नेपाली सेनाद्वारा विपद व्यवस्थापन सम्वन्धि सचेतना मूलक कक्षा सञ्चालन सहित प्रयोगात्मक नमूना अभ्यास

नेपाली सेनाद्वारा विपद व्यवस्थापन सम्वन्धि सचेतना मूलक कक्षा सञ्चालन सहित प्रयोगात्मक नमूना अभ्यास

प्रमोद अधिकारी

@antaranganews

२०८२ बैशाख १५ गते सोमबार ०९:२४

औपचारिक कार्यक्रम पश्चात बोराङ्खोला बजारमा जमदार माधवप्रसाद शर्माले बिपद प्रतिकार्यमा प्रयोग हुने विविध औजारहरू प्रदर्शन गर्दै ती सामग्रीका प्रयोग र उपयोगिताबारे प्रस्ट पार्नुभएको थियो ।

स्थानीय आमा समूह, युवा क्लव, कृषक, व्यापारी, विद्यार्थी लगायत दुई सय जना बढीको सहभागिता रहेको थियो ।

लमजुङ– नेपाली सेनाद्वारा विपद व्यवस्थापन सम्वन्धि सचेतना मूलक कार्यक्रम तथा सचेतना मूलक कक्षा सञ्चालन सहित प्रयोगात्मक नमूना अभ्यास गरिएको छ । उक्त कार्यक्रम चण्डी प्रसाद गण श्रीस्वाँरा ब्यारेक, लमजुङद्वारा लमजुङको राइनास नगरपालिका– १ बोराङ्खोला बजारमा बैशाख १४ गते सञ्चालन गरिएको हो ।
राइनास नगरपालिका– १ को कार्यालय भवन स्थित हलमा सञ्चालित उक्त कार्यक्रम चण्डी प्रसाद गण श्रीस्वाँरा ब्यारेकद्वारा आयोजनामा विपद व्यवस्थापन सम्वन्धि सचेतना मूलक कार्यक्रम तथा कक्षा सञ्चालनका कार्य भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ रहनु भएको थियो ।
प्रमुख अतिथि मेयर खड्गबहादुर गुरुङले विपद जुनसुकै बेला आउन सक्ने भएकोले सचेत रहन जरुरी भएको उल्लेख गर्दै तयारी अवस्थामा रहन नगरबासीहरूमा आग्रह गर्नु भयो ।
यसैगरी, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोख्रेलले बिपद अउनु पूर्व यस प्रकारका कार्यक्रम गर्नु अत्यावश्यक भएको औल्याउनु हुँदै बिपद जुनसुकै बेला पनि आउन सक्ने भएकोले होसीयार रहन स्थानीयहरूलाई सुझाव दिनुभएको थियो ।
सो अवसरमा आयोजक चण्डीप्रसाद गण श्रीस्वाँरा ब्यारेकका सेनानी प्रदिप थापाबाट बिपद व्यवस्थापन सचेतना सम्वन्धि कक्षा सञ्चालन गर्नुका साथै सहभागीहरूले राखेका जिज्ञासाहरूको सम्बोधन गर्नु भएको थियो ।

default

त्यस्तै कार्यक्रमका विशेष अतिथि प्रमुख सेनानी चित्रकुमार कार्कीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्य बारे प्रस्ट्याउनु भएको थियो । उहाँले मनसुन सुरु हुन लागेको जानकारी गराउँदै मनसुन जन्य विपद आउन सक्ने भएकोले सर्तक अवस्थामा रहन आग्रह गर्दै प्रतिकार्य सम्वन्धि तालिम लिन युवाहरू इच्छुक भए आफ्नो गणबाट तालिमको व्यवस्था गरिदिने पनि प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
औपचारिक कार्यक्रम पश्चात बोराङ्खोला बजारमा जमदार माधवप्रसाद शर्माले बिपद प्रतिकार्यमा प्रयोग हुने विविध औजारहरू प्रदर्शन गर्दै ती सामग्रीका प्रयोग र उपयोगिताबारे प्रस्ट पार्नुभएको थियो । यसैगरी, हवल्दार जयबहादुर रावलले मेडिकल सामग्रीहरूको प्रदर्शन सहित प्रयोग गर्ने तरिकाहरू बारे जानकारी गराउनुभएको थियो । तत्पश्चात भूकम्प सम्वन्धि सचेतना अभ्यास, रोप तुइनबाट घर तथा भवनहरूमा फसेका व्यक्तिहरूको उद्धार अभ्यास, पहाडको खोचमा अड्कीएकाहरूको हाइ लेन रेस्क्युद्वारा उद्धारको प्रयोगात्मक अध्यास गरिएको थियो । साथै, आगलागी नियन्त्रण तथा भान्सामा सिलिण्डर ग्यास आगो लागेमा नियन्त्रण गर्ने तरिका तथा अभ्यास लगायतका प्रयोगात्मक विधिहरू सो अवसरमा प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रममा विशेष अतिथिहरू लमजुङका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोख्रेल, राइनास नगरपालिकाका उपमेयर पुष्पराज खनाल, प्रमुख सेनानी चित्रकुमार कार्की, प्रहरी नायव उपरीक्षक रेशम बोहरा, सशस्त्र प्रहरी नायव उपरीक्षक दिपक पुरी, प्रमुख अनुसन्धान अधिकृत विष्णुहरि पण्डित हुनुहुन्थ्यो ।
त्यस्तै, अतिथिहरूमा राइनास नगरपालिका– १ का अध्यक्ष विष्णुप्रसाद पौडेल, वडा नं. २ का अध्यक्ष लक्ष्मण साही, वडा नं. ३ का अध्यक्ष देउबहादुर पौडेल, वडा नं. ४ का अध्यक्ष बलराम पराजुली, बडा नं. ५ का अध्यक्ष शंखबहादुर सार्की र वडा नं. १० का अध्यक्ष लक्ष्मण गुरुङ हुनुहुन्थ्यो । स्थानीय आमा समूह, युवा क्लव, कृषक, व्यापारी, विद्यार्थी लगायत दुई सय जना बढीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८२ बैशाख १५, सोमबार ०९:२४ गते
हजुरको प्रतिक्रिया