नइ एकेडेमीद्वारा दुई दिने ‘नेपाल भारत प्राध्यापक सम्मेलन’को तयारी

नइ एकेडेमीद्वारा दुई दिने ‘नेपाल भारत प्राध्यापक सम्मेलन’को तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख १५ गते सोमबार १२:४३

सो सम्मेलनमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने ३५० जना प्राज्ञको सहभागिता हुने भएको छ ।

‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का लागि २५ लाख रूपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।

काठमाडौं– नइ एकेडेमीद्वारा ‘नेपाल भारत प्राध्यापक सम्मेलन’को तयारी गरिएको छ । नइ एकेडेमीले निकट भविष्यमा दुई दिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको बैशाख १४ गते जानकारी दिइएको हो ।
सो सम्मेलनमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने ३५० जना प्राज्ञको सहभागिता हुने भएको छ । सो प्रयोजनका लागि त्रिमूर्ति निकेतनका संयोजक प्रा.डा. महादेव अवस्थीको संयोजकत्वमा एक तयारी समिति समेत गठन गरी काम थालिएको छ ।
सम्मेलनका लागि सर्वश्री प्रा.डा. ऋषिराम शर्मा, प्रा.डा. कपिलदेव लामिछाने, प्रा.डा. कविता लामा, प्रा. केशव सुवेदी, प्रा.डा. कृष्णराज घतानी, प्रा. खेमराज जोशी, प्रा.डा. चक्रपाणि खनाल, प्रा.डा. जङ्गब चौहान, डा. टेकबहादुर क्षत्री, प्रा.डा. ताराकान्त पाण्डेय, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. दिवाकर प्रधान, डा. दैवकीदेवी तिम्सिना, प्रा.डा. पुष्प शर्मा, डा. रजनी ढकाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा. लेखप्रसाद निरौला, प्रा. शिवगोपाल रिसाल, प्रा.डा. सञ्जय रार्ई तथा डा. अरुणा रार्ई, डा. साधना पन्त ‘प्रतीक्षा’ र डा. हर्कबहादुर शाहीका कार्यपत्र रहने छन् । साथै यस वृहत् ग्रन्थको समीक्षा प्रा.डा. महादेव अवस्थीले गर्नुभएको छ ।
नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि विद्यावारिधि तहको पठनपाठन हुने दुवै देशका सपूर्ण विश्वविद्यालयबाट कार्यपत्रहरू प्राप्त भइसकेका छन् । ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’नामक उक्त ग्रन्थ करिब आठ सय पृष्ठको हुने नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार सम्मेलनको प्रथम सत्रमा नै कार्यपत्र समाविष्ट उक्त प्रलेख ग्रन्थको लोकार्पण गरिने कार्यक्रम रहेको छ ।
उहाँले भन्नुभयो, ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का लागि २५ लाख रूपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।’
स्मरणीय छ, सन् १९१० मा लखनऊ विश्वविद्यालयमा भर्नाकुलर नेपाली पाठ्यक्रमबाट नेपाली भाषा साहित्यको पठनपाठनको आरम्भ भएको थियो ।

प्रकाशित मिति २०८२ बैशाख १५, सोमबार १२:४३ गते
हजुरको प्रतिक्रिया