काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २५ वर्ष जवान रहने उदघोष गर्नु भएको छ । उहाँले आफू अहिले बुढो नभएको र अस्वस्थ्य नरहेको स्पष्टीकरण दिदै आफ्नो नेतृत्वप्रति शंका नगर्न र विकल्प नखोज्न पार्टी पंक्तिलाई चेतावनी दिदै बैशाख ९ गते त्यस्तो बताउनु भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औं दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो नेतृत्व देश र जनताको हितमा रहेको तर्क गर्दै पार्टी नेतृत्वको विकल्प खोजिन थालेकोप्रति ओलीले आश्चार्य व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, ‘दुनियाँले यत्रो हमला गरेको छ । केपी ओली बिनाको एमाले खोजेको छ । किन खोजेको होला, केपी ओली बिनाको एमाले ?’
लामो सम्बोधनका क्रममा गलत मनसाय राख्नेहरूले आफू बिनाको एमाले कल्पना गरिरहेको उहाँले व्याख्या थियो । उहाँले भन्नुभयो, ‘तिनको मनसाय राम्रो भए त म सरक्क छोड्दिहाल्थे नि ! तर हाम्रै देशका लागि हो त ? हाम्रै पार्टीका लागि हो त ? तसर्थ केपी ओली बिनाको एमाले, एमाले बिनाको नेपाल चाहियो रे उनीहरूलाई ।’
गणतन्त्रलाई नमुनाका रुपमा स्थापित गर्दै विकास र सुशासन तथा समृद्ध नेपाली सुखी नेपालीको महान् उद्देश्यप्रतिको नेतृत्वको दृढता र सक्रियताले पार्टी र आन्दोलनलाई कमजोर हुन नसक्ने पुष्टि भइसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले राणा शासन, पञ्चायत र निरङ्कुश राजतन्त्रसँग जुध्नुका साथै सबै प्रकारका हमला हुँदा प्रमुख शक्तिका रुपमा स्थापित भएको पार्टी एमाले भएकाले कुनै पनि प्रकारको दुविधा मनमा नलिन र आत्मविश्वास बढाउन आग्रह गर्नुभयो ।
उहाँले आफ्नो नेतृत्वको पुष्टि गर्दै समाज बिगार्ने, राष्ट्रलाई नोक्सान गर्ने शक्तिहरूले कम्युनिष्ट आन्दोलन ध्वस्त बनाउन षड्यन्त्रकारीहरूबाट परिचालित भएर दुई तिहाइको अवस्थामा पुगेको पार्टीलाई विभाजन गराएपनि आफूहरूले आन्दोलनलाई पुनः गठित बनाउँदै जनताको सबैभन्दा लोकप्रिय पार्टीमा स्थापित गराएको दावी गर्नु भयो ।
नेतृत्वका निम्ति आफू योग्य रहेको पुष्टि गर्न ओलीले पार्टी विभाजनको समय सम्झदै अनेकौं उदाहरण दिदै भन्नुभयो, ‘सबै शक्ति एकजुट भएर, फुटाएर, टुक्र्याएर सिध्याउँछु भनेर सबै प्रकारका हमला केन्द्रीत गर्दा जोगिएर आएको पार्टी हो । जोगिएर मात्र होइन, प्रमुख शक्तिका रुपमा स्थापित भएको पार्टी हो ।’
उमेर र स्वास्थ्य दुवै हिसाबले पार्टी नेतृत्व छोड्ने बेला नभएको तर्क गरेका ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई अप्रत्यक्ष चुनौती सहित भन्नुभयो, ‘एक दिन हाफ म्याराथुन स्याराथुन राखौं कि क्या हो ?’
ओलीको स्वास्थ्य र उमेरका कारणले पनि पार्टी नेतृत्वको विकल्पमा नयाँ नेतृत्व आवश्यक परेको सार्वजनिक तर्क गर्नु भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति आक्रोश पोख्दै भन्नुभयो, ‘कतिपयलाई मेरो उमेरको चिन्ता छ, कतिपयलाई मेरो स्वास्थ्यको चिन्ता छ, पोहोरपरार बिरामी थिएँ । अहिले बिरामीसिरामी छैन । अब मलाई बुढै देख्नु मन छ भने त २०/२५ वर्ष पर्खनुस् न बाबा । बुढो नभइ त मान्छे रहनै सक्दैन नि !’
