काठमाडौं– अन्ततः कक्षा १२ को परीक्षा सरेको छ । यही वैशाख २१ देखि हुने गरी नयाँ तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको वैशाख ९ गते साँझ बसेको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो ।
यसअघि भोलि वैशाख ११ गते हुने तयारीमा रहेको परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताउनु भयो । हिजै बिहान बसेको बोर्ड बैठकले परीक्षा नसर्ने शिक्षकहरूले असयोग गरेमा विकल्पका विधि अपनाएर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
तर आन्दोलनरत शिक्षकहरूले सरकारले दम्भ देखायो भन्दै परीक्षाको उत्तरपुस्तिकासमेत नजाच्ने अडान राख्न थाले पछि भने सरकार परीक्षा मिति सार्न बाध्य भएको हो ।
शिक्षक महासंघसँग पनि अनुरोध गरेका थियौँ, कतिपय विद्यार्थी परीक्षा केन्द्रमा जान नसकेको कारण पनि सुन्यौँ, प्रधानमन्त्रीसँग सल्लाह गरेर केही दिन सार्ने तयारी गरेका हौँ बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताउनु भयो । उहाँका अनुसार, परीक्षा तालिका भने भोलि मात्रै सार्वजनिक हुनेछ । उहाँले भन्नुभयो, ‘वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेदेखि गर्ने बोर्डको निर्णय भएको छ, परीक्षाको तालिका भोलि मात्रै सार्वजनिक गर्छौँ ।’
त्यसअघि बोर्डका अध्यक्ष शर्मा र शिक्षा सचिव दीपक काफ्ले प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नु भएको थियो । सोही भेटमा प्रधानमन्त्री ओलीले परीक्षा केही दिन सार्न निर्देशन दिनु भएको हो ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू आलोपालो गर्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । सरकारले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सकेको छैन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बैशाख ८ गते राजीनामा दिएपछि शिक्षकहरूका माग सम्बोधनका बारेमा झनै अन्योल बढेको स्रोतले बताएको छ ।
शिक्षकहरूका माग सम्बोधनका बारेमा विभिन्न प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गर्नु भएकी मन्त्री भट्टराईले अर्थ मन्त्री विष्णु पौडेल र प्रधानमन्त्री ओलीको साथ नपाउने स्थिति देखेपछि राजीनामा दिनु भएको हो । तर राजीनामा पत्रमा भने उहाँलाई स्वास्थ्यको कारण लेख्न लगाइएको छ ।
परीक्षा बोर्डले आज बिहानको केहीबेरमा परीक्षा स्थगित गर्नेबारे सूचना निकाल्ने तयारीमा जुटेको छ ।
यसैबीच, अन्तिम समयमा परीक्षा रोकिँदा विकटका विद्यार्थीको बिचल्ली भएको जानकारीमा आएको छ ।
कक्षा १२ का विद्यार्थीहरू भन्छन्, ‘पछिल्ला तीन साता अन्यौलमा बिते । परीक्षा हुने हो कि होइन भन्ने द्विविधाका बीच परीक्षा तयारी गरिरहेका थियौं ।’ हिजो राती ९ बजेतिर परीक्षा स्थगित भएको सूचना थाहा पाएर दुःखी छौं आक्रोशपूर्ण शैलीमा उनीहरू भन्छन् ।
प्रकाशित मिति २०८२ बैशाख १०, बुधबार ०७:२५ गते