ठाडोभाका तीन दिने निःशुल्क आठौं प्रशिक्षण रक गार्डेनमा ऐतिहासिक रुपमा सम्पन्न

ठाडोभाका तीन दिने निःशुल्क आठौं प्रशिक्षण रक गार्डेनमा ऐतिहासिक रुपमा सम्पन्न

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख १३ गते शनिवार ०९:०९

खानीगाउँ(लमजुङ)– लमजुङमा सञ्चालन गरिएको ठाडोभाका तीन दिने निःशुल्क आठौं प्रशिक्षण ऐतिहासिक रुपमा सम्पन्न भएको छ । मर्स्याङ्दी गाउँपालिका– ५ को यहाँ स्थित रक गार्डेन होमस्टेमा सञ्चालन गरिएको सो तालिम बैशाख १३ गते सम्पन्न भएको...

खानीगाउँ(लमजुङ)– लमजुङमा सञ्चालन गरिएको ठाडोभाका तीन दिने निःशुल्क आठौं प्रशिक्षण ऐतिहासिक रुपमा सम्पन्न भएको छ । मर्स्याङ्दी गाउँपालिका– ५ को यहाँ स्थित रक गार्डेन होमस्टेमा सञ्चालन गरिएको सो तालिम बैशाख १३ गते सम्पन्न भएको हो ।
लमजुङ उत्तरी भेक तमु समाज काठमाडौंका अध्यक्ष मणिप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण समापन गरिएको हो । सो अवसरमा प्रमुख अतिथि गुरुङले सहभागीहरूलाई पुरस्कार वितरण गर्नुहुँदै वरिष्ठ लोक गायिका सिर्जना विरही थापा प्रतीभा पुरस्कारका विजेताहरूलाई पुरस्कार वितरण गर्नु भयो । त्यसबाहेक प्रशिक्षण अवधिमा सञ्चालन गरिएको रमाइलो खेलका विजेतालाई पनि उहाँले प्रमाणपत्र र पुरस्कार वितरण गर्नु भएको थियो ।
आफ्नो प्रमुख आतिथ्य मन्तव्यमा उहाँले ठाडोभाका लोककला प्रतिष्ठानसँग केही वर्षअघिदेखि ठोकिएको भए तापनि यसको मुल उद्देश्यसँग परिचित हुने मौका यो कार्यक्रममा मात्र मिल्यो, प्रतिष्ठानबाट असल कामको थालनी भएको रहेछ म पनि यो संस्थासँग आजकै मितिबाट जोडिन्छु उहाँले भन्नुभयो । पछिल्ला दिनमा पश्चिमा संस्कृतिमा रमाउने प्रवृत्ती बढेको बेलामा आफ्नो मौलिक संस्कृति संरक्षण कार्य दुरुह बन्दै गएको बेलामा यो अभियान सञ्चालन गर्ने प्रतिष्ठानको कार्य प्रशंसनीय छ । हाम्रो दुर्गम क्षेत्र पनि यो अभियानमा जोडिएको र तीन दिनको प्रशिक्षण अवधिमा खासगरी नयाँ टिनएजका प्रतीभावान् भाइबहिनीहरू तथा अन्य सहभागीहरूले ठाडोभाका नाचे, गाएको देख्न पाउँदा गर्वको अनुभूति भएको उल्लेख गर्नु भयो ।
उहाँले आफूहरूले बाहुनडाँडामा एक देवी मन्दिर पुनःनिर्माण गरेर हालै बैशाख ५ गते उदघाटन गरेको र हाल वाडनं– ५ को घोस्योडाँडामा रहेको साङ्गे छोयलिङ गुम्बा परिसरमा १७ फिट अग्लो बुद्धको मुर्ति र आठ स्तुपा स्थापना कार्य पनि निजी स्रोत संकलन गरेर आफ्नो नेतृत्वमा भइरहेको जानकारी दिनुभयो । उहाँले त्यो गुम्बाले पनि यस क्षेत्रको आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका क्षेत्रमा टेवा पुग्ने विश्वास गरेको उल्लेख गर्नु भयो ।
उहाँले समाजको नेतृत्व आफ्नो हातमा रहिरहेमा कुनै वर्षको ल्होसार कार्यक्रममा ठाडोभाकाको टिमलाई काठमाडौं बोलाउने समेत जानकारी दिनुभयो ।
