वागीना विधामा आधारित ठाडोभाका तीन दिने निःशुल्क प्रशिक्षण सुरु

वागीना विधामा आधारित ठाडोभाका तीन दिने निःशुल्क प्रशिक्षण सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख ११ गते बिहिबार ०६:३२

खानीगाउँ(लमजुङ) – लमजुङमा ठाडोभाकाको तीन दिने निःशुल्क प्रशिक्षण यहाँ सुरू भएको छ । आयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुले बैशाख ११ गते उद्घाटन गर्नु भएको हो । उहाँले उद्घाटन...

प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक धम्पुद्वारा उद्घाटन

खानीगाउँ(लमजुङ) – लमजुङमा ठाडोभाकाको तीन दिने निःशुल्क प्रशिक्षण यहाँ सुरू भएको छ । आयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुले बैशाख ११ गते उद्घाटन गर्नु भएको हो ।
उहाँले उद्घाटन मन्तव्य व्यक्त गर्दै आफूहरू यहाँ दुई उद्देश्यले आएको उल्लेख गर्दै लोपोन्मुख ठाडोभाका संरक्षण एवम् प्रवद्धन गर्ने र अर्कोतिर रक गार्डेनको प्रचारप्रसार राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नु हो भन्नु भयो । उहाँले संसारका धेरैले हास्न नपाएको स्थिति छ, तर हाम्रोमा ठाडोभाका जस्ता गीतले गर्दा हास्न, गाउन, नाच्न, रमाउन पाएका छौं भन्नुभयो । त्यसैले यो गीतको संरक्षण र प्रवद्र्धन गर्नु पर्छ, त्यसका लागि यो प्रशिक्षण आयोजना गरिएको हो उहाँले उल्लेख गर्नुभयो । ठाडोभाका लमजुङको मात्र नभई गण्डकी प्रदेशकै शिरफूल हो, पहिचान हो त्यसैले यसको संरक्षण आवश्यक छ उहाँको कथन थियोे । होमस्टेहरुले नेपाली लोककला, संस्कृतिको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा उल्लेख्य काम गरेको हुदा यिनको स्तरबृद्दि र थप प्रचारप्रसार आवश्यक छ भन्नुभयो । उहाँले करिब पाँच वर्ष अघि यहाँ आएर लाएको पिरती मौलाओस् भन्नका लागि आफूले फूलका केही बिरुवा समेत यो होमस्टेमा पठाएको स्मरण गर्दै त्यही फूलझैं कामसार्की गुरुङ र खानीगाउँ बासी हासेको देख्न चाहेको उल्लेख गर्नुभयो । प्रशिक्षणको तीनदिने बसाइँले हाम्रा सम्बन्ध थप बलिया हुनेछन् भन्ने उहाँको अपेक्षा थियोे ।
उक्त अवसरमा अध्यक्षीय मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले लमजुङमा लोकसंस्कृतिको इतिहासमा रकगार्डेन होमस्टे र दिपज्योति आमा समूहले नयाँ पाना थप्ने र स्वर्णिम अक्षरमा अंकित हुनेछ भन्नुभयो । उहाँले कामसार्कीजीसंग ०४९ सालबाट सुरु भएको सहयात्राको क्रममा यो अर्को कडी थप भएको र यो क्रम जीवन पर्यन्त रहनेछ भन्नुभयो । प्रतिष्ठान गैरनाफामूलक संस्था भएको हुदा यहाँहरु जस्तै मनकारी मनहरुसंग हातेमालो र सहकार्य गर्दै जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्लाहरुमा पनि आफूहरुले प्रतिष्ठानमार्फत प्रशिक्षणका कार्य पोखरा र चितवनको माडीमा सम्पन्न गरेकोे स्मरण गर्नुभयो ।