उमेरका सन्दर्भ आफ्नै पिताको उदाहरण दिदै ओलीले थप भन्नुभयो, ‘हतार गरेर हुँदैन, २०/२५ वर्ष पर्खनुस् । अहिले त मेरो बुवा हिंड्दै हुनुहुन्छ, लौरो नटेकीकनै, मलाई बुढो, के भ’को आँखा होला ? मेरो बुवालाई भने हुन्थ्यो होला बरु ।’
सकेसम्म कञ्जुस्याई नगरी नेतृत्व गर्ने दाबी गर्दै ओलीले भन्नुभयो, ‘जबसम्म यस मिसनलाई बोक्न सक्छौं, कञ्जुस्याई नगरिकन बोक्छौं । जब सक्दैनौं, बाँकी साथीहरू आउँछन्, हिजोका साथीहरू बितेर जानुभयो, हामीले थामेर बोकेर आएका छौं । हामी पछि अरु साथीहरूले थामेर अगाडि बढाउनु हुन्छ ।’
आफ्नो नेतृत्वले सबै घेराबन्दी तोडेर तीन वर्षभित्रै सरकारको नेतृत्वमा फर्किएको स्मरण गर्नु भयो । नेतृत्व फेर्ने समय नभएको तर्कसँगै ओलीले नेता–कार्यकर्तालाई आत्मविश्वास बलियो बनाउन आग्रह साथ उहाँले भन्नुभयो, ‘असार १७ गते राति नै सबै छक्क परे । सिध्याउँछौं भनेको एमाले, सिध्याउँछौं भनेको केपी ओली प्रधानमन्त्री पो हुने भयो । दुनियाँ लाग्दा पनि केपी ओली प्रधानमन्त्री, फेरि एमाले सरकारमा ।’ ओलीले आफ्नो निर्विकल्प नेतृत्वको पुष्टि गर्नु भयो ।
उहाँले थप भन्नुभयो, ‘साथीहरूमा आत्मविश्वास कम भएको हो कि ? नेतृत्वप्रति विश्वासमा केही कमी आएको हो कि ? जेलनेल खटेर संघर्षका मैदानमा, कामका दौरानमा नीति निर्माणको तहमा अथवा अभियानमा परीक्षा मात्र होइन, अग्नि परीक्षा दिएर आएका छौं । अनि फेरि पनि साथीहरूमा धर्मर हुने, यी सही छन् र भनेजस्तो लाग्ने ?’
पूर्वराजा र नयाँ पार्टीप्रति आक्रोश :
एमालेभित्र आफ्नो विकल्प खोज्नेगरी भइरहेका गतिविधिप्रति आक्रोशपूर्ण असन्तुष्टि व्यक्त गर्नु भएका ओलीले राजावादी र नयाँ राजनीतिक शक्ति (पार्टी रास्वपा)हरूप्रति उक्तिकै चर्को आक्रोश पोख्नु भयो । ओलीले आश्चर्य व्यक्त गर्दै भन्नुभयो, ‘हामीले फालिसकेका, सयौं वर्ष देशलाई अन्धकारमा राखेर जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरू अहिले फेरि प्रतिगमन गरेर आउन खोजिराखेको छ, कत्रो आँट ? एक्काइसौं शताब्दीमा श्रीपेच लगाएर बस्ने रे ! महाराधिराज भएर बस्ने रे, हामीलाई, जनतालाई हुकुम दिने रे ।’
तर जनता, संविधान र देश भन्दा माथि कोही आउन नसक्ने उहाँको दृढोक्ति थियो । उहाँले थप भन्नुभयो, ‘१५ गते यिनीहरू नांगिए । अलिक अप्ठ्यारो पर्यो भने, हामीले खोजेको त संवैधानिक राजतन्त्र ! संविधान नमान्ने, कानुन नमान्ने, लोकतन्त्र नमान्ने, खोज्ने संवैधानिक ?’
