काठमाडौं– जिल्ला अदालत, काठमाडौंले रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । रवीन्द्र मिश्रको राप्रपाका नेता(उपाध्यक्ष) हुनुहुन्छ भने दुर्गा प्रसाइँ राजावादी आन्दोलनका जनकमाण्डर तोकिएका व्यक्ति हुनुहुन्छ । जिल्ला अदालतले बैशाख १४ गते दुबै जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
गत १५ चैतमा यहाँ स्थित तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र, प्रसाईंसहित २४ जना व्यक्तिहरूलाई जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले बताउनु भएको छ ।
पछिल्लो पटक १० वैशाखमा उनीहरूविरुद्ध तीन दिनको म्याद थप भएको थियो । त्यसबेला पनि उनीहरूलाई २० दिन हिरासतमा राख्न सरकारी पक्षले माग गरेको थियो । यस पटक पनि प्रहरीको माग अनुसार सरकारी वकिलहरूले २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेका थिए ।
तर, अदालतले मिश्रको बयान सकिएको र प्रसाईंको पनि जारी रहेको विषयलाई उल्लेख गर्दै थप प्रमाण नभए तीन दिनभित्र तारेख वा हाजिर जमानतमा छाड्न आदेश दिएको थियो । अदालतले मिश्र र प्रसाईंको स्वास्थ्य संवेदनशीलताप्रति ख्याल गर्दै त्यस्तो आदेश गरेको बताइएको थियो ।
अदालतमा मिश्र र प्रसाईंले स्वास्थ्य कारण देखाउँदै आफूहरूलाई हाजिर जमानतमा छाड्नुपर्ने मागसहित निवेदन समेत दिनु भएको थियो ।
प्रहरीले अनुसन्धान गर्नुपर्ने थप विषयहरू अझै बाँकी रहेको भन्दै म्याद थप गर्नुपर्ने प्रस्ताव गरेको थियो । इजलासमा मिश्रले ‘आफ्नो नाक अगाडि नै प्रहरीले अश्रुग्यास खसालेर नवराज सुवेदी समेत घाइते भएपछि आफू केही आवेगमा आएको’ बताउनु भएको थियो । तर, ढुंगामुढा वा तोडफोड गर्न आफूले कहिल्यै नभनेको उहाँको जिकिर छ ।
प्रसाईंविरुद्ध पाँच मुद्दा लगाउने तयारी छ भने मिश्रका विरुद्ध दुई मुद्दा लगाइने भएको छ ।
तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ । मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलगाइएको छ । मिश्र १५ चैतमै पक्राउ परेका थिए भने प्रसाईंलाई प्रहरीले झण्डै हप्ता दिनपछि भारतबाट पक्राउ गरेर ल्याएको थियो ।
मिश्रसँगै पक्राउ परेका सांसद् धवलशमशेर राणा प्रहरीले स्वास्थ्यलाई कारण देखाउँदै एक साताअघि छाडेको थियो ।
अन्य बाँकीलाई प्रहरीले आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ ।
मिश्रको तर्फबाट वरिष्ठ अधिवक्ताहरू राजु बस्नेत, विष्णु भट्टराई र गोविन्द बन्दीले बहस गर्नु भएको थियो । बहसका क्रममा उनीहरूले मिश्रलाई हाजिर जमानी÷साधारण तारेखमा रिहा गर्नुपर्ने माग राख्नु भएको थियो ।
त्यसबीच मिश्रले आजको इजलासमा पनि आफ्ना धारणा राख्नु भएको थियो । उहाँले आफूले कुनै गलत काम नगरेको दावी गर्दै आज आमाको मुख हेर्ने दिन भएकाले पनि छाडिपाउँ भनेर अनुरोध गर्नु भएको थियो । मिश्रले भन्नुभयो, ‘स्टेजमै अश्रुग्यास प्रहार भएपछि नवराज सुवेदी त्यहीँ हुनुहुन्थ्यो, आफू आवेगमा आएको, तर हिंसा भड्काउनमा संलग्न रहेको छैन, अरू मैले शिर निहुरिने कुनै पनि काम गरेको छैन। तोडफोड, आगजनीमा संलग्न छैन ।’
प्रसाईंको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले पनि बहस गर्नु भएको थियो । उहाँेले भन्नुभयो, ‘म विचारका लागि त्यहाँ पुगेको हुँ, त्यहाँ पुग्नु अगाडि नै घटना भइसकेको थियो ।’ प्रसाईंको भनाइ उद्धृत गर्दै वरिष्ठ अधिवक्ता दुलालले उल्लेख गर्नुभयो ।
प्रकाशित मिति २०८२ बैशाख १५, सोमबार ११:०८ गते