विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न भनेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय निकायलाई भन्ने । जिल्लामा परीक्षा समन्वय समिति छ । शिक्षा इकाइ छ । प्रदेशमा बोर्डको कार्यालय छ । सबै मिलेर केन्द्राध्यक्ष खटाएर परीक्षा हुन्छ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भन्नुभयो । उहाँका अनुसार सबै शिक्षक नभए पनि कर्मचारीको सहयोगमा परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ । उहाँले भन्नुभयो, ‘शिक्षकहरूलाई फर्किन आह्वान गरेका छौं । जानुहुन्छ होला । जानु भएन भने त्यसको विकल्प पनि सोचेका छौं ।’ पालिकाका कर्मचारी, क्याम्पसका शिक्षक, निजीका शिक्षक पनि हुनुहुन्छ, जिल्लामा आवश्यकता हेरेर प्रमुख जिल्ला अधिकारीले सहज हुनेगरी संयन्त्र प्रयोग गर्न सक्नु हुन्छ शर्माले जानकारी दिनुभयो ।
यसअघि परीक्षा सञ्चालनमा खटिने जनशक्तिका लागि तालिम हुने गरे पनि यसपटक शिक्षकहरु आन्दोलनमा भएकाले तालिम समेत नहुने भएको छ ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । कक्षा १२ को परीक्षा आउन दुई दिनमात्रै बाँकी रहेको अवस्थामा सरकारले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सकेको छैन ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी रहने बताउनु भयो । उहाँका अनुसार हाम्रो आन्दोलन यथावत् छ, आन्दोलनलाई निर्णायक बनाउन अझ जोड बलसहित जुटौं । उहाँले आग्रहका साथ शिक्षकहरूलाई भन्नु भएको छ, ‘आन्दोलनलाई परिणाममुखी बनाउन धैर्यता, संयम र अनुशासन कायम राख्न आग्रह छ ।
बोर्डको निर्णयप्रति आन्दोलनरत नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाएको छ । ‘बोर्डका अध्यक्ष महाश्रम शर्मा सरले दुई साता जति सार्दा क्यालेन्डर प्रभावित नहुने भन्नुभएको थियो । बिहान आन्दोलनमा पुगेपछि कर्मचारी परिचालन गरेर परीक्षा गर्ने निर्णय सुन्यौं । हामी आन्दोलनमै छौंं । शिक्षकबिना नै परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण हुन्छ भने ठिकै छ । त्यो बोर्डको कुरा हो,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भन्नुभयो ।
पराजुलीले थप भन्नुभयो, ‘सरकारले दम्भ देखायो । शिक्षक कर्मचारीलाई बाइपास गरेर परीक्षा सञ्चालन गर्छौं भन्नु भएको छ । कति सफल हुने रहेछ हामी पनि हेर्छौं, शिक्षकलाई अपमान गर्नुभएको छ । अपमानित हुने पालो उहाँहरूको पनि आउँछ ।’
महासंघ अन्तर्गत चार लाख शिक्षक–कर्मचारी छन् । अरु संयन्त्र प्रयोग गरेर परीक्षा गरे विद्यार्थीको उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा शिक्षक महासंघले गरेको छ । बोर्डले भने परीक्षा सञ्चालनमा सहयोग गर्न महासंघलाई आग्रह गरिरहेको छ ।
शिक्षक आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण परीक्षाबारे उत्पन्न शंकाकाबीच बोर्डले नरोक्ने निर्णय गरेको हो । शिक्षकहरूका माग सम्बोधनका लागि विभिन्न प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गर्नु भएकी मन्त्री भट्टराईले अर्थ मन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नपाउने स्थिति देखेपछि राजीनामा दिनु भएको हो ।
कक्षा १२ को परीक्षाको तयारीमा पाँच लाख ५० हजारभन्दा बढी विद्यार्थी छन् । परीक्षाका लागि १ हजार ५ सय ९० परीक्षा केन्द्र तोकिएका छन् । तर, अभिभावक तथा परीक्षार्थीमा परीक्षा होला नहोला भन्ने अन्योल कायम छ । त्यस्तै भर्ना समेत प्रभावित भएको हुँदा धेरै अभिभावकहरू यतिबेला आफ्ना सन्तानलाई कता पढ्न पठाउने ? भन्नेबारे सोच्नुपर्ने बाध्यतामा छन् ।
उता, प्राज्ञहरू भने विद्यार्थीको परीक्षा प्रभावित हुनुमा सरकार र शिक्षक दुवै जिम्मेवार रहेको बताउँछन् ।
शिक्षकहरूले गरेको शैक्षिक हड्तालका कारण कक्षा १२ को परीक्षा मात्र नभई देशभरका २८ हजार बढी सामुदायिक विद्यालयमा भर्ना अभियानलगायत प्रभावित भएको छ । यसबीचमा कतिपय स्थानीय तहहरूले शिक्षकहरूलाई विद्यालय फर्कन आग्रह गर्दै सूचना जारी गरेका छन् ।
प्रकाशित मिति २०८२ बैशाख ९, मंगलवार १७:२१ गते