यसैगरी, रास्वपाप्रति संकेत गर्दै उहाँले भन्नुभयो, ‘नयाँ शक्तिहरूसँग राजनीतिक अनुभव नभएकाले देश उनीहरूको जिम्मामा लगाउन सकिदैन । ‘अझैपनि ट्याइट्याइ गरिरहेछन्, भुईँफुट्टाहरूले । राजनीति गर्नेहरूले राजनीति गर्न हुँदैन रे । माझीलाई डुंगा चलाउन नदिने, म चलाउछु भनेर बगाइदिने,’ प्रतिप्रश्न गर्दै ओेलीले भन्नुभयो, ‘यो बुढो ड्राइभर २० वर्ष भयो चलाएको, म अब सिटमा बसेर चलाउँछु भन्छ । कहिले नचलाएकोले त्रिशुलीमा खसाउँदैन ?’
एमालेविनाको नेपाल हेरौँला, मिसन २०८४ मा हामी झन् बलियो भएर आउनेछौँ, अध्यक्ष ओलीले एमाले अस्तित्वको निम्तिको लडाइँमा नभई विजयको यात्रामा रहेको जनाउँदै मिसन २०८४ बाट निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण भएर आउने उद्घोष गर्नुभयो ।
सञ्चार माध्यमहरूप्रति आक्रोशित अभिव्यक्ति :
सञ्चार माध्यमहरूप्रति गैरजिम्मेवार अभिव्यक्ति दिदै ओलीले आक्रोशपूर्ण शैलीमा भन्नुभयो, ‘सबैको हेडलाइन मेराविरुद्ध । यो त कस्तो भने आश्चर्यको पनि अनौठो आश्चार्य लाग्छ । यस्तो दुस्मनी के कारणले हो,’ ओलीले थप भन्नुभयो, ‘सबैले एकैठाउँ बसेर सल्लाह गरेर लेखे जस्तै गर्छन् । मानिलिऊ प्रस्ताव गरेर पारित गरेर यही लेख्ने भनेर लेखे जस्तै । सबैको टेलिफोन सम्वाद भएर लेखे जस्तै लेखेका छन् ।’
शिक्षा मन्त्रीले स्वास्थ्यको कारणले राजीनामा दिएको तर मिडियाले आफूले असहयोग गरेकाले दिएको भनेर हेडलाइन बनाएको भन्ने उहाँको टिप्पणी थियो । उहाँले भन्नुभयो,
‘राजीनामा दिनु भएको छ भन्ने खुब प्रचार भएको छ । किन दिनुभयो रे भने प्रधानमन्त्रीले बसिखानै दिएन रे ! मैले बनाएको मन्त्री ! मैले काम लगाइराख्या छु, सहयोग गरिराख्या छु, काम सिकाइराख्या छु ।’
उहाँले थप भन्नुभयो, ‘अस्ति भर्खर पनि अप्रेसन गर्नुभयो, घाँटीको, स्वास्थ्य ठीक भएन । धेरै ठूलो मन्त्रालय छ, शिक्षा । सजिलो छैन । त्यसो भएर स्वास्थ्यको कारणले उहाँले काम गर्न सक्नुभएन ।’
आजको अखबार, सबैको हेडलाइन हाम्राविरूद्ध । सबैको हेडलाइन मेराविरूद्ध । त्यो त कस्तो भने .. अनौठो आश्चर्य लाग्छ । यस्तो दुस्मनी के कारणले हो ? के कारणले हो यस्तो दुस्मनी ? सबैले एकैठाउँ बसेर सल्लाह गरेर लेखेजस्तै छ । सल्लाह गरेर । मानिलिऊँ प्रस्ताव राखेर, पारितै गरेर, यही लेख्ने भनेर लेखेजस्तै । सबैको टेलिफोन संवाद भएर योजनाबद्ध ढंगले लेखेका छन् । आजका पेपरहरूका हेडलाइन हेर्नुस्, सबैका ।
उहाँको थप टिप्पणी थियो, ‘कोहीकोही नयाँ शक्तिहरूले भने पनि– शिक्षामन्त्रीको राजीनामा आयो, प्रधानमन्त्रीको आउनुपथ्र्यो ! प्रधानमन्त्रीको राजीनामा भन्ने गरेको छु त, १५ महिनापछि आउँछ ।’ हाम्रो सहमति नै छ, नेपाली कांग्रेससँग, १५ महिनापछि आउँछ राजीनामा । मैले गर्छु । शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ, स्पष्टै छ । १५ महिना पर्ख न, मेरो राजीनामा हेर्ने हो भने उहाँले आक्रोशपूर्ण भागभङ्गीमा भन्नुभयो ।
प्रकाशित मिति २०८२ बैशाख १०, बुधबार ०९:३२ गते