सो अवसरमा वरिष्ठ लोकगायिका सिर्जना बिरही थापा प्रतीभा पुरस्कारबाट धनकुमारी गुरुङ(काशी) घेर्मु, वेदबहादुर गुरुङ बलडबिसौना र आशबहादुर गुरुङ खानीगाउँलाई जनही दुई हजार रुपैयाँ र प्रमाणपत्रले पुरस्कृत हुनु भयो ।
त्यस्तै, टिनएजतर्फ खानी गाउँका अनिसा गुरुङ, अञ्जु गुरुङ, रोमा गुरुङ र रिया गुरुङ पुरस्कृत भएका छन् भने अमर माविबाट सहभागी भएका प्रतीक्षा गुरुङ नेतृत्वको टोलीका संकल्प थापा, सौगात अधिकारी र अमृत थापा तथा चन्द्रोदय मावि बाहुनडाँडाकी परिधी घिमिरेलाई पनि सो अवसरमा पुरस्कृत गरिएको थियो ।
यसैगरी, सो अवसरमा खेलाइएको रमाईलो खेलामा प्रतीक्षा गुरुङ, अमर मावि र खानी गाउँका सरिता गुरुङ क्रमशः पहिलो र दोस्रो हुनु भई पुरस्कृत हुनु भएको थियो ।
ढु्ंगामा दैवी शक्ति छ :
सो अवसरमा विशेष अतिथि आयोजक प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले खानी गाउँबासीको अपार मायाले आफू अत्यन्तै प्रभावित भएको, यहाँको प्रकृतिसँग पनि उत्तिकै लगाव रहेको आफूले पाएको बताउनु भयो । उहाँले पहिलो दिन बिहान उठेर यहाँ वरपर मन्दिरहरू कहाँ होला ? भनेर खोज्ने क्रममा मन्दिर नदेखेपछि त्यो ढुंगाप्रति आफ्नो श्रद्धा जागृत भएको बताउनु भयो । त्यसैगरी, आज पनि त्यो ढुंगाबाहेक अन्यले आफूलाई आकर्षित गर्न सकेन, अन्ततः मैले त्यो ढुंगामा दैवी शक्ति भएको अनुभव गरेँ र मितेरी लगाए । यसको अर्थ मेरा सन्तान दर सन्तानले पनि यो ठाउँलाई सम्झिरहोस् भन्ने इच्छा हो, अवश्य पनि सम्झनेछन् र यो ठाउँमा आउने छन् उहाँले उल्लेख गर्नु भयो ।
त्यो बडेमाको ढुंगा अनौठो तरिकाले त्यो स्थानमा अडिएर रहेको, तल टेक्ने स्थान पनि खासै नभएको र माथि पनि कतै त्यसले अडिने गरी छोएको छैन तर अनौठो तरिकाले उभिएको छ र २०७२ सालको भूकम्पमा पनि टसमस भएन भन्ने जानकारी स्थानीयवासी सामाजिक अभियन्ता कामसार्की गुरुङले जानकारी दिनुभयो ।
उक्त अवसरमा विशेष अतिथि रहनु भएकी वडा सदस्य एवम् रकगार्डेन होमस्टेकी निवर्तमान अध्यक्ष सीता गुरुङले रकगार्डेनको स्थापनाकालीन दिन सम्झदै त्यो बेला र ऐले धेरै फरक भएको छ भन्नुभयो । उहाँले धम्पु जस्ता कलाकारहरू ल्याएर गाउँमा प्रशिक्षण सञ्चालन गर्ने कल्पनामा पनि नसोचेको काम भएको बताउँदै आयोजकप्रति धेरै आभारी छौं, त्यसमा पनि उहाँले हाम्रो प्रकृतिसँग मितेरी साइनो जोड्नु भएर हामीलाई थप गुण लगाउनु भएको छ, हामी आभारी भएका छौं उहाँले भन्नुभयो । उहाँले कामको मौसम भएका कारणले सोचेझैं सहभागी जुटाउन नसक्दा भने खल्लो अनुभूति भएको बताउनु भयो ।
नयाँ पुस्तामा ठाडोभाका हस्तान्तरण गर्ने उत्कृष्ठ कडी प्रशिक्षण :