उहाँले नयाँ पिंढीमा ठाडोभाका हस्तान्तरण गर्न विभिन्न उपायको खोजी गरिरहेको जानकारी दिदै केही सफलता प्राप्त भएको जानकारी दिनुभयो । यो क्रममा वरिष्ठ लोकगायिका सिर्जना विरही थापाले गर्नुभएको सहयोग र स्व। सन्तबहादुर गुरुङ स्मृति पुरस्कार स्थापना गरेको जानकारी दिनुभयो । लोकगायिका विरही प्रतिभा पुरस्कार यो प्रशिक्षणको समापनमा दुईजनालाई वितरण गरिने जानकारी दिनुभयो । उहाँले स्व. सन्तबहादुर स्मृति पुरस्कारको राशि २२ हजार २२२ रुपैयाँ रहेको र त्यो ४५ वर्षभन्दा कम उमेरका ठाडोभाका अभियन्ता तथा गायक गायिकालाई वितरण गर्ने गरिएको जानकारी दिदै प्रतिष्ठान १० औं वर्षमा प्रवेश गरेको हुदा हामी ठाडोभाकामा नयाँपन अर्थात मौलिकतामा ध्यान दिने भएका छौं, अब प्रतियोगिताका सर्त पूरा नगर्ने समूहको नंबर घट्ने समेतको प्रवन्ध आउदो वर्षबाट गरिने भएको र एक समूहमा कम्तिमा एकजना ३५ वर्ष ननाघेको केटाकेटी अनिवार्य हुनुपर्ने प्रवन्ध गरिएको छ, यसले पनि नयाँ पुस्ता प्रोत्साहित हुने सुनिश्चित गरेको छ भन्ने जानकारी दिनुभयो । त्यसैले पनि यो प्रशिक्षण महत्वपूर्ण रहेको छ पहाडीले उल्लेख गर्नु भयो ।
सो कार्यक्रममा मनास्लु वन उपभोक्ता महासंघका अध्यक्ष गममाया गुरुङले सिक्ने मौकाको उपयोग गरौं भन्ने आह्वान गर्नुभयो । त्यस्तै प्रतिष्ठानका उपाध्यक्ष एवम् प्रशिक्षक सौतादेवी दुराले प्रतिष्ठानले लापोन्मुख ठाडोभाका नयाँ पुस्तामा हस्तान्तरण गर्ने यस्ता प्रशिक्षणका कार्यक्रम लिएर आफूहरू जिल्लाको चार दिशामा मात्र नभई पोखरा चितवनको माडीमा समेत पुगेको र तनहुँ लगायतका जिल्लामा जाने योजना रहेको सुनाउनु भयो ।
उक्त वडाको जनप्रतिनिधि हुनुका साथै रकगार्डेन होमस्टेका पूर्व अध्यक्ष सीता गुरुङले स्वागत मन्तव्य राख्दै आफ्नो जस्तो दुर्गम गाउँमा यस्तो प्रशिक्षण सञ्चालन गर्न पाउनु सौभाग्य भएको उल्लेख गर्दै सबैले सिकेर उपलब्धिपूर्ण बनाऔं भन्नुभयो ।
उक्त कार्यक्रमको सञ्चालन गर्दै आयोजक प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य एवम् रकगार्डेनका योजनाकार कामसार्की गुरुङले ठाडोभाकाका महत्वपूर्ण व्यक्तित्वको उपयोग गरेर प्रशिक्षणलाई अविस्मरणीय बनाऔं भन्ने अनुरोध गर्नुभयो । उहाँले धम्पुलाई पिताको रुपमा पाएको उदाहरण त पुष्टि गर्नु भएको थियोे भने प्रतिष्ठानका अध्यक्ष पहाडीसंग ०४९ देखि सुरु भएको यात्रा जारी रहेको र उहाँ पनि आफ्ना थोरै गुरुमध्ये एक भएको उल्लेख गर्नु भएको थियो ।
तीन दिने सो तालिममा ३३ जनाले भाग लिएका छन् भने अधिकांश महिला छन् । बैशाख १३ गते हुने समापन कार्यक्रम लमजुङ उत्तरी भेग तमु समाजका अध्यक्ष मनिप्रसाद गुरुङको प्रमुख आतिथ्यता रहने भएको आयोजकको भनाइ छ ।
सो प्रशिक्षणमा बुद्धिमान दुरा धम्पु, सीतादेवी दुरा, नवराज पहाडीका अतिरिक्त अमरध्वज गुरुङ, देवराज गुरुङ, सीता गुरुङ, मीना गुरुङ आदिले प्रशिक्षण दिनुभएको छ ।

प्रकाशित मिति २०८२ बैशाख ११, बिहीबार १८:३२ गते
हजुरको प्रतिक्रिया