आयोजक प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले प्रतिष्ठानले ठाडोभाका नयाँ पुस्तामा हस्तान्तरण गनै विविध योजना र कार्यक्रम गरिरहेको छ, त्योमध्ये नयाँ पुस्तामा हस्तान्तरण गर्ने उत्कृष्ठ कडी प्रशिक्षण भएको बताउनु भयो । उहाँले प्रतिष्ठानको यो अभियानमा सहयोग गर्नका लागि ‘वरिष्ठ कलाकार सिर्जना विरही थापा प्रतीभा पुरस्कार’को स्थापना गर्नु हुने (स्याङ्जा, जन्मथलो भई) हाल अमेरिका निवासीले यसअघि एक लाख रुपैयाँ अक्षयकोषका लागि पठाउनु भएको रकमको व्याजबाट आज प्रतीभा पुरस्कार वितरण गरियो भने उहाँले सो कोषमा थप ५० हजार थप्ने जानकारी समेत दिनु भएर प्रतिष्ठान र आफूहरूलाई कृतकृतज्ञ बनाउनु भएको हुँदा उहाँजस्तो व्यक्तित्वको जत्ति प्रशंसा गरे पनि थोरै हुन्छ भन्नुभयो ।
प्रतिष्ठानले हरेक वर्ष कम्तिमा यौटा प्रतियोगिता सञ्चालन गर्ने र अघिल्ला वर्षमा पहिलो हुने टिमलाई पछिल्लो वर्ष सहभागी नगराउने प्रतिष्ठानको नीति अनुसार हरेक वर्ष यौटा प्रतियोगी टिम घट्दै जाने र नयाँ पिंढी तयार नभएमा केही वर्षमा त प्रतियोगितामा भाग लिने टिम नै नहुने स्थिति बन्ने खतरा बढेको हुँदा पनि नयाँ पुस्ता तयार गर्न प्रशिक्षण सञ्चालन गरिएको हो पहाडीले भन्नुभयो । उहाँले नयाँ पुस्तालाई प्रोत्साहन गर्नका लागि प्रतिष्ठानले वितरण गर्ने सातवटा पुरस्कारमा सबैभन्दा ठूलो राशि २२ हजार २२२ रुपैंया भएको पुरस्कार ४५ वर्ष कम उमेरका ठाडोभाका गायन, नाच र बाध्यवादनका अभियन्ताहरूलाई सम्मान गर्ने नीति रहेको जानकारी दिनु भयो ।
यसैगरी, आउँदो वर्षबाट प्रतियोगितामा भाग लिने टिमले अनिवार्य रुपमा ३५ वर्षभन्दा कम उमेरका युवा/युवतीलाई आफ्नो समूहमा समावेश गर्नु पर्ने नीति लिएबाट पनि नयाँ पिढीका लागि मौका हुने उहाँले उल्लेख गर्नु भयो । त्यस्तै, प्रतियोगितामा अबका दिनमा सर्त पुरा नगरे वा उल्लंघन गरेमा पाएको नंबर समेत काटिने नीति अवलम्बन गरिने भएको जानकारी अध्यक्ष पहाडीले दिनु भयो ।
उहाँले खानी गाउँको रक गार्डेन होमस्टे र दीपज्योति आमा समूहका जस्ता मनकारी आमा समूह, बाबा समूह तथा युवा क्लब भएको ठाउँमा प्रतिष्ठानले प्रशिक्षण सञ्चालन गर्ने गरेको जाकारी दिनु भयो । उहाँले ठाडोभाका लोककला प्रतिष्ठान नाफा मूलक सस्था नभएको हुँदा दान, चन्दाबाट चलेको कारणले गर्दा सहयोगी गाउँले नभएको स्थानमा प्रशिक्षण लग्न कठिन भएको उल्लेख गर्नु भयो । उहाँले यस्तो प्रशिक्षण सरकारीस्तरबाट सञ्चालन गरिएको भएमा लाखौं लाखको बजेट स्वाँहा हुन्थ्यो तर आफूहरूले केही हजारमै यो कार्यक्रम सम्पन्न गरेका छौं भन्दै कतिलाई लाग्दो हो, यिनीहरूले कति भत्ता खाएर, त्यो पचाउन यहाँ आएका वा गएका हुन् भन्ने पनि होलान् तर यथार्थ के छ भने प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु जस्तो प्रशिक्षकका लागि कम्तिमा दैनिक २५ हजार खर्चिनु पर्छ भने हामी समितिकाहरू भत्ता खाएर नभई गाडी भाडा समेत एकतर्फ आफैले बेहोर गर्ने गरी यहाँ आएका छौं भन्ने अध्यक्ष पहाडीले सगर्व सुनाउँदै बदनाम गर्ने र हल्ला मञ्चाउनेहरूका लागि त धेरै सजिलो छ भन्नुभयो ।
उहाँले प्रमुख अतिथि, व्यस्थापनमा सहयोगको भूमिका निभाउने समितिका अध्यक्ष सहितका पदाधिकारीहरू, सहभागीहरू तथा प्रतिष्ठानका पदाधिकारी टिमसहित सहयोगी सबै– सबैहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
सो अवसरमा बाघेता रेडक्रस शाखाका अध्यक्ष जीतबहादुर गुरुङ, सचिव रविन्द्र घिमिरे लगायतले सहभागीहरूको सीपको गुणगान गर्दै उज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
उक्त अवसरमा सहभागी धनकुमारी(काशी) गुरुङले पहिल– पहिले हाम्रो गाउँमा पनि ठाडोभाका गाइन्थ्यो तर उहाँहरूले आफूहरूलाई सिक्न प्रेरित गर्नु भएन र सिक्ने चाहना हुँदाहुँदै पनि अलपत्र अवस्थामा थियौं, अचानक प्रशिक्षण आउँदा खुशीलाग्यो र आशा गरेकोभन्दा बढी नै सिक्न पाएको अनुभूति भएको छ भन्नुभयो ।
अर्का सहभागी बेलबहादुर गुरुङले आफूले २०– २२ वर्षकै उमेरमा यसरी सिक्न पाएको भए हुने थियो, अब त उमेर गैसक्यो भन्ने दुःखेसो व्यक्त गर्दै तर पनि सकेको गाउने चाहना छ भन्नुभयो ।
अर्का सहभागी प्रतीक्षा गुरुङले लोकसंस्कृतिको संरक्षण र प्रवर्धन गर्ने कार्यमा सहभागी हुन पाउँदा खुशी लागेको छ । सिक्ने मौका पाएँ, यस्ता तालिमहरू समय समयमा आइरहुन् भन्नुभयो ।
प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य एवम् प्रशिक्षणका सुत्रधार कामसार्की गुरुङले कार्यक्रमको सञ्चालन गर्नु हुँदै आउँदो वर्षदेखि प्रतिष्ठानबाट सञ्चालन हुने प्रशिक्षणमा आफ्नो गाउँबाट सके दुई नभएमा एक टिम भने पनि अनिवार्य रुपमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले यो प्रशिक्षणको व्यवस्थापन गर्नु हुने दुवै समितिलाई थेटर नाचको बेलामा कम्तिमा दुई चार चरण भने पनि ठाडोभाकालाई गाउने, नाच्ने अनिवार्य प्रवन्ध गर्न आग्रह गर्नुभयो ।
प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुराले स्वागत गर्दै प्रतिष्ठानका गतिविधिमा प्रकाश पार्नु भएको थियो । उहाँले लमजुङका गाउँ– गाउँमा गएर प्रशिक्षण सञ्चालन गरेको मात्र नभई पोखरा, चितवनको माडीसम्म पनि पुगेर प्रतिष्ठानले प्रशिक्षण सञ्चालन गरेको तथा भारतको आसामसम्म पुगेर ठाडोभाकाको प्रस्तुति गरेको जानकारी दिनुभएको थियो ।
उक्त ठाडोभाका तीन दिने निःशुल्क प्रशिक्षण ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको आयोजना तथा रक गार्डेन होमस्टे व्यवस्थापन समिति, दीपज्योति आमा समूहको व्यवस्थापनमा सञ्चालन गरिएको हो ।
सो अवसरमा प्रशिक्षणका सहभागीहरूले प्रशिक्षण अवधिमा सिकेको सीप ठाडोभाका गायन तथा नाच र बाध्यवादन प्रदर्शन गरेका थिए ।

त्यसअघि आयोजक र सहभागी टिमले सामुहिक रुपमा रक गार्डेनको संगीतमय अवलोकन गर्ने कार्य भएको थियो भने सोही क्रममा ठाडोभाका महानायक धम्पुले मीत लाउने कार्य गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ बैशाख १३, शनिबार २१:०९ गते
हजुरको प्रतिक्